शनिबारीय कथा

प्लाटुन कमान्डर वर्षा

भोजपुर आक्रमणको सप्ताहान्त माओवादीले उक्त आक्रमणमा शहादत प्राप्त गर्ने शहीदहरूको सूची सार्वजनिक गर्‍यो। पहिलो नम्बरमै वर्षाको नाम देखेँ। मलाई भाउन्न होलाझैँ भयो।

पुसको हुस्सुले ढाकेको दिन। बाटोभरि तुसारो। सुन्तलेमा रात परेजस्तै भइसकेको थियो। विगत सप्ताहयता घाम देखा परेकै थिएन। होससँग नहिँडे तुसारोमा चिप्लिएर लडिएला भन्ने डर थियो। चिसोको कारण हातगोडा कठाङ्ग्रिएका थिए। जनजीवन सहज थिएन। बिहान पनि बत्तीहरू धिपधिप बलिरहेका देखिन्थे। मानिसहरू चुल्हो वरपर बस्दै आगो तापिरहेका थिए।

बिहानको सात बज्दा भोजपुरबाट अढाई घण्टाको उकालो छिचोलीकन म सुन्तले आइपुगेको थिएँ। होटेलहरूमा चिया पकाउने सुरसार हुँदै थियो। म दाछिरीको होटेलमा पसेँ। भोजपुर ओहोरदोहोर गर्दा मैले खाना खाने र बास बस्ने होटेल हो यो।

काम सकाएर चार बजे पहिले नै मैले साङपाङ सत्तल पुग्नु थियो। शिक्षक साथीहरू मेरै बाटो हेरिरहेका थिए। मैले शिक्षकहरूको तलब भुक्तानी गर्नु थियो। म सरस्वती मावि-साङपाङको प्रधानाध्यापक थिएँ। विगत तीन दिनयता विद्यालयमा उपस्थित थिइनँ। 

काम सकीवरी खाजा चिया खाएर हिँड्नै लाग्दा कम्मरमा पेस्तोल भिरेकी, सर्ट प्यान्ट र ह्याट लगाएकी २०–२१ वर्षजस्तै उमेरकी किशोरी होटेलमा प्रवेश गरी चिया बनाउन भनिन्। म झोला टिपेर हिँड्नै लाग्दा “सर कहाँ जाने?” भन्दै मलाई प्रश्न गरी। मैले साङपाङ जाने कुरा गरेँ। “प्लिज, एक छिन पर्खनोस्। म चिया खाएर तपाईँसँगै जान्छु। आखिर साङपाङ नै जाने त हो नि। मलाई त्यति रुटको हेक्का छैन। म पश्चिमको मान्छे, पूर्वको ज्ञान छैन। साथीहरूले दिएको रुटअनुसार सोध्दै हिँडिरहेकी छु। तपाईंसँगै जान पाए मेरो यात्रा सहज हुने थियो। मैले तीनदेखि चार बजेभित्र साङपाङ पुग्नै पर्छ। त्यहाँ पार्टीको महत्त्वपूर्ण मिटिङ छ। मिटिङमा एटेन्ड हुनै पर्छ।” छिटोछिटो उनले आफ्ना कुरा राखिन्।

म रोकिएँ र भने “ठिकै छ, सँगै जाऔँला न त।” 

उनी चिया पिउन थालिन्। मैले सोचेँ, “यो केटी पक्कै माओवादी छापामार हो। माओवादी छापामारसँगै हिँड्नु कति सुरक्षित छ? जाँदाजाँदै कतै सुरक्षाकर्मीसँग यिनको मुठभेड पनि हुन सक्छ। सरकारले संवेदनशील क्षेत्रमा सेना परिचालन गरेको छ। साङपाङ त्यसै पनि संवेदनशील एरिया हो। बाटोमै सेनाको गस्ती भेट्यो भने! केटी सिभिल ड्रेसमै भए पनि पेस्तोल देख्यो भने मात्रै पनि सैनिकले गोली हान्न सक्छ। छ घण्टाको यात्रा बाँकी नै छ। जे त पर्ला, अब सँगै जाने हो। यो छ घण्टाको यात्रा त्रासदीपूर्ण, रोमाञ्चक र स्मरणीय हुनेछ।” 

