भाैतिक सुरक्षाभन्दा मानवीय सुरक्षा महत्त्वपूर्ण : सेना

गत भदाै २४ मा सिंहदरबार जल्दा किन रोक्न नसकेको भन्ने प्रश्नको जवाफमा सेनाको युद्धकार्य विभागका प्रमुख उपरथी अनुप जंग थापाले मानवीय सुरक्षा भौतिक सुरक्षाभन्दा महत्त्वपूर्ण भएको बताए।

काठमाडौँ– नेपाली सेनाले गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिका सम्बन्धमा स्पष्ट पारेको छ।

शुक्रबार भद्रकालीस्थित जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा सेनाको युद्धकार्य विभागका प्रमुख उपरथी अनुप जंग थापाले सेनाले तत्कालीन अवस्थामा आफ्नो भूमिका निर्वाह गरेको स्पष्ट पारेका हुन्। उनले सिंहदरबार जल्दा सेनाले किन जोगाउन नसकेको भन्ने आम रूपमा उठिरहेको प्रश्नको पनि जवाफ दिएका छन्।

“चारैतिरबाट प्रदर्शनकारीहरू प्रवेश गरिसकेको अवस्था थियो। सामान्य बल प्रयोगले नियन्त्रण गर्न सकिने अवस्था थिएन। घातक बल नै प्रयोग गर्नुपर्थ्यो,” उनले भने, “त्यसो गर्दा ठूलो मानवीय क्षति हुन सक्थ्यो। मानवीय सुरक्षा भौतिक सुरक्षा भन्दा महत्त्वपूर्ण विषय हो।”

उनले सेनाले शुरूआतमा प्रदर्शनकारीलाई प्रवेशमा रोक लगाउने प्रयास भए पनि चारैतिरबाट प्रदर्शनकारीहरू प्रवेश गरेको प्रष्ट पारे।

“सिंहदरबार लगायतका संरचना जल्नबाट किन नरोकेको भन्ने प्रश्न वैध छन्। महत्त्वपूर्ण संरचना क्षति हुनु दुःखद हो। त्यतिबेलाको अवस्था निकै तनावपूर्ण थियो,” उनले भने, “सेनाले ‘लेस देन लिथल’ (कम घातक) नियन्त्रण उपाय अपनाएको हो। भिड नियन्त्रण गर्ने क्रममा ४६ राउन्ड हवाई फायर गर्नुका साथै भित्र प्रवेश गर्नेलाई बाहिर पठाइएको पनि थियो।”

सिंहदरबारमा प्रदर्शनकारी प्रवेश गरेर आगजनीका घटना गरिसकेपछि सेनाले निकै सुझबुझ रूपमा राष्ट्रिय सुरक्षा परिषद्, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयको डेटा सेन्टरलाई आगजनी हुनबाट जोगाएको उनले प्रष्ट पारे। नेपाली सेना राष्ट्रियताको पक्षमा सधैं अडिग रहँदै आएको भन्दै उपरथी थापाले सेनाले राजनीति नगर्ने बताए।

“तत्कालीन अवस्थामा २४ गते रातिदेखि सेना परिचालन भएपछि स्थिति नियन्त्रणमा लिएर त्यसपछि शान्तिपूर्ण निकास र अराजक स्थितिलाई नियन्त्रण गर्ने काम गरिएको हो,” उनले भने।

युद्धकार्य विभागका निर्देशक सहायक रथी मनोज थापाले सिंहदरबार लगायतका ठाउँमा आगजनी भइसकेपछि तत्कालै निभाउनका लागि टोलीहरू परिचालन भएको पनि प्रष्ट पारे।

“आगजनी भए लगत्तै दमकल परिचालनका लागि प्रक्रिया अघि बढाइएको थियो। तर, चारैतिरबाट प्रदर्शनकारीले अवरोध गरेपछि तत्काल जान सकेन। तर, पछि स्थितिलाई सहज बनाउँदै काठमाडौँ महानगरपालिकादेखि ललितपुर महानगर र सेनासँग भएका दमकल परिचालन भएका हुन्,” उनले भने, “२५ गते बिहानसम्म धेरै ठाउँको आगो निभिसकेको थियो।”

आगो निभाउन नखोजेको भन्ने विषयमा सत्यता नभएको उनको स्पष्टोक्ति थियो। उनले २३ को प्रदर्शनका क्रममा सुरक्षा निकायको गोली लागेर र उपचारका क्रममा २२ जना प्रदर्शनकारीको मात्रै मृत्यु भएको बताए।

“प्रदर्शनकारीतर्फ २२ जनाको मात्रै मृत्यु भएको हो। ३ जना प्रहरी र १० जना जेलबाट भाग्न खोज्दा कैदीबन्दीको मृत्यु भएको हो,” उनले भने, “बाँकी ४१ जना भने कोही आगजनीमा परेर त कोही अन्य कारणले मृत्यु भएको हो।”

भदौ २४ गते त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आगजनी गर्ने उद्येश्यले जिलेटिन लिएर पुगेको समूहलाई पनि सेनाले रोकेको जनाएको छ।

“त्रिभुवन विमानस्थल आक्रमण गर्ने उद्देश्यसहित जिलेटिन लिएर पुगेकाहरूलाई हामीले रोकेका हौं,” सहायक रथी थापाले भने, “विमानस्थल बन्द भएको भए अन्तर्राष्ट्रिय स्तरमै नेपालको छवि धुमिल हुने थियो। २५ गतेबाट विमानस्थल नियमित सञ्चालनमा आइसकेको थियो।”

सेनाले आन्दोलनका विषयमा गरेको ब्रिफिङअनुसार २४ गते अति विशिष्ट र विशिष्ट व्यक्ति र तीनका परिवारका ६१ जना, नेपाल प्रहरीतर्फ २३ जनाको हवाई उद्धार र गाडीबाट १२९ जनाको उद्धार गरेको थियो। त्यस्तै, ९७८ हातहतियार लुटिएको र हराएकोमध्ये ५८६ बरामद गरेर फिर्ता बुझाइएको जनाएको छ।

नेपाल प्रहरीतर्फ २२४ र सशस्त्र प्रहरीतर्फ उपत्यकाभित्र १२ र बाहिर प्रहरीतर्फ ७९ हतियार फिर्ता गरिएको हो। ६५ थान थप हतियार प्रहरीलाई बुझाउने तयारी भएको र ४९ हतियार कसको भन्ने यकिन भइनसकेकाले सेनासँग नै रहेको सहायक रथी थापाले जानकारी दिए।

जेनजी आन्दोलनपछि देशभर तैनाथ भएको सेनाका ४१ ठाउँबाट फिर्ता भइसके पनि २१ मा अझै तैनाथी अवस्थामा नै रहेको सेनाले जनाएको छ।

देशैभर ६८८ सरकारी कार्यालय, २५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दल र पार्टी कार्यालय, ३०७ प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको सेनाले जनाएको छ।

पत्रकार भेटघाटमा नेपाली सेनाले गत आर्थिक वर्षमा गरेको कार्य प्रगतिसमेत प्रस्तुत गरिएको थियो।