भुटानी शरणार्थीका समस्यामा गम्भीर भइदिन नेपाल सरकारसँग आग्रह

इन्ट्रा–नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनले गृहमन्त्री रवि लामिछानेलाई बुझाएको ज्ञापनपत्रमा ससम्मान भुटान फर्काउन, नेपालकै नागरिकता दिलाउन वा तेस्रो मुलुक पठाउन पहल गरिदिन आग्रह गरिएको छ। 

तस्वीर : रासस

काठमाडौँ– गृहमन्त्री रवि लामिछानेलाई झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे इन्ट्रा–नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले ध्यानाकर्षण गराएको छ।

फाउन्डेसनका सचिव गोपाल धिताल नेतृत्वको प्रतिनिधिमण्डलले लामिछानेलाई भेटेर नेपालमा रहेका ती शरणार्थीका विषयमा गम्भीर भइदिन नेपाल सरकारसँग आग्रह गरेको हो। फाउन्डेसनले गृहमन्त्री लामिछानेलाई हस्तान्तरण गरेको ज्ञापनपत्रमा आफ्नै पुर्खाको देशमा शरणार्थी जीवन बिताउनु पर्दा अत्यन्त पीडा हुने उल्लेख छ।

नेपाली भाषी भुटानीलाई ससम्मान भुटान फर्काउन, नेपालकै नागरिकता दिलाउन वा पुनर्वासका लागि तेस्रो मुलुक पठाउन पहल गरिदिन आग्रह गरिएको छ। “आफ्नै समुदायका व्यक्तिहरू अझै पनि झापा र मोरङका शिविरमा कष्टकर शरणार्थी जीवन बिताउन बाध्य छन्। यसले हामी पुनर्वासमा गएर ती देशमा आफ्नो पहिचानसहित काम गरिरहेकालाई पनि पीडा दिएको छ”, ज्ञापनपत्रमा भनिएको छ।

यो फाउन्डेसन नेपाली भाषा, संस्कृतिको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने तथा मानवीय सेवालाई नै जीवनको धर्म सम्झने उद्देश्यले स्थापना भएकाे हो। पुनर्वासका क्रममा अमेरिकामा रहेका नेपाली भाषी भुटानी युवा व्यवसायी तथा समाजसेवीले डिल्ली अधिकारीको नेतृत्वमा अमेरिकामा फाउन्डेसन स्थापना भएको हो।