देवकोटा अहिले भएका भए…

एक पटक यसै शहरमा देवकोटाले भनेका थिए- "हामी राणा शासकहरूको प्रशंसा गर्थ्यौं, अनि तिनीहरू त्यस प्रशंसामा लट्ठिएपछि तिनीहरूलाई सुइरोले च्वास्स घोचिदिन्थ्यौँ।"

कुनै घरभित्र पस्न खोज्छु, एक्कासि त्यसको ढोका थुनिन्छ। त्यस्तै मनस्थिति छ आज। यस शहरमा आज जति एक्लो अनुभव कहिल्यै गरेको थाहा छैन। शहर खोक्रो, मन खोक्रो, सम्बन्ध खोक्रो, कतै भरिने रस सुकेको छ, कतै जोडिने पुल भत्किएको छ। के भएको छ मलाई? अथवा यस शहरलाई? अथवा यो देशलाई? के भएको छ मेरा बुद्धिजीवीहरूलाई? खरिद बिक्रीको आतुरतामा मात्र भेटिन्छ।

आजको दिन त्यस्तो लाग्न नहुने। बत्तीहरूले शहर झिलिमिली भएको छ। त्यस्तोमा अन्धकार देख्नुको अर्थ के छ? अर्थ छैन भने, त्यो देखिन्छ किन? लाग्छ–बत्तीसँगै आधा अँध्यारो छ। बढी बत्ती, बढी अँध्यारो लाग्छ, एउटा सुकुम्वासी मान्छेभित्र मलाई खोजिरहेको छ। घर छैन, शहर छैन, देश? छ, तर अन्योल पनि छ।

दीपावली। मान्छे एउटै कुरालाई पुजिरहेछन्, भजिरहेछन्। आफ्ना दराज-ढुकुटी उघारेर लक्ष्मीका कृत्रिम पाइला त्यहाँसम्म छापिरहेका छन्। हुन सक्छ, कुनै बखत यी पाइलाहरूको आवश्यकता लक्ष्मी आफैलाई पनि परोस्, कमसेकम केही भरिएका ढुकुटीमा पुग्न। जसको ढुकुटी नै छैन, ती यसपछि आफूलाई झन् खाली पाउँछन्। मान्छे किन यस्तो भएको छ? ऊ अब संस्कृतिको भौतिक स्वरूप मात्र वरण गर्न तत्पर छ? अभौतिक संस्कृति ऊ बिर्सँदै छ, आफूलाई बिर्सँदै छ। हराउँदै छ र खोजिरहेको छैन। ऐनामा हेर्दै छ, तर अनुभव गर्दै छैन।

बन मास्नेहरूलाई थाहा छ, कति पानी तिनले मान्छेको तृप्तिबाट सुकाए, कति अक्सिजन मान्छेको फोक्सोबाट ताने? कति सुरक्षा मान्छेको आत्माबाट खोसे? थाहा छैन। काला बजारियाहरूलाई थाहा छ, कति ठूलो छद्म संस्कृतिलाई तिनीहरूले आयात गरेका छन्? थाहा छैन। किनभने यी सब कुराको तात्कालिक परिणाम देखिँदैन।

अहिले थाहा नपाए पनि हुन्छ, अज्ञानको खर्चमा बगली भरिन्छ भने अहिले हानि के छ? तर केही वर्षपछि देश, जुन ठाउँमा, जस्तो भएर उभिएला, हामीले थाहा पाउन बाध्य हुनुपर्छ। किनभने त्यस बखत परिचय हराउने किनारासम्म समाज पुगिसकेको हुन्छ। अथवा यस्तो हुनसक्छ, त्यस बखत हानि गर्ने पुस्ता नरहोस् र एउटा निर्दोष पुस्ताले त्यो सब भोग्नु परोस्, जसको लागि ऊ कहिल्यै तयार थिएन। जसका लागि ऊ कहिल्यै आफ्ना पुर्खालाई माफ गर्न नसक्ला। अथवा आफ्ना पुर्खाका कृत्यका लागि ग्लानि पोख्ला, क्षमा माग्ला।

