जुनाल गदालका अनुसार जेन-जीका समस्यासँगै सीमान्तकृत समुदायले भोग्नुपरेका समस्या र सहकारपीडितले पनि हेल्पडेस्क गुहार्छन्।
काठमाडौँ— “सर नमस्कार, जेन-जी आन्दोलनका क्रममा घाइते भएका एक जनालाई समस्या आइपर्यो, सहजीकरण गरिदिनु पर्यो।”
गृह मन्त्रालयमा स्थापना भएको जेन-जी हेल्पडेस्कमा गुनासो सुनिसकेपछि दोलखाका साम्राज्य खड्काले तत्काल सम्बन्धित निकायमा सहजीकरणका लागि 'रिफर' गरिदिए।
असोज ७ गते स्थापना भएको हेल्पडेस्कमा खड्कासँगै दैलेखका राजेन्द्र अधिकारी र मोरङका जुनाल गदाल लगायतका युवा स्वयंसेवकका रूपमा कार्यरत छन्। उनीहरू हरेक दिन यसैगरी नागरिकका गुनासा सुन्छन् र सम्बन्धित निकायमा पुर्याउँछन्।
“बिहान १० बजेदेखि काम शुरू हुन्छ, तर घर फर्कने टुंगो हुँदैन, कहिलेकाहीँ रात पनि यहीँ बित्छ,” कामको व्यस्तता सुनाउँदै खड्काले भने। फोन गर्नेहरू अधिकांशले आफ्ना गुनासा सुनाउँछन् भने कतिपयले सहयोगको अपेक्षा पनि राख्छन्। खड्काका अनुसार यो कुनै सरकारी नियुक्ति नभई जेन-जी समूहले स्वयंसेवकका रूपमा खटाएको हो।
सिंहदरबारभित्र बसेर सहयोगी भूमिका निभाउन सजिलो नहुने अनुभव सुनाउँदै दैलेखका राजेन्द्र अधिकारी भन्छन्, “पहिले त जेन-जीलाई सिंहदरबारभित्र छिर्न पनि चुनौती थियो, अहिले बिस्तारै सहज बन्दै गएको छ, हेल्पडेस्कमा काम गर्दा धेरै फरक अनुभव पनि भइरहेको छ।”
अधिकारीका अनुसार फोनकर्ताहरूले सिंहदरबार प्रवेशका लागि गेट पासको व्यवस्थादेखि अस्पतालमा उपचाररत घाइतेका समस्या सुनाइरहन्छन्।
“प्रक्रियागत काम गर्दा कहिलेकाहीँ केही ढिला पनि हुन्छ, अलिकति ढिला हुँदा केही जेन-जी साथीहरू रिसाउनुहुन्छ, हामीलाई कतिपय अवस्थामा सम्झाउन पनि गाह्रो हुन्छ,” उनले भने।
जेन-जी हेल्पडेस्कमा हालसम्म १२४ वटा गुनासा रेकर्ड भएका छन्, जसमध्ये ८३ वटा गुनासा जेन-जी समूहले नै गरेका छन्। अधिकारीका अनुसार उनीहरू जेन-जी आन्दोलनका पीडित र पीडितका परिवारमा देखिएको समस्या सुल्झाउनतर्फ बढी केन्द्रित छन्।
मोरङका जुनाल गदालका अनुसार जेन-जीका समस्यासँगै सीमान्तकृत समुदायले भोग्नुपरेका समस्या र सहकारपीडितले पनि हेल्पडेस्क गुहार्छन्। “कतिपयले त हामीले उहाँका दुखेसो सुनिदिँदा मात्रै पनि राहत महसुस गर्नुहुन्छ,” गदालले भने, “यद्यपि अहिले हामी जेन-जीलाई नै केन्द्रित गरेर सहयोग गर्दै आएका छौँ।”
स्वयंसेवकहरूका अनुसार कतिपय घाइते अस्पतालबाट डिस्चार्ज भएपछि आर्थिक वा अन्य समस्यामा परेका छन्। “यस्ता गुनासालाई हामीले उपलब्ध स्रोत र साधनबाट जतिसक्दो चाँडो सम्बोधन गर्ने प्रयास गरिन्छ,” खड्का भन्छन्, “हामीले यहाँ बसेर काम गर्दा सिंहदरबार र नागरिकबीच ठूलो खाडल रहेको पायौँ, यहाँ आएपछि नागरिकका पीडाबारे बोध भएको छ, उहाँहरूको पीडामा मलहम लगाउने हाम्रो प्रयास हो।”
हेल्पडेस्कमार्फत गुनासो गर्दा जेन-जीले सहयोग गर्छन् भन्ने विश्वास धेरैमा जागेकोले आफूहरूलाई थप जिम्मेवार बनाएको उनीहरूको भनाइ छ।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि कतिपयले असुरक्षित महसुस गरेको, शान्ति सुरक्षामा चुनौती देखिएको र जेन-जी पुस्ताका थुप्रै गुनासो आउने हुँदा समाधानका लागि हेल्पडेस्क राखिएको बताएका छन्। जसमा जेन-जी पुस्ताका युवाले नै गुनासो सुन्ने र समाधानमा सहजीकरण गर्दै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
