आज बिहान कुकुर तिहार, साँझ लक्ष्मी पूजा

कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हुँदा बिहान कुकुर पूजा र साँझ लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

काठमाडौँ- आज सोमबार घरघरमा कुकुरलाई पूजा गरी कुकुर तिहार मनाइँदैछ। तिथि घटबढका कारण यसपटक कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ। बिहान कुकुर तिहार र साँझ लक्ष्मी पूजा मनाइनेछ।

कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन्।

कात्तिक  कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए।

वैवस्वतः मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ। कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ।

आज बिहानै अरूणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधि रहेको धर्मशास्त्रविद् बताउँछन्। यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ।

तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मी पूजा गरिन्छ। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाई गरी दीपावली गरिन्छ।

लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ।