सिँचाइका रुग्ण ठेक्का तोड्न शुरू, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिँदै

सिँचाइ विभागअन्तर्गत भेरी बबई तथा सुनकोशी मरिणसहित २५ आयोजनाका ठेक्का रुग्ण छन्। त्यसमध्ये ६ वटाको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको हो।

काठमाडौँ– सरकारले सिँचाइतर्फका वर्षौंदेखि अलपत्र ठेक्का तोड्ने प्रक्रिया शुरू गरेको छ। 

यही प्रक्रियाअन्तर्गत बबई सिँचाइ आयोजनाले करिब ६ वर्षअघि अमन कन्स्ट्रक्सन कम्पनीसँग गरिएको ठेक्का सम्झौता तोड्न बिहीबार सार्वजनिक सूचना जारी गरेको छ।

आयोजनाले कम्पनीसँग नहर मर्मत, कमान्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक वर्ष २०७७/७८मा ठेक्का सम्झौता गरेको थियो। ६ वटा ठेक्कामध्ये चारको निर्माण प्रगति शून्य छ। एउटाको ३० र अर्कोको ५५ प्रतिशत प्रगति छ।

आयोजनाले निर्माण कम्पनीलाई काम सम्पन्न गर्न पटकपटक ताकेता गर्दासमेत चासो नदेखाएको उल्लेख गरेको छ। ठेक्काको म्याद समाप्त हुँदासम्म पनि काम सम्पन्न गर्नेतर्फ कुनै चासो नदिएकाले तोड्ने प्रक्रिया थलिएको जनाएको छ । 

ठेक्का सम्झौता अन्त्य गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनु नपर्ने कुनै ठोस कारण भएमा १५ दिनभित्र प्रमाणसहित कार्यालयमा उपस्थित हुन सूचना जारी गरिएको छ।

सिँचाइ विभागअन्तर्गत राष्ट्रिय गौरवका भेरी बबई तथा सुनकोशी मरिणसहित २५ आयोजनाका ठेक्का रुग्ण छन्। त्यसमध्ये ६ वटाको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको हो।