यूएई र अमेरिकाविरुद्ध लिग-२ को शृंखला खेल्ने नेपाली टोली घोषणा

क्यानले अमेरिका र यूएईसँगको त्रिकोणात्मक शृंखला खेल्नका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।

काठमाठौँ– नेपाल क्रिकेट संघ (क्यान)ले संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने आईसीसी सीडब्लूसी लिग-२ प्रतियोगिताका लागि १५ सदस्यीय राष्ट्रिय पुरुष क्रिकेट टोलीको घोषणा गरेको छ।

क्यानले अमेरिका र यूएईसँगको एक दिवसीय त्रिकोणात्मक शृंखलाका लागि शनिबार टोलीको घोषणा गरेको हो। खेल आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म सञ्चालन हुनेछ।

क्यानले रोहित कुमार पौडेललाई कप्तान घोषणा गरेको टोलीमा दीपेन्द्र सिंह ऐरी उपकप्तान तोकिएका छन्।

अन्य खेलाडीहरूमा मोहम्मद आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, अनिल कुमार साह, सोमपाल कामी, मोहम्मद आरिफ शेख, भीम सार्की, करण केसी, गुलशन झा, साहब आलम, नन्दन यादव, कुशल मल्ल र ललित नारायण राजवंशी समावेश छन्। 

विश्वकप छनोट टोलीमा समावेश रहेका सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई भने यो शृंखलाका लागि आराम दिइएको छ।

शृंखला खेल्नका लागि नेपाली टोली यूएई पुगिसकेको छ। नेपालले अक्टोबर २६ मा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। नेपालले ३० अक्टोबरमा यूएईसँग खेल्नेछ। नोभेम्बर १ मा अमेरिकासँग र नोभेम्बर ५ मा यूएईसँग खेलेपछि टोली स्वदेश फर्कनेछ।

शुक्रबार नेपालले अपराजित रहँदै आईसीसी पुरुष टी२० विश्वकप एशिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको थियो। अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपाल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको थियो।

यसअघि नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो। त्यसैगरी नेपालले सुपर सिक्सको पहिलो खेलमै युएईमाथि एक रनको रोमाञ्चक जित निकालेको थियो भने दोस्रो खेलमा कतारविरुद्ध पाँच रनको जित निकालेको थियो। तेस्रो खेलमा नेपालले ओमानलाई ३८ रनले हराएको थियो।

यस छनोट प्रतियोगिताबाट नेपाल, यूएई र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी२० विश्वकपको टिकट काटेका छन्। विश्वकप आगामी माघ २७ देखि फागुन २४ गतेसम्म हुनेछ।