कैलाली ट्याक्टर दुर्घटनाका घाइतेको लम्कीमा उपचार हुँदै

दुर्घटनामा परी घाइते भएका १२ जनाको पहिचान खुलेको छ।

कैलाली– मलामी जाँदै गरेको ट्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। घाइतेहरूको लम्कीको लालरत्न अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा मृत्यु हुनेहरूमा जिल्लाको बर्दगोरिया गाउँपालिका–४ का ३५ वर्षीय हर्क साउद, १६ वर्षीय शीतल साउद र ६४ वर्षीय दानबहादुर साउद रहेका छन्।

इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहका अनुसार दुर्घटनामा परी घाइते भएका १२ जनाको पहिचान खुलेको छ। घाइते हुनेहरूमा बर्दगोरिया गाउँपालिका–४ का २१ वर्षीय तपेन्द्र साउद, १४ वर्षीय रविन साउद, १५ वर्षीय एति साउद, ४५ वर्षीया सिंगे साउद रहेका छन्। 

त्यस्तै, ५० वर्षीय भीमबहादुर रोकाया, ४५ वर्षीय रुद्रलाल न्यौपाने, ७५ वर्षीय नौले साउद, १८ वर्षीय आयुश साउद, १६ वर्षीय शाशिष साउद, १६ वर्षीय रोहित साउद, १२ वर्षीय आरुश साउद र १८ वर्षीय रूपक बोहोरा पनि घाइते रहेका छन्।

प्रहरीका अनुसार बर्दगोरिया गाउँपालिका–४ चमेलीपुरका ७४ वर्षीय हर्क साउदको मलामीमा लम्कीचुहा–३ चिसापानीस्थित कर्णाली नदीमा जाँदै गरेको सु.प.प्र. ०१००२ त ४९९१ नम्बरको ट्याक्टर लम्कीको धोबेनी खोलानजिक दुर्घटना भएको हो।