सुमितको बास्केटबल यात्रा : नेपालमा बेवास्ता, अस्ट्रेलियन लिगमा ‘क्याप्टेन अफ द इयर’

सुमितको कप्तानीमा रहेको ब्ल्याकबर्न ग्रिफिन्सले यस सिजनको मेलबर्न बास्केटबल लिगको उपाधि जितेको छ। ग्रिफिन्ससँग सन् २०२६ सम्मको सम्झौता गरेका उनले नेपालको जर्सी लगाएर खेल्ने चाहना बिर्सिन सकेका छैनन्।

काठमाडौँ– घरको माहोलबाटै प्राय:जसोको भविष्यको लक्ष्य निर्धारण हुन्छ। कतिपयको त भविष्यमा के बन्ने भन्ने विषय परिवारबाट टुंगो लाग्छ। ब्ल्याकबर्न ग्रिफिन्सलाई पहिलोपटक मेलबर्नको प्रतिष्ठित मेलबर्न बास्केटबल लिग (एमबीएल)को उपाधि दिलाएका कप्तान सुमित थापा भने यसको अपवाद हुन्। 

सुमितका काका घनश्याम र दाजु राधेश्याम नेपालका पूर्वगल्फर हुन्। अरू काकाहरू पनि घरेलु फुटबलमा एक समय रमाएका खेलाडी हुन्। तर, सुमितले बास्केटबल रोजे। उनले बास्केटबल खेल्न थालेको डेढ दशक पुग्न लागेको छ। उनले आफ्नै देश नेपालबाट खेल्ने सपना भने अझै त्यागेका छैनन्।

१४ वर्षअघि बास्केटबल खेल्न शुरू गर्दा शहरी क्षेत्रमा क्रिकेट र फुटबल लोकप्रिय थिए। काठमाडौँको टुँडिखेल होस् या दशरथ रंगशाला, नियमितजस्तो फुटबल भइरहेको हुन्थ्यो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानभित्र र बाहिर बल-ब्याट बोकेर हिँड्ने जमात भेटिन्थ्यो। सुमितलाई पनि एक समय फुटबलको मोहले तानेको थियो।

कक्षा ८ पढ्दा उनले विद्यालयस्तरीय फुटबल प्रतियोगिता खेल्ने मौका पाए। गोलरक्षकको भूमिका निभाएका उनीमाथि नेपाली राष्ट्रिय टोलीका पूर्वगोलरक्षक उपेन्द्रमान सिंहको नजर पर्‍यो। लोभलाग्दो उचाइ र ‘क्विक रेस्पोन्स’ गर्नसक्ने क्षमता भएका उनी गोलकिपर नभइ फरवार्ड बन्नसक्ने सिंहले बताए। उनले भनेका थिए, “तिमी छिटो र छरितो छौ। राम्रो फरवार्ड बन्न सक्छौ। भोलिबाट प्रशिक्षणमा आउनू।”

उनले सिंहको प्रस्ताव अस्वीकार गर्दिए। उक्त कुरा घर परिवारमा लुकेन। उनलाई आमाबुबाले जसरी पनि फुटबल खेल्न दबाब नै दिए। “खेलाडी नै बन्छस् भने फुटबलकै बन्, करिअर नै नभएको बास्केटबलमा किन लाग्छस् भन्नुहुन्थ्यो”, उनी भन्छन्, “करिअर छैन भने बनाउँछु। विदेशमा गएर भए पनि आर्थिक पाटो मजबुत बनाउँछु भनेर म बास्केटबलमै लागेँ।”

उनी बस्ने काठमाडौँको पेप्सीकोलामा एउटा पनि बास्केटलबल कोर्ट थिएन। विद्यालयले आफ्नो मैदानमा खेल्न नदिएपछि पेस्पस्कोलाका सविन, व्यापक, राधेश्याम, प्रकाश, राज थापा, विकेश केसीलगायतले खाली स्थानमा बास्केटबल कोर्ट बनाए र क्लब पनि खोले। क्लबको नाम राखे संयुक्त विजयी क्लब। उनी पनि दाइहरूसँग कोर्ट धाउन थाले।

