दीपेन्द्रराज तिम्सिनाको पुस्तक ‘नेपालको बैङ्‍‍किङ इतिहास’ बजारमा

बैंक र बैंकिङसँग सम्बन्धित विभिन्न ५१  विषय समेटेर लेखिएको पुस्तक २७२ पेजकाे रहेको छ।

काठमाडौँ– नेपालमा बैंकहरूको इतिहास समेटिएको पुस्तक ‘नेपालको बैङ्‌किङ  इतिहास’ बजारमा आएको छ। माेरङ पथरी शनिश्चरेका दीपेन्द्रराज तिम्सिनाले उक्त पुस्तक लेखेका हुन्। 

पुस्तकमा नेपालका ‘क’ र ‘ख’ श्रेणीका बैंककाे चिनारी, पहिलो गभर्नर हिमालय शमशेरदेखि अहिलेका विश्वनाथ पाैडेलसम्म १८ जना गभर्नरको फाेटाे सहितको जीवनी, द्वन्द्वकालमा बैंकमा भएको आक्रमण, नेपाली बैंक मर्जरकाे इतिहास समेटिएको छ। 

यस्तै, राणाकालमा बेलायतबाट फर्केर नेपालमा बैंक खाेल्ने अगुवा सरदार गुञ्जमान सिंह, बैंकिङ क्षेत्रका अगुवा बिके श्रेष्ठ, विदेशी बैंक भित्र्याउने डा. प्रकाशचन्द्र लाेहनी सहितको इतिहास मिहिन गरी खोजेर पुस्तकमा राखिएको छ। 

बैंक र बैंकिङसँग सम्बन्धित विभिन्न ५१  विषय समेटेर लेखिएको पुस्तक २७२ पेजकाे रहेको छ। झापा दमककाे स्रष्टा छापाखानाले छापेको यो पुस्तक तिम्सिनाकाे १४औँ पुस्तक हाे।