ओ, फरगिभ मी

 फर द सिन,

आई ह्याभ नट कमिटेड।

के हामी यसप्रति सजग छौं? छैनौँ भने हामी के गरिरहेका छौं? कतिलाई सम्झना छ, कतिलाई दायित्व अनुभव हुन्छ? आज एउटा यस्तो कविको जन्मजयन्ती हो, जसले हाम्रो राष्ट्रलाई एउटा स्वरूप र परिचय दिनुभन्दा ठूलो भूमिका बेहोरेको थियो। एउटा यस्तो प्रतिभा, जसलाई संसारमा हामी गर्वसाथ देखाउन सक्छौँ–लक्ष्मीप्रसाद देवकोटा। तर हामी स्वयं लक्ष्मीप्रसाद देवकोटालाई देख्न सकिरहेका छौं कि छैनौँ? अपदार्थीय संस्कृतिको एउटा खम्बालाई हेर्ने आँखा हामीसित छ कि छैन?

हिजो एक ठाउँमा लक्ष्मी जयन्तीको उपलक्ष्यमा एउटा कार्यक्रम थियो। म गएको थिएँ। धेरै कम मानिसलाई फुर्सद रहेछ। कहाँ जान्छन् मेरा शहरका सहकर्मी, बुद्धिजीवी, साहित्यप्रेमी र सर्जकहरू यस्तो अवसरमा? तिनीहरूलाई त्यस्तो कुन आवश्यक काम परेर आउँछ, ठीक यसै क्षणमा ! भोलि एउटा अर्को ठाउँमा कार्यक्रम छ, हेरूँ के हुन्छ?

राष्ट्रका अनिवार्य तत्त्वहरू हामीले भुलेका रहेछौं। चार वटा कि पाँच वटा मानिन्थे। अब ती पर्याप्त छैनन्। संस्कृति र साहित्यलाई पनि राष्ट्रका अनिवार्य तत्त्वमा सामेल गरिनुपर्छ, यस्तो पनि कोही कोही सोच्दछन्।  अब अरू तत्त्वसहित अस्तित्वमा आएको राष्ट्रमा प्राण सञ्चार गर्ने तत्त्व साहित्य र संस्कृति हुन्।

कुनै पनि राष्ट्र देखाइदिनुस्, जुन साहित्य र संस्कृतिबिना सभ्य र विकसित बनेको होला?

किनभने, हामीले राष्ट्र भनेर चिन्ने र चिनाउने यो आयातित र कृत्रिम अनुकरणका सुविधापरक निर्माणहरू मात्रै होइन, सांस्कृतिक प्रतीकहरू, साहित्यिक सम्पत्तिहरू पनि हुन्।

तपाईँ भन्नुहोला- मन्दिर वा मूर्तिहरू त पदार्थेतर कुरा होइनन्? तर यहाँ यो बिर्सिनु हुँदैन, पदार्थले त्यहाँ पनि आधारको रूपमा काम गरिरहेको हुन्छ। तर हामीले हेर्ने कुराचाहिँ त्यसबाट अभिव्यक्त भएको कला र  त्यसमा बिद्युत्जस्तै दगुरेको इतिहासको प्रवाह हो।

आज पर्यटकहरू यो अद्भुत र रोमाञ्चक भूमिमा आउन लालायित छन् भने त्यसको कारण कि प्रकृति हो, कि शताब्दीयौं अघि यहाँका महान् शिल्पीहरूले अभिव्यक्त गरेका नमुना हुन् कि त हाम्रो देशमा प्राचीन समययता समृद्ध हुँदै आएको जीवनसम्मै अनवरत यात्रा गरेर आएको संस्कृति हो। कि आफ्नो देशको आन्तरिक परिचयसहित उभिएको हाम्रो साहित्य हो। राष्ट्रको जीवनमा, राष्ट्रलाई जोगाउने कुरामा यो पदार्थेतर संस्कृति नै रहेको छ। तैपनि हामी भन्छौँ–देवकोटा केवल साहित्यिकहरूको दायित्व हो। उसो हो भने हामी के गरिरहेका छौं? नेपाली साहित्यमा देवकोटा पहिलो कवि थिए, जसले जीवित लिजेन्डको रूप धारण गर्‍यो।

तर, देवकोटा स्वयंचाहिँ लिजेन्डमा बाँचेनन्, यो कुरा पनि त्यत्तिकै सत्य हो। जुन नजोडिएका किंवदन्ती छन्, ती कविका यथार्थ थिए। समयले गर्दा किंवदन्तीजस्ता लागेका हुन्। अब देवकोटा सय वर्षसम्म पनि जन्मिँदैनन्। एउटा कुरा पक्का हो, देवकोटाको युग आदर्शको निर्माण र त्यसप्रति समर्पणको युग थियो। यो अन्तर देवकोटाको युग र उनीपछिको युगमा सधैँ रहिरहनेछ।