हामी सुन्तलेबाट बाटो लाग्यौँ। उनले मेरो नाम, ठेगाना, पेसा सबै सोधिन्। मैले आफ्नो नाम प्रकाश, घर बोया र विद्यालयको प्रअ भएको बताएँ। “गजब, शिक्षक हुनुहुँदो रहेछ। म शिक्षकलाई सम्मान गर्छु। शिक्षक हाम्रा असल साथी हुन्।” उनले खुसी व्यक्त गरिन्।

“अनि बैनी त?” मैले प्रतिप्रश्न गरे। “म माओवादी छापामार। नाम वर्षा, प्लाटुन कमान्डर। घर रोल्पा। पार्टीले पूर्व खटायो। मेरो कार्यक्षेत्र खोटाङ, भोजपुर र संखुवासभा हो। हाम्रो पार्टीमा महरा सरजस्ता थुप्रै सरहरू गोलबद्ध हुनु भएको छ। हाम्रो पार्टी शिक्षकहरूकै आर्थिक सहयोगबाट त चलेको छ नि!” उनले जवाफ फर्काइन्।

शिक्षक भएकै कारण  उनको पार्टीले तोकेको चन्दा हामी दिने गर्थ्यौँ। महिनाको चार दिनको तलब भत्ता पार्टीलाई बुझाउनु पर्थ्यो। साङपाङ माओवादीको राम्रै पकड भएको ठाउँ थियो। दर्जनौँ युवायुवती यहाँबाट जनयुद्धका लागि भूमिगत भएका थिए। सावित्री सर (समर) पनि शिक्षकबाट राजीनामा दिई भूमिगत हुनुभएको थियो। शिक्षक नै भूमिगत भएको विद्यालय भनेर सुरक्षाफौजले विशेष निगरानी राख्थ्यो। “सर भूमिगत हुनुभएको विद्यालयको योगदान महान् छ” भन्दै कतिपय माओवादीहरू आइराख्थे। स्कुलमै माओवादी र सुरक्षाफौजको दोहोरो झडप होला भन्ने डर रहन्थ्यो।  कहिलेकहीँ त पन्ध्र बिस मिनेटको फरकमा सुरक्षा फौज र माओवादी छापामार आलो पालोझैँ आइपुग्थे।

“वर्षाजी, यो बाघखोर हो। यहाँको उसिनेको आलु साह्रै मिठो हुन्छ। खाने हो?” मैले वर्षालाई सोधेँ। “नखाऊँ होला सर। चाँडै जानु छ। अलमल नगरौँ। सुरक्षाको दृष्टिकोणले पनि यो मूल बाटोमा धेरै अलमल गर्न मिल्दैन। अरू कुन कुन ठाउँ हुँदै हामी जानुपर्छ सर? अहिले त भोक पनि लागेको छैन। भोक लागेपछि आलु नै खाऔँ न त हुन्न?” वर्षाले जवाफ दिइन्।

“हुन्छ। अब आउने मुख्य ठाउँ हात्तीखर्क, भीरथाप्ला, तीन तले र फालीदोबाटो हुन्। तीन तले पुगेर खाउँलान्त! त्यहाँको आलु पनि मिठो हुन्छ। तीन तले पुग्दा दश पनि बजिसकेको हुन्छ।” मैले वर्षालाई जवाफ दिएँ। उनले सहमतिको मुन्टो हल्लाइन्।

वर्षासँग त वाकीटकी (सञ्चार सेट) पनि रहेछ। हात्तीखर्क पुगेपछि उनले वाकीटकीमा साङपाङ सम्पर्क गरेपछि मैले थाहा पाएँ, “हेल्लो कमरेड अभय। म वर्षा। हात्तीखर्क आइपुगेँ। म सिभिल ड्रेसमै छु। मेरो साथमा प्रकाश सर हुनुहुन्छ। चिन्ता लिनु पर्दैन। तोकिएकै समयमा साङपाङ आइपुग्नेछु। सरसँग भेट भएर यात्रा सहज भएको छ।”

