राष्ट्रपति रामचन्द्र पौडेलले युवा पुस्ताले चलाएको आन्दोलनको मर्म र चाहनाअनुसार देश निर्माण गर्न नयाँ निर्वाचनमार्फत जनादेश लिएर अगाडि बढ्नुपर्छ भन्ने ध्येयले निर्वाचन घोषणा भएको उल्लेख गर्दै यसलाई सामान्य रूपमा नलिन आग्रह गरे।
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनलाई सफल पार्दै इतिहास रच्न 'जेन-जी' युवाहरूलाई आग्रह गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसहित अन्तरिम सरकारका मन्त्रीहरू र जेन-जी अभियान्तहरूसँगको छलफलमा उनले निर्वाचनलाई अवसरका रूपमा लिनुपर्ने बताएका हुन्।
राष्ट्रपति पौडेलले युवा पुस्ताले चलाएको आन्दोलनको चाहनाअनुसारको देश बनाउन नयाँ निर्वाचनमार्फत जनादेश लिएर अगाडि बढ्नुपर्छ भन्ने ध्येयले निर्वाचन घोषणा भएको उल्लेख गर्दै यसलाई सामान्य रूपमा नलिन आग्रह गरे।
“युवा पुस्ताले चाहेको देश साँच्चिकै भ्रष्टाचार, नातावाद, कृपावाद, पक्षपातपूर्ण व्यवहारबाट मुक्त होस् र सही मानिसले देश चलाओस् भनेर नै नयाँ चुनाव घोषणा गरिएको छऽ” उनले भने, “त्यसैले यो चुनावलाई सामान्य रूपमा नलिई राष्ट्रको काँचुली फेर्ने महाअभियानका रूपमा प्रतिष्ठाको विषय बनाएर लाग्न युवाहरूलाई मेरो आग्रह छ।”
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले चुनावमा युवाहरू अघि सरेर राम्रो प्रतिनिधिसभा बनाउन आग्रह गरेको जानकारी दिए।
प्रेस सल्लाहकार पोखरेलले राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै भने, “चुनावमार्फत भ्रष्ट र बदमास जित्न नपाउन्, असल र इमान्दारहरू जितेर आउन्। त्यसपछि देश न्यायको बाटोमा जानुपर्छ, सुशासनको बाटोमा जानुपर्छ र मुलुकले उन्नति गर्नुपर्छ। युवाहरू बाध्यताले विदेश पलायन हुने अवस्थाको अन्त्य हुनुपर्छ।”
राष्ट्रपति पौडेलले यो संविधान र संसदीय प्रणालीमा राष्ट्रपति कार्यकारी नभए पनि युवाहरूले गरेको आन्दोलनको सम्मान गर्न आफ्नो उपस्थितिमा सरकारलाई सहभागी गराई जेन-जी प्रतिनिधिहरूसँग छलफल गरेको उल्लेख गरे। उनले आन्दोलनकारीहरूका बाँकी मागबारे सरकारले ध्यान दिने विश्वास व्यक्त गरे।
उनले भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्ने युवाहरूको आन्दोलनको उपलब्धिका रूपमा संविधानमा भएको राष्ट्रिय एकता प्रवर्द्धन गर्ने अधिकार प्रयोग गरेर अन्तरिम सरकार गठन भएको भन्दै यसलाई आन्दोलनको सफलताको रूपमा लिएर फागुन २१ गतेको चुनावमा होमिन आग्रह गरे।
राष्ट्रपति पौडेलले युवाहरूको जायज माग राखेर गरिएको आन्दोलनलाई देखाएर रोटी सेक्ने र आफ्नो स्वार्थ पूर्ति गर्न चाहनेहरूबाट सचेत रहन पनि आग्रह गरे।
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपतिले देशको विषम परिस्थितिलाई सम्हाल्न गरेको रातभरको अथक प्रयासको प्रशंसा गर्दै युवाहरूलाई गरिएको यो आग्रह राष्ट्रपिताको जस्तो भावुक र मार्मिक रहेको बताइन्। उनले राष्ट्रपतिको भनाइलाई अन्तःकरणको आवाजका रूपमा लिन आग्रह गरिन्।
जेन-जीका प्रतिनिधिहरूले युवाहरूको आन्दोलन सामाजिक, आर्थिक न्यायका लागि र कुशासन तथा भ्रष्टाचार विरुद्ध भएको उल्लेख गर्दै यो संविधान, लोकतन्त्र, संघीयता, समावेशीता विरुद्ध नरहेको स्पष्ट पारे। उनीहरूले आफूहरू सम्पूर्ण रूपले निर्वाचन सम्पन्न हुनुपर्छ भन्नेमा दृढ रहेको उल्लेख गरे। त्यसका लागि आन्दोलनलाई मान्यता दिँदै आफ्ना मागहरू पूरा हुनुपर्ने बताएका थिए।
बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसहित सबै मन्त्री उपस्थित थिए। बैठकमा जेन-जी प्रतिनिधिहरू मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुञ्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुञ्जन शाह ठकुरी र धीरज जोशी सहभागी थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