“शुरूमा रुचिभन्दा पनि दाइहरूको सिको गरेर बास्केटबल खेल्न थालेँ। बिस्तारै राम्रो गर्दै गएँ। क्लबका अध्यक्षसमेत रहनुभएका सविन दाइले प्रेरणा दिँदै जानुभयो, मलाई पनि गर्नसक्छु जस्तो लाग्यो”, उनी भन्छन्। दाइहरूको प्रेरणबाट हौसिएका उनी साथीभाइसँग बास्केटबलकै कुरा मात्र गर्न थाले। बास्केटबलमा एकोहोरो लगाब देखेर उनलाई परिवारबाट पनि रोकटोक भएन। परिवारबाटै हौसला मिलेपछि उनी एसएलसी दिएर गोल्डेन गेट कलेज भर्ना भए। 

त्यतिखेर गोल्डेन गेट बास्केटबलको लागि नाम चलेको कलेज थियो। उनले कलेजको टोलीबाट अन्तरकलेज बास्केटबल प्रतियोगिताहरू खेल्दै गए। उनलाई सन् २००९ मा राष्ट्रिय टोलीको क्याम्पमा बोलाइएको थियो। तर, टोलीमा पर्न सकेनन्।

“बास्केटबल खेल्न नेपाली टोली सिंगापुर जाने तयारीमा थियो। मलाई पनि त्रिपुरेश्वरको कभर्ड हल बोलाइयो। तर, दुई–तीनपटक गएपछि हाम्रो टिम बनिसकेको छ, तिमी चाहिँदैन भन्नुभयो”, उनी भन्छन्। 

सन् २०१० मा बंगलादेशको ढाकामा भएको दक्षिण एसियाली खेलकुद (साग)मा सहभागिता जनाएको बास्केटल टोली चौथो भएको थियो। उनी राष्ट्रिय टोलीको क्लोज क्यापमा पर्दा रोहित लामा, सुजन पुन, सुशील गुरुङ, रवि गिरी, विक्रम डंगोल, केतन खड्का, विकास गुरुङ, असिम श्रेष्ठ, अनिश शाही, विशाल तामाङ, कुङ्गा शेर्पा र रवि बसफोरजस्ता सिनियर खेलाडीको दबदबा थियो। 

त्यसपछि पनि उनलाई क्लोज क्यापको लागि बोलाइएको थियो। तर, हरेकपटक अन्तिम समयमा नाम काट्न थालियो। अनि सुमितले राष्ट्रिय टोलीबाट खेल्ने सपना त्यागे। नेपालमा पछिल्लोपटक उनले २०७३ सालमा इटहरीमा भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेका थिए।

सुदूरपश्चिम विकाश क्षेत्रबाट खेलेका उनको टोलीले सम्झनालायक प्रदर्शन गर्न सकेन। बास्केटबल खेल्नकै लागि काठमाडौँबाट इटहरी पुगेका उनले दालभातको लागि दिनको १४ सय भत्ता पाए। त्यही भत्ता पनि सुदूरपश्चिमको बास्केटबल कोर्ट मर्मतसम्भार गर्न सहयोग गरे। त्यसपछि अध्ययनका लागि अस्ट्रेलिया हुइँकिए। 

“कलेजले धानिदिएको बास्केटबल नेपालमा बिरलै हुन थाल्यो। दालभात खाएर खेल्नसक्ने अवस्था रहेन। राष्ट्रिय टोलीमा पर्न पनि राजनीति नै हुन थाल्यो। त्यसैले अस्ट्रेलिया आएँ”, उनी भन्छन्। 

अस्ट्रेलिया पुगेपछि पनि सुमितले बास्केटबल छाड्न सकेनन्। शुरूमा स्थानीयस्तरमा हुने साना–साना प्रतियोगिता खेल्न थाले। उनको प्रतिभा देखेर माइकल भन्ने फिलिपिनो साथीले अस्ट्रेलियाको ‘बी’ डिभिजन लिग भिक्टोरियन खेल्ने टोली वाइकिङमा आबद्ध गराइदिए। 