छापामार हुनुपूर्व वर्षा बीए प्रथम वर्षमा अध्ययन गर्दै रहिछन् उनी। माओवादी निकट विद्यार्थी संगठनको सचिव। पार्टीले जनवादी क्रान्तिको उद्देश्यसाथ जनयुद्ध गर्ने निर्णय गर्दै भूमिगत भएर जनक्रान्तिको तयारी गर्ने रणनीति अख्तियार गरेपछि भूमिगत भएकी। माओवादी जनयुद्धमा धेरै रोल्पालीहरू भूमिगत भएका थिए। जनयुद्ध देशव्यापी बन्दै गइरहेको थियो। गाउँका प्रहरी चौकीहरू विस्थापित भइरहेका थिए। सामन्त र सुदखोरहरू त्राहिमाम् बनिरहेका थिए। दलाल र भ्रष्टहरू कारबाहीमा परिने डरले थर्कमान थिए। रक्सी खाएर श्रीमतीलाई दुःख दिने लोग्नेहरूको समेत टाउको दुखाइ बनिरहेको थियो माओवादी। सबैभन्दा टाउको दुखाइको बनिरहेको थियो उतिखेरको सरकारका लागि माओवादी। गाउँहरू झन्डै माओवादी नियन्त्रणमा थिए। गाउँगाउँमा माओवादीले जनसरकार घोषणा गरेको थियो।

बिहानको साढे दश बज्दा हामी तीन तले आइपुग्यौँ। अब भने भोक लागिसकेको थियो। फुर्वा दाइ र डोल्मा भाउजूको पसलमा झोला बिसाएर दुई किलो आलु उसिन्दिन भन्यौँ। भाउजूले टिमुर, अकबरे, लसुन, जिरा र नुन राखेर मसला बनाउनुभयो। एघार बजे आलु पाक्यो। हामीले आलु खान सरु गर्‍यौँ। आलु खाँदाखाँदै वर्षाले सोधिन्, “अब कति समय लाग्ला?”

“करिब दुई घण्टा। अब फालीदोबाटो आउँछ। हामी दिङ्ला जाने मूलबाटो छोडेर आहाले तिर झर्ने छौँ।” मैले बताएँ। 

हामी आलु खाइरहँदा सेनाको एउटा टुकडी तीन तले नै आइपुग्यो। मैले वर्षाको पेस्तोल याद गरेँ। पूरै सर्टले छोपिएको थियो त्यो हतियार। वाकीटकी भने झोलाभित्र राखिएको थियो। सेनाले बाहिर देखिने कुनै चिज नभएपछि सुरक्षा खतरा नभएको महसुस गरेँ। यस बीचमा वर्षा भने अलिकति विचलित भएको मैले देखिनँ। उ सामान्य ढङ्गले आलु खाइरहेकी थिइन्, सुरक्षा फौजले हाम्रो सोधखोज गर्‍यो। डायरीमा हाम्रो नाम टिपियो प्रकाश र वर्षा। फुर्वा दाइले पनि “उहाँ हेड सर हो” भनिदिनु भयो।

“माओवादीलाई चन्दा नदिनु होला। तपाईँहरूकै चन्दाले माओवादी आन्दोलन चलिरहेको कुरा सुन्नमा आएको छ,” सुरक्षा फौजको बीचबाट कसैले भन्यो। 

मैले केही जवाफ फर्काइनँ। हामीले आलु खाइसक्यौँ। आलुको पैसा तिरेर आआफ्नो झोला टिपेर तीनतलेबाट ओरालो लाग्यौँ। मैले कतै हाम्रो पिछा गर्दै सुरक्षा फौज आइरहेको छ कि भनी पछाडि फर्केर हेरेँ। धन्न, सुरक्षा फौज आएको थिएन। मैले भने “वर्षाजी, आज बाँचियो।” “सर पनि! यस्तो त सामान्य हो। हामीले त प्रहरीको आमनेसामने भएर हतियार लुटेका छौँ। जिल्ला हानेका छौँ। सुरक्षा फौजसँग दोहोरो भिडन्त गरेका छौँ। हामी देश र जनताको लागि जीवन त्याग्न तयार भएर यो आन्दोलनमा होमिएका हौँ।” वर्षाले गर्वका साथ उत्तर दिइन्।

