महाकवि देवकोटाको घरलाई संरक्षण गरेर संग्रहालय बनाउन सरकारले ६ वर्षअघि त्यसलाई किनेको थियो। यद्यपि, संग्रहालय स्थापना भएको तीन वर्ष बितिसक्दा अवलोकनकर्ता फाट्टफुट्ट मात्र पुग्ने गरेका छन्।
काठमाडौँ– मैतिदेवीस्थित शास्त्रीमार्ग हुँदै पुगिन्छ महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मृति संग्रहालय। यो स्मृति संग्रहालय कुनै समय देवकोटाको घर थियो। यो घरमा देवकोटाले आफ्नो जीवनको उत्तरार्द्ध बिताएका थिए।
देवकोटाको घर एक दशकदेखि रिक्त थियो। नेपाल प्रज्ञा प्रतिष्ठानका अनुसार, यो घर २००० सालमा बनेको थियो। २०७२ सालको भूकम्पले घरमा क्षति पुर्याएको थियो। घर जीर्ण भए पनि भत्किएको थिएन।
उक्त घरलाई भत्काएर नयाँ भवन बनाइएको छ। त्यही भवनमा स्मृति संग्रहालय छ। भवनको प्रांगणमा महाकवि देवकोटाको पूर्ण कदको शालिक छ।
२०७६ सालमा सरकारले साढे २ करोडमा खरिद गरी घर र जग्गालाई राष्ट्रियकरण गरेको थियो। देवकोटाको घर संरक्षणकै लागि सरकारले किनेको थियो।
संग्रहालय बनाउनका लागि भन्दै प्रज्ञा प्रतिष्ठानले घर भत्काएर नयाँ बनाउने भएपछि विवाद भएको थियो। कतिपय सम्पदाकर्मी र अभियन्ताले घर भत्काउनु नपर्ने जनाएका थिए। देवकोटाको सो घरलाई रेट्रोफिटिङ (सबलीकरण) मार्फत जस्ताको तस्तै प्रयोग गर्न सकिने विज्ञहरूको मत थियो।
तर देवकोटाको घर जोगाउनुपर्ने प्रज्ञा प्रतिष्ठानले नै भत्काएर संग्रहालय बनाएको विषयमा उकालोले रिपोर्ट पनि प्रकाशन गरेको थियो। प्रज्ञा प्रतिष्ठानले प्राविधिक अध्ययनपश्चात घर मक्किएको, काठ धमिरा लागेको बताउँदै अन्ततः पुनर्निर्माणका लागि भत्कायो।
पुनर्निर्माण शिलान्यासको दिन २०७८ भदौ ३ गते प्रज्ञा प्रतिष्ठानले आफ्नो फेसबुक पेजमा राखेको स्टेटसमा लेखिएको थियो, “जीर्ण अवस्थामा रहेको भवन अवलोकन गर्दा भग्नावशेषमा परिणत हुन लागेको उक्त घरको गारोमा प्रयोग भएका धेरै इँटाहरू काँचा र टुक्रा भएको, सग्ला इँटा अत्यन्त कम मात्र भएको, त्यहाँ प्रयोग भएको काठ धमिराले खाएको र मक्किइसकेको, भित्र पस्दा तला तलामा भ्वाङ नै भ्वाङ भएको र भ्वाङ नभएका ठाउँमा समेत पाइला टेक्दा धसिने गरेको, अनि उभिएका ठाउँमा समेत माथिल्ला तलबाट मक्किएका दलिन र माटो खस्ने गरेको पाइएको थियो।”
नयाँ भवनको बाहिरी आवरण दाची अप्पाको छ। भवन मौलिक शैलीमा बने पनि जगदेखि नै ढलान गरिएको छ। करिब १२ आना जग्गामा बनेको तीनतले भवनमा जेष्ठ नागरिक र फरक क्षमता भएकाका लागि लिफ्टसमेत जडान गरिएको छ।
घर संग्रहालयमा परिवर्तन हुँदा उनका पहिरन, पुस्तक, प्रकाशित र प्रकाशन नभएका पुस्तकका पाण्डुलिपि राखिएको छ। देवकोटाले प्रयोग गरेका भाडाकुँडा, हार्मोनियम, झोला, एस्ट्रेलगायत सामग्री पनि संग्रहालय अवलोकनकर्ताले देख्न पाउँछन्।
यद्यपि, संग्रहालयमा देवकोटाका सामग्रीभन्दा पनि धेरै चाहिँ पत्रपत्रिकामा लेखिएका, छापिएका आलेखको फ्रेमसहित सजाइएका छन्। देवकोटाको जन्मजयन्ती पारेर हरेक वर्ष संग्रहालयमा औपचारिक कार्यक्रम गर्ने गरिएको संग्रहालय प्रमुख जयराज जोशी बताउँछन्।
यो वर्ष कात्तिक ३ गते लक्ष्मी पूजा परेको हुँदा त्यही दिन देवकोटा जयन्ती मनाइन्छ। तर संग्रहालयमा कात्तिक २ गते नै देवकोटा जयन्ती मनाइएको जोशीले जानकारी दिए।
संग्रहालयको स्थापना भएको तीन वर्ष पुगिसक्दा अवलोकनकर्ताको उपस्थिति भने अपेक्षितभन्दा न्यून रहेको जोशी बताउँछन्। उनका अनुसार, प्रत्येक दिन औसतमा तीनदेखि चारजना अवलोकनकर्ता मात्र आउने गरेका छन्। शुक्रबार र शनिबार भने शैक्षिक भ्रमणमा आउने अवकोलनकर्ताको संख्या केही बढी हुन्छ।
यो संग्रहालयमा विशेषतः विद्यार्थी र साहित्यिक क्षेत्रमा लागेकाहरू अवलोकनका लागि आउँछन्। संग्रहालयको चुस्त सञ्चालनको लागि सम्बन्धित क्षेत्र (साहित्य र संग्रहालय) विज्ञको दरबन्दी हुनुपर्ने संग्रहालय प्रमुख जोशी बताउँछन्।
भिडियो
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
