सडकका थप ५० रुग्ण ठेक्का तोड्ने तयारी

ठेक्का तथा योजनाको पटकपटक म्याद थप भई तोकिएको अवधिमासमेत सम्पन्न गर्नेतर्फ चासो नदेखाएकाले ठेक्का तोड्न लागिएको जनाइएको छ।

काठमाडौँ– सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया शुरू भएको छ।

सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, इटहरी, पोखरा, सुर्खेत, जनकपुर, दमौलीलगायत कार्यालयले रुग्ण अवस्थामा रहेका ५० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका हुन्। 

सडक डिभिजन कार्यालय जनकपुरले सबैभन्दा धेरै २१ वटा ठेक्का किन नतोड्ने भन्दै आइतबार सार्वजनिक सूचना जारी गरेको छ।

यस्तै, सडक डिभिजन काठमाडौँले सात, ओखलढुंगा तथा अछाम डिभिजनले पाँच–पाँच, पाल्पा तथा दमौलीले चार–चार र धनकुटा, पोखरा, मध्यपहाडी तथा गोरखा सडक योजनाले एक–एक ठेक्का तोड्ने प्रक्रिया अघि बढाएका हुन्।  

सडकअन्तर्गत २५८ ठेक्का रुग्ण छन्। ठेक्का तथा योजनाको पटकपटक म्याद थप भई तोकिएको अवधिमासमेत सम्पन्न गर्नेतर्फ चासो नदेखाएकाले ठेक्का तोड्न लागिएको जनाइएको छ।  

सूचना प्रकाशित भएको १५ दिनभित्र काम सम्पन्न गर्न सक्ने कार्यतालिका, स्रोत साधन परिचालनको भरपर्दो योजना र ठेक्का नतोड्ने कुनै मनासिब कारण भए कार्यालयमा उपस्थित हुनसमेत ठेकेदारलाई सूचनामा आग्रह गरिएको छ। 

यसअघि शुक्रबार १७ र शनिबार एउटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो।