दल र नागरिकलाई चुनावबारे आश्वस्त पार्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सरकार र चारवटै सुरक्षा निकायका प्रमुखलाई आग्रह गरेका छन्।

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सरकार र चारवटै सुरक्षा निकायका प्रमुखलाई आग्रह गरेका छन्।

राष्ट्रपति भवन शितल निवासमा शनिबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखको सहभागितामा भएको छलफलका क्रममा राष्ट्रपति पौडेलले राजनीतिक दल र आमनागरिकलाई चुनावबारे आश्वस्त पार्न निर्देशन दिएका हुन्।

उनले शान्तिसुरक्षा कायम गर्दै भयरहित निर्वाचन सम्पन्न गराउन सुरक्षा निकायको प्रभावकारी भूमिका अपरिहार्य रहेकोमा जोड दिए। साथै, राष्ट्रपति पौडेलले भदौ २४ गते लुटिएका हतियार र भागेका कैदीबन्दीहरूलाई अविलम्ब फिर्ता गराउन पनि आग्रह गरे।

अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले पूर्ण तयारी र सुरक्षा निकायलाई आवश्यक सम्पूर्ण साधनस्रोत उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि बताइन्।

सुरक्षा निकायका प्रमुखहरूले शान्तिसुरक्षा कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय सक्षम रहेकोमा राष्ट्रपतिलाई आश्वस्त पारे। उनीहरूले विगतमा अझ कठिन परिस्थितिमा पनि शान्तिपूर्वक निर्वाचन सम्पन्न गराएको स्मरण गराउँदै सुरक्षा निकाय सम्पूर्ण रूपले आसन्न निर्वाचनका लागि तयार रहेको जानकारी गराइन्।

छलफलमा अन्तरिम सरकारका प्रधामन्त्री कार्की, अर्थमन्त्रीबाहेक सबैमन्त्री, प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक चन्द्र कुँवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको सहभागिता थियो।