विश्वका ९० करोड गरिब मानिस जलवायु परिवर्तनको प्रत्यक्ष जोखिममा

विज्ञहरूका अनुसार पृथ्वीको सतह तीव्र गतिमा तात्दै गएकाले स्थिति अझ जटिल बन्न सक्छ र हालका सबैभन्दा गरिब देशहरू नै यसको सबैभन्दा बढी मारमा पर्न सक्छन्।

संयुक्त राष्ट्रसंघले विश्वका करिब ८० प्रतिशत गरिब अर्थात् झन्डै ९० करोड मानिस जलवायु परिवर्तनका आघातको प्रत्यक्ष जोखिममा रहेको चेतावनी दिएको छ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)का कार्यवाहक प्रशासक हाओल्याङ जुले बताएअनुसार, खडेरी, बाढी, तातो लहर र वायु प्रदूषणजस्ता गम्भीर बन्दै गएका जलवायु प्रभावबाट कोही पनि सुरक्षित छैन, तर ती प्रभावको सबैभन्दा गम्भीर असर गरिब वर्गले नै भोग्नुपरेको छ।

उनले आगामी नोभेम्बरमा ब्राजिलमा आयोजना हुने संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलन (कोप–३०)लाई विश्व नेताहरूले ‘जलवायु कार्यलाई गरिबी विरुद्धको कार्यका रूपमा हेर्ने अवसर’ बनाउन आग्रह गरेका छन्।

यूएनडीपी र अक्सफोर्ड पोभर्टी एन्ड ह्युमन डेभलपमेन्ट इनिसिएटिभले संयुक्त रूपमा प्रकाशन गरेको वार्षिक प्रतिवेदनअनुसार विश्वका १०९ देशमा रहेका एक अर्ब १० करोड मानिस अर्थात् करिब १८ प्रतिशत जनसंख्या, ‘तीव्र बहुआयामिक गरिबी’मा बाँचिरहेका छन्। यो गरिबी शिशु मृत्युदर, आवास, सरसफाइ, बिजुली र शिक्षामा पहुँचजस्ता मापदण्डका आधारमा मापन गरिएको हो। तीमध्ये आधा बालबालिका रहेका छन्।

प्रतिवेदनमा बोलिभियाको सान्ता क्रुज डे ला सिएराबाहिर बसोबास गर्ने गुआरानी आदिवासी समुदायका रिकार्डोको उदाहरण दिइएको छ। उनले आफ्नो परिवारका १८ सदस्यसँग सानो घर साझा गर्नुपरेको छ। घरमा एउटा मात्र शौचालय, काठ र कोइलाबाट चल्ने भान्सा छ र कुनै पनि बालबालिका विद्यालय जाने अवस्था छैन। प्रतिवेदनले यो अवस्थालाई ‘बहुआयामिक गरिबीको यथार्थ प्रतिबिम्ब’ भएको बताएको छ।

विश्वका सबैभन्दा बढी प्रभावित क्षेत्रहरू उप-सहारा अफ्रिका र दक्षिण एशिया रहेका छन्। यी दुवै क्षेत्र जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक जोखिममा छन्। प्रतिवेदनले गरिबी र चार प्रमुख वातावरणीय जोखिमहरू — चरम गर्मी, खडेरी, बाढी र वायु प्रदूषण — बीचको सम्बन्धलाई स्पष्ट पारेको छ।

प्रतिवेदनमा उल्लेख भएअनुसार गरिब परिवारहरू विशेष गरी प्राकृतिक स्रोतमा निर्भर भएकाले जलवायु आघातप्रति बढी संवेदनशील हुन्छन्। कृषि र अनौपचारिक श्रममा निर्भर जनजीवनमा जब बारम्बार जलवायु विपद् आउँछ त्यसले विद्यमान अभावहरू झनै गहिरो बनाउँछ।

विश्वव्यापी रूपमा ८८ करोड ७० लाख मानिस (७९ प्रतिशत गरिब जनसंख्या) कम्तीमा एउटा जलवायु जोखिमको प्रत्यक्ष चपेटामा परेका छन्।

तथ्यांक अनुसार ६० करोड ८० लाख मानिस चरम गर्मीबाट, ५७ करोड ७० लाख वायु प्रदूषणबाट, ४६ करोड ५० लाख बाढीबाट र २० करोड ७० लाख खडेरीबाट पीडित छन्।

करिब ६५ करोड १० लाख मानिस कम्तीमा दुई जोखिममा र ३० करोड ९० लाख मानिस तीन वा चार जोखिममा परेका छन्। एक करोड १० लाख मानिसले एउटै वर्षमा सबै चार जोखिम भोगेका छन्।

दक्षिण एशियाले गरिबी घटाउने प्रगति गरे तापनि यसको ९९.१ प्रतिशत गरिब जनसङ्ख्या कम्तीमा एउटा जलवायु जोखिममा परेको छ। प्रतिवेदनले भनेको छ, “यस क्षेत्रले फेरि नयाँ मार्ग तय गर्नुपर्छ, जसले गरिबी न्यूनीकरण र जलवायु कार्यबीच सन्तुलन कायम गरोस्।”

विज्ञहरूका अनुसार पृथ्वीको सतह तीव्र गतिमा तात्दै गएकाले स्थिति अझ जटिल बन्न सक्छ र हालका सबैभन्दा गरिब देशहरू नै यसको सबैभन्दा ठूलो मारमा पर्न सक्छन्।

प्रतिवेदनले निष्कर्षमा भनेको छ, “ओभरल्यापिङ जोखिमहरूको सामना गर्न मानव जीवन र पृथ्वी दुवैलाई प्राथमिकता दिन अपरिहार्य छ। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पहिचानबाट तत्काल कार्यतर्फ अघि बढ्नु हो।”