मोरोक्कोमा जेनजी आन्दोलन: शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग

सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म, विशेषतः डीसकर्ड, प्रयोग गर्दै उनीहरू बिना राजनीतिक पार्टीको सहारा, नेतृत्वविहीन तर संगठित ढंगमा प्रदर्शन गरिरहेका छन्।

मोरोक्कोमा जेनजीहरूले भ्रष्टाचार, बेरोजगारी र सामाजिक असमानताको विरुद्धमा आवाज उठाइरहेका छन्। 

उनीहरूले ‘जेनजी–२१२’ नामक अभियानमार्फत देशभरि स्वतन्त्र रूपमा आन्दोलन शुरू गरेका छन्। सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म, विशेषतः डीसकर्ड, प्रयोग गर्दै उनीहरू बिना राजनीतिक पार्टीको सहारा, नेतृत्वविहीन तर संगठित ढंगमा प्रदर्शन गरिरहेका छन्।

यी युवाहरूको आक्रोश सरकारको प्राथमिकता र संसाधनको असमान वितरणप्रति हो। सरकारले सन् २०३० विश्वकपका लागि नयाँ स्टेडियम बनाउन अर्बौं डलर खर्च गर्दैछ, तर ग्रामीण भेगका अस्पतालमा डाक्टर छैनन्, सडक कच्ची छन् र विद्यालय सुविधाविहीन छन्। 

आन्दोलनको दौरान हजारौँ युवा सडकमा उत्रिएका छन्। धेरै स्थानमा झडप पनि भएका छन्, जसमा केहीको ज्यान गएको छ। सयौँ प्रदर्शनकारी पक्राउ परेका छन्। यति हुँदाहुँदै पनि युवाहरूको जोश र आवाज कमजोर भएको छैन। उनीहरूले राजा मोहम्मद–६ लाई खुलापत्र लेख्दै प्रधानमन्त्रीको राजीनामा, भ्रष्ट नेतालाई कारबाहीको माग गरेका छन्।

जेनजी आन्दोलन मोरोक्कोमा मात्र सीमित छैन। यसले विश्वभरका युवामा पनि परिवर्तनको भावना जागृत गरिरहेको छ। यो आन्दोलनलाई न्याय, समानता र उत्तरदायित्वको खोजीमा रहेको नयाँ पुस्ताको बलियो कदमका रूपमा लिइएको छ। (रासस/एपी)