करिब ६ महिनाको लिग खेलेपछि उनलाई मेलबर्नको प्रतिष्ठित लिग एमबीएलको फ्रेन्चाइज रेभिन्सले भित्र्यायो। उक्त सिजन रेभिन्स भने लिग चरणबाटै बाहिरियो। त्यसपछि सन् २०१९ मा ब्ल्याकबर्न ग्रिफिन्सबाट खेल्न थाले। त्यो सिजन उक्त टोली एमबीएलको सेमिफाइनलबाट अगाडि बढ्न सकेन।

तर, उनले नयाँ जिम्मेवारी पाए। भिक्टोरियन र मेलबर्न लिगमा राम्रो खेल प्रदर्शन गरेकै आधारमा उनलाई अर्को सिजनको लागि ग्रिफिन्सले क्लबको कप्तान बनायो। फेरि पनि सुमितको टोली सेमिफाइनलबाट अगाडि बढ्न सकेन। 

“कप्तान नियुक्त भएपछि खेलाडी भित्र्याउने जिम्मेवारी पनि पाएँ। स्थानीय लिगमा राम्रो गरिरहेका अमेरिका र अन्य देशका खेलाडीलाई समेटेर टोली बनाएँ। अनि १६ मध्ये लिगका १५ खेल जित्यौँ। तर यसपटक फेरि सेमिफाइनलमै चुक्यौँ”, उनी भन्छन्। यद्यपि, उनी उक्त सिजन ‘क्यापटेन अफ द इयर’ बन्न सफल भए।

त्यसको एक वर्षपछि ग्रिफिन्स इतिहासमै पहिलोपटक एमबीएलको फाइनल पुग्यो। तर, सुमितको कप्तानीमा रहेको टोली हार्न पुग्यो। रेड ब्याकसँग तीन पोइन्टले हार्दै ग्रिफिन्स उपाधि चुम्न चुक्यो। यो वर्ष भएको एमबीएलमा भने सुमितको टोलीलाई सफलता मिल्यो। उनको टोली ग्रिफिन्सले फाइनलमा गोल्डबक्सलाई ६०–५१ ले पराजित गर्दै ऐतिहासिक उपाधि जित्यो। फाइनलमा सुमितले व्यक्तिगत १३ स्कोर गरे।

“यसअघि पनि फाइनल पुगिसकेका थियौँ, तर चुक्यौँ। यसपटक पनि प्रतिस्पर्धा कडा थियो। टिमवर्क र लगातारको मिहिनेतले हामी उपाधि जित्न सफल भयौँ”, उनी भन्छन्। अस्ट्रेलियामा खेलाडीको रूपमा सफलता पाउँदै गएका उनलाई अब धेरैले नेपाल फर्किन सुझाव दिएका छन्।

सुमितले जीर्णोद्वार गरिदिएको पेप्सीकोलास्थित बास्केटबल कोर्ट।

नेपालको बास्केटबल कसरी धानिएको छ, उनले बुझेका छन्। नेपालमा खेलेर मात्र नपुग्ने हुँदा भविष्य छैन भन्ने पनि थाहा छ। तर, उनको नेपालप्रेम भने छँदैछ। उनले कुनै समय आफूले खेलेको पेप्सीकोलाको बास्केटबलको कोर्टको जीर्णोद्वार गरिदिएका छन्।

अहिले भने उनी अस्ट्रेलियामै रमाइरहेका छन्। ग्रिफिन्सले उनीसँग सन् २०२६ सम्मको सम्झैता गरेको छ। तर नेपालको राष्ट्रिय टोलीको जर्सी लगाउने इच्छा मरेको छैन। नेपाली समर्थकमाझ हात हल्लाउँदै बिदा लिने चाहना छँदैछ। 

“अरूको देशमा आएर करिअर बनाइयो, पैसा कमाइयो। तर देशभन्दा ठूलो म होइन, पैसा होइन। त्यसैले अब नेपाल फर्किएर नेपाली टोलीको जर्सी लगाएर सन्यास लिने इच्छा छ”, उनी सुनाउँछन्।