मलामी सवार ट्याक्टर दुर्घटनामा ३ जनाको मृत्यु, ९ घाइते

लम्कीचुवा नगरपालिकाअन्तर्गतको धोबेनी खोलामा मलामी सवार ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

कैलाली – जिल्लाको लम्कीचुवा नगरपालिकाअन्तर्गतको धोबेनी खोलामा मलामी सवार ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा नौ जना घाइते भएका छन्।

बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नम्बरको ट्याक्टर आइतबार दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनामा परी बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले पुष्टि गरे।

ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरी निरीक्षक सिंहले जनाए।

दुर्घटनाका घाइतेलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी लम्कीस्थित लालरत्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरूको थप विवरण खुल्न बाँकी छ।