कति निडर केटी? यस्तो लाग्थ्यो–उनलाई मर्न रत्तीभर डर छैन। रोल्पादेखि मर्न र मार्न भनेर नै भोजपुर आइपुगेकी हुन्। बोखिमको प्रशिक्षण सकाएर उनी साङपाङको मिटिङमा सहभागी हुन हिँडेकी हुन्। एक्कै छिनअघि सुरक्षा फौजले उनको झोला र शरीर खोतलेको भए के हुन्थ्यो? उनको घानमा म पनि त पर्ने थिएँ! अहिले सम्झँदा मुटु सिरिङ्ङ भयो।

“वर्षाजी, हामी फालीदोबाटो आइपुग्यौँ। साङपाङ कुन ठाउँमा छ मिटिङ?” मैले वर्षालाई प्रश्न गरेँ। वर्षाले जवाफ फर्काइन्, “छाप्लेगाउँ खोटडाँडा।” “ए,छाप्ले गाउँ खोटडाँडा। सत्तलबाट पनि पैँतालिस

मिनेट तल झर्नुपर्छ। म कुनै विद्यार्थीको साथ लाएर तपाईंलाई पठाउँला नि त। मिटिङ पो कसको घरमा छ?”  मैले वर्षालाई सोधे। “पर्दैन सर। म एक्लै जान्छु। सुरक्षा खतरा हुन्छ। मिटिङ कमरेड पृथ्वीकोमा छ,” वर्षाले  जवाफ फर्काइन्।

हिँड्दाहिँड्दै सामन्तवाद, साम्राज्यवाद, उपनिवेश, वर्ग शत्रु, वर्ग मित्र, समाजवाद, साम्यवाद दलाल पुँजीवाद, सर्वहारा, किसान, महिला, दलित, मजदुर, बाह्य हस्तक्षेप, विस्तारवाद, मार्क्सवाद, लेनिनवाद, माओत्सेतुङ विचारधारा, जनयुद्ध र गणतन्त्रबारे लामै प्रशिक्षण प्राप्त गरेँ मैले। वर्षाले गहिरो अध्ययन गरेकी रहिछन्। रिट्ठो नबिराई प्रवचन दिन सक्ने रहेछिन्। रसियन क्रान्ति, चाइनिज क्रान्ति, मंगोलियन क्रान्ति, क्युबा क्रान्ति, भियतनामी क्रान्ति, उत्तर कोरियन क्रान्ति र जर्मन क्रान्ति पूरै खाएकी रहिछन्। मार्क्स, एङगेल्स, लेनिन, स्टालिन, माओत्सेतुङ, फिडेल क्यास्ट्रो, चे ग्वेभारा, होचिमिन्ह, किमइलसुङ, चारु मज्जुमदार र गोर्कीको जीवनी कण्ठै रहेछ। म पनि वामपन्थी नै हुँ। मैले पनि अध्ययन त गरेकै थिएँ। मेरो अध्ययन वर्षाको तुलनामा पुग्न सकेकै रहेनछ। कलिलो कमरेडको अध्ययन तारिफयोग्य लाग्यो। 

हामी आहाले हुँदै सत्तल आइपुग्दा दिउसोको दुई बजिसकेको थियो। मैले वर्षालाई विद्यालयतिरै लिएर गएँ। शिक्षक साथीहरूसँग परिचय आदानप्रदान गराएर छाप्ले गाउँ खोटडाँडाको रुट यकिन गरी वर्षालाई बिदा गरेँ। कृतज्ञता व्यक्त गर्दै वर्षा बाटो लागिन्।

समयमै छाप्लेगाउँ खोटडाँडा पुगेर मिटिङमा सहभागी भई भोलि संखुवासभाको खराङमा  राती नौ बजेको मिटिङ भ्याउनु थियो उनले। 

