काग तिहार र धन्वन्तरी जयन्ती मनाइँदै

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय चलन रहेको छ।

काठमाडौँ– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व यमराजको दूतका रूपमा कागलाई मीठोमीठो खान दिएर मनाइँदै छ। 

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले आजलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए।  

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ। कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर कागलाई पूजा आराधनासहित मीठोमीठो खान दिई खुशी पार्ने गरिएको उनी बताउँछन्। 

लोक व्यवहारमा काग घरमा आई कराएमा ‘शुभ बोल’, ‘शुभ बोल’ भन्ने प्रचलनसमेत छ। काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ।

‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने विश्वास छ। यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ। त्यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको पूजाआराधना गरिन्छ। यहाँ कागको ठूलो मूर्ति बनाइएको छ।

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ। यमयातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने शनिबार साँझदेखि नै शुरू भएको छ। यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ। यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ।  

 यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक शनिबार बेलुकीदेखि नै शुरू भएको हो। यसैगरी धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ। यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ।

यसैबीच, धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस पनि विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। वनजंगलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा दिवस मनाउन लागिएको हो। 

आजको दिनलाई आयुर्वेदका चिकित्सकहरूले सत्संकल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन्। काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो।