प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशसभा सदस्य सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी– ४ ‘ख’बाट निर्वाचित प्रदेशसभा सदस्य सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी कसुरमा आरोपपत्र दायर गरेको छ।

विभिन्न उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिको खातामा दाखिला भएको रकम हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम कसुरजन्य कार्य गरेको भन्दै आयोगले सिंहविरुद्ध बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

आयोगले मधेश प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका पूर्वराज्यमन्त्रीसमेत रहेका सिंहविरुद्ध ३८ लाख ५० हजार ३१९, धर्मशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष यमुनाप्रसाद महतो र कोषाध्यक्ष कौशिल्या देवीविरुद्ध १ लाख ८५ हजार २६०, धर्मशाला एवं रामनारायणको घरदेखि रामवृक्षको गाछीसम्म निर्माण उपभोक्ता समितिको अध्यक्ष  योगिन्दर महतो र कोषाध्यक्ष सुनयना कुमारी विरुद्ध ६ लाख ५७ हजार ७०० रुपैयाँ बिगोसहित कसुर तथा सजायको मागदाबी गरेको छ। 

त्यसैगरी अधुरो कमलामाई मन्दिर र मालतमाईस्थानको कम्पाउण्ड वाल निर्माण उपभोक्ता समितिका अध्यक्ष रामनाथ सहनी र कोषाध्यक्ष स्वीकृती देवी भन्ने स्वीकृति देवीविरुद्ध २ लाख १४ हजार ३५०, माइस्थान मन्दिरको सौन्दर्यकरण उपभोक्ता समितिका अध्यक्ष रामशरण खत्वे र कोषाध्यक्ष बिभादेवी खत्वेविरुद्ध १ लाख ५० हजार, कञ्चनियामाई मन्दिर सौन्दर्यकरण निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेश मडर र कोषाध्यक्ष अमलेश कुमारीविरुद्ध पनि १ लाख ५१ हजार ४०० बिगोसहित कसुर तथा सजायको मागदाबी अख्तियारको छ।

देवी महारानी सौन्दर्यकरण निर्माण उपभोक्ता समितिका अध्यक्ष दिपाराज देवी राजपुत र कोषाध्यक्ष भिखारी राउत कुर्मीविरुद्ध २ लाख ९७ हजार ७९४, रधवा पिपलदेखि सहसौला अनेरभाटदेखि जनता प्रावि हुँदै लक्ष्मीनीयासम्म माटो ग्राभेल निर्माण उपभोक्ता समितिका अध्यक्ष भूपेन्द्रकुमार झाविरुद्ध १८ लाख ९१ हजार ९०० बिगोसहितको कारबाही मागदाबी गरिएको छ।