देवकोटा अहिले भएका भए, झनै उकुसमुकुस हुन्थे कि? कारण, उनीसित सबलका रूपमा रहेको आदर्श आज गलेको रूपमा रहन्थ्यो अनि? तर पनि हामी चाहन्छौँ, देवकोटा चाहन्छौँ, यदि पाइने भए। कारण, देवकोटाजस्तो प्रतिभा, त्यस उकुसमुकुसबाट एउटा उचित मार्ग खोज्न सधैँ सक्षम हुन्छ भन्ने हामीलाई विश्वास छ। किनभने उनी हाम्रा सांस्कृतिक 'यात्री' हुन्।

एक पटक यसै शहरमा देवकोटाले भनेका थिए, "हामी राणा शासकहरूको प्रशंसा गर्थ्यौं, अनि तिनीहरू प्रशंसामा लट्ठिएपछि तिनीहरूलाई सुइरोले च्वास्स घोचिदिन्थ्यौँ।" हेर्नुस्, उनले यो बाटो नै खोजेका होइनन् र? आज के कुनै बाटोको खोज वा निर्माण त्यसरी भएको छ साहित्यमा? अथवा हामी यसैगरी 'सन्तुलित विद्रोह'को ढाल भिरेर 'तरबार विहीन योद्धा बन्दै जाने प्रक्रियामा लाग्छौँ? के देवकोटा आज भएको भए यही बाटो देखाउँदा हुन्?

आज सोच्ने हो केही, महान् रूपमा प्रखर एउटा प्रतिभा जन्मेको दिनमा? बत्ती त धेरै बलेको दिन हो यो। एउटा मैनबत्ती उचालेर एक छिन आफैँभित्र हेर्नुपर्छ कि? त्यहाँ के छ? अथवा अँध्यारो छ भने कति छ?

देवकोटाले दुःख पाएर लेखे। केहीको विचार छ–दुःख र गरिबीमा मान्छेको लेखन तीक्ष्ण हुन्छ। तर मैले भनेँ–परिस्थिति परिवर्तित छ। देवकोटाको आदर्श अनुकरण गर्दा यस्तो नहोस् कि साहित्यकार देवकोटाको आदर्श अनुकरण-प्रतिभा समर्पित गर्न नसकेर केवल गरिबी हात परोस्। किनभने गरिबी मात्र एउटा यस्तो कुरा हो, जुन यस देशमा निःशुल्क प्राप्त हुन्छ। नमागेरै वितरित हुन्छ।

आजको विडम्बनापूर्ण युगमा देवकोटालाई हामीले सम्झिनुपर्छ। देवकोटा भएका भए सिकाउँथे—साहित्य केवल साहित्यको उत्तरदायित्व होइन, सबैको कर्तव्य हो। सरकार र नागरिक दुवैको। तर यो कर्तव्यपालन कति भइरहेको छ?

मैले देवकोटा सम्झेँ। आजको मेरो मनस्थिति झिलिमिलीले नभएर झिलिमिलीको पारि बाफिएको आत्माको अँध्यारोले गर्दा हो। एउटा यस्तो महान् प्रतिभालाई सम्झनुले केही माने राख्छ, जसले यस्ता अँध्यारोविरुद्ध लडेर जीवन बितायो, एउटा यस्तो समयबाट, जहाँ लड्नु अनिवार्य नियति भएको थियो। अनि यस्तो सम्झनुको एउटा माने यो पनि हुन्छ कि मनमा विषाद पनि भरिन पुग्छ। माथिको मेरो मनस्थिति देवकोटा र आजको समयलाई सम्झनुको परिणाम हो। अँजुलीमा स्वप्नपुष्पहरू थोरै छन् भने भग्नताका सिस्नुहरू पनि श्रद्धाञ्जलीकै प्रतीक बन्न सक्दैनन्?

(लेखक गौतमको हालै प्रकाशित 'यी फूलहरू कहाँ राखूँ'बाट साभार। यो आलेख २०४० सालमा साप्ताहिक मञ्चमा पहिलो पटक प्रकाशित भएको थियो।)