११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्ति पाएका ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

फाइल तस्वीर

काठमाडौँ– सरकारले ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

सरकारले विशेष गरी राजनीतिक नियुक्ति पाएका राजदूतहरूलाई फिर्ता बोलाएको हो।

मन्त्री खरेलका अनुसार चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य (बेलायत), संयुक्त राज्य अमेरिका र जापानका लागि आवासीय नेपाली राजदूतहरूलाई फिर्ता बोलाइएको छ।

फिर्ता बोलाइएका राजदूतहरूमा चीनका लागि कृष्णप्रसाद ओली, जर्मनीका लागि शैल रुपाखेती, इजरायलका लागि धनप्रसाद पण्डित, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, कतारका लागि रमेशचन्द्र पौडेल र रुसका लागि जंगबहादुर चौहान रहेका छन्।

यसैगरी, फिर्ता बोलाइएका अन्य राजदूतहरूमा साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका सनिल नेपाल, संयुक्त अधिराज्य (बेलायत)का चन्द्रकुमार घिमिरे, संयुक्त राज्य अमेरिकाका लोकदर्शन रेग्मी र जापानका दुर्गाबहादुर सुवेदी रहेका छन्।

उनीहरूलाई आगामी कात्तिक २० गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय भएको सञ्चारमन्त्री खरेलले बताए।

यसबीच, राजनीतिक नियुक्ति पाएका केही राजदूतलाई भने फिर्ता बोलाइएको छैन। जसमा महिला राजदूतहरू चित्रलेखा यादव र शिवमाया तुम्बाहम्फे, दलित समुदायका पूर्णबहादुर नेपाली तथा भारतका लागि राजदूत शंकर शर्मा हाललाई फिर्ता बोलाइएका छैनन्।

डेनमार्कका लागि राजदूत सुम्निमा तुलाधर पनि फिर्ता बोलाउने सूचीमा परेकी छैनन्।

यसअघि ओली सरकारले बेलायतका लागि पठाएका लोकदर्शन रेग्मीलाई पनि देउवा सरकारले फिर्ता बोलाएको थियो।