वर्षाजस्ता सयौँ युवती/किशोरी माओवादी जनयुद्धमा सामेल थिए। आफू जनताको मुक्ति खातिर लडिरहेका बताउँथे। बाबु, आमा, साथीभाइ घरगाउँ पढाइ र जागिर छोडेर पूर्वको पश्चिम र पश्चिमको पूर्व भएर जनमुक्ति सेनामा भर्ना भई छापामार युद्धमा संलग्न थिए। माओवादी पार्टीका जनसङगठनहरू तोकिएको जिम्मेवारी पूरा गर्दै जनक्रान्तिको आधारभूमि तयार गरिरहेका थिए। गाउँगाउँमा सांस्कृतिक कार्यक्रम र प्रशिक्षण हुन्थे। जनचेतना विस्तारका लागि प्रौढ कक्षाहरू पनि सञ्चालनमा थिए।

कृषि क्रान्तिमा तिनको विशेष जोड दिइएको थियो। गाउँलाई घेरा हाली सहर कब्जा गर्ने रणनीतिअनुसार माओवादी अगाडि बढिरहेको थियो। गाउँमा विद्यालय र शिक्षकहरू मात्रैको सरकारी उपस्थिति थियो। अन्य कार्यालयहरू सदरमुकामतिरै विस्थापित थिए। जनताका केही काम जनसरकारले हेर्थ्यो। पार्टीका आधार इलाकाहरू निर्माण गरिएका थिए।

आधार इलाकामा जनमुक्ति सेनाको विशेष चहलपहल हुन्थ्यो। दोहोरो भिडन्तमा परी घाइते र अपांगता भएका जनमुक्ति सेनाहरूको उपचार गर्ने चिकित्सकीय टोलीहरू पनि थिए। स्वास्थ्य चौकी र अस्पतालहरूबाट औषधी ल्याउने काममा सादा पोसाकका छापामार खटिएका हुन्थे। अर्धभूमिगत शैलीमा औषधीहरू ल्याइन्थे। घाइतेको प्राथमिक उपचार सम्पन्न गरी थप उपचारका लागि विशेष निगरानीका साथ घाइते र अपांगता भएकालाई भारत पठाइन्थ्यो।

माओवादी आन्दोलन चरम उत्कर्षमा पुगिरहेको थियो। जिल्ला सदरमुकामहरू ध्वस्त पार्ने रणनीतिअनुसार जिल्ला सदरमुकामहरूमा आक्रमण बढाइएको थियो। जुम्लाजस्ता जिल्लाहरूमा आक्रमण सफल भइसकेको थियो। सेनाका ब्यारेकसमेत आक्रमण गरिएका थिए। प्रहरी कार्यालय ध्वस्त बनाइएका थिए। छापामारका नियन्त्रणमा आएका थिए कतिपय सरकारी हातहतियार। दुवै पक्षमा सयौँ मारिएका थिए। सर्वसाधारण उत्तिकै पर्थे।

माओवादीको भोजपुर आक्रमणको खबरले म चिन्तित थिएँ।

वर्षा कहाँ होलिन्? उनको कार्यक्षेत्रमै भोजपुर पर्ने भएकाले पक्कै पनि आक्रमणमा सामेल थिइन् होला। आखिर उनी प्लाटुन कमान्डर पनि त हुन्।

उनले एउटा टोलीको नेतृत्व गरिन् होला। त्यत्तिको हक्की व्यक्ति, कमान्डर भएर अग्र मोर्चामा डटेर लडिन् होला–म यस्तै यस्तै सोचिरहेको थिएँ। 

भोजपुर आक्रमणको सप्ताहान्त माओवादीले भोजपुर आक्रमणमा शहादत प्राप्त गर्ने शहीदहरूको सूची सार्वजनिक गर्‍यो। पहिलो नम्बरमै वर्षाको नाम देखेँ। मलाई भाउन्न होलाझैँ भयो। मैलै सुन्तले साङपाङको यात्रा स्मरण गरेँ। त्यो अद्भुत साहस भएकी केटी मेरो आँखामा घुमीरही।

भावविह्वल  हुँदै वर्षाको नाममा श्रद्धाञ्जली अर्पण गरी एक मिनेट मौनधारण गरेँ।

सुन्दरहरैँचा –६, दुलारी, मोरङ