संघीय शिक्षा ऐन सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणमा शिक्षकको अहम् भूमिका भएको बताएका छन्।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय शिक्षा ऐन सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

शनिबार काठमाडौँको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको बताएका हुन्। “अघिल्लो सरकारको कार्यकालमा पनि शिक्षा ऐनका केही काम भएका छन्, तर ऐन जारी भएन। यसपटक सरकारले प्राथमिकतामा राखेको छ। यो ऐन जारी गरेपछि शिक्षा क्षेत्र र शिक्षकसँग सम्बन्धित अधिकांश समस्या सम्बोधन हुन्छन्”, उनले भने।

देशभरका शिक्षकलाई स्वास्थ्य सेवा प्रदान गर्न शिक्षक अस्पताल निर्माणको काम अगाडि बढेको प्रधानमन्त्री दाहालको भनाइ थियो। “यसलाई सफल कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रै हो”, उनले भने, “यसका साथै शिक्षकको सम्मानित जीवनका निम्ति हामीले केही न केही पहल लिनैपर्छ। त्यसतर्फ पनि सरकारले सोचिरहेको छ।”

देशको राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणमा शिक्षकको अहम् भूमिका भएको प्रधानमन्त्री दाहालको भनाइ छ। सामाजिक चेतनाको अभिवृद्धि, राजनीतिक जागरण र राजनीतिक एवं सामाजिक उत्तराधिकारी निर्माणमा शिक्षकको महत्त्वपूर्ण योगदान रहँदै आएकाले यसमा सबै शिक्षकले गर्व गर्नुपर्ने बताए। 

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो तेस्रो कार्यकाललाई चुनौतीपूर्ण अवसरका रूपमा चित्रित गरे। “तेस्रो कार्यकाल मेरा निम्ति चुनौतीपूर्ण अवसर हो। यसलाई हामीले सदुपयोग गर्न सक्नुपर्छ। म एउटा पनि नराम्रो काम नगर्ने र गर्न नदिनेमा सचेत छु, सिंगाे देशले हामीलाई आशाको नजरले हेरिरहेको छ, त्यो आशालाई सम्बोधन गर्न सबै गम्भीर र जिम्मेवार हुनुपर्छ”, प्रधानमन्त्री दाहालले भने।