लगातार तेस्रो हारपछि चौँथो स्थानमा झर्‍यो लिभरपुल

लिभरपुल इंग्लिश प्रिमियर लिगमा लगातार तीन खेलमा पराजित भएपछि अंक तालिकाको चौँथो स्थानमा खस्केको छ। च्याम्पियन्स लिगमा समेत गरी लिभरपुल लगातार चार खेलमा पराजित भएको छ।

काठमाडौँ- इंग्लिश प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार रातिको खेलमा लिभरपुल म्यानचेस्टर युनाइटेडसँग २-१ गोलले पराजित भएको छ। योसँगै लिभरपुलले ईपीएलका अन्तिम तीन खेलमा लगातार हार बेहोरेको छ।

समग्रमा भने लिभरपुलको यो लगातार चौँथो हार हो। ईपीएलमा क्रिस्टल प्यालेससँग पहिलो हार बेहोरेको लिभरपुलले त्यसपछि च्याम्पियन्स लिगअन्तर्गत गालाटासरेसँग हारेको थियो। ईपीएलमै चेल्सीसँग २-१ ले नै पराजित भएपछि अर्को खेलमा म्यान्चेस्टरसँग हारेको हो।

हिजोको खेलमा दोस्रो मिनेटमा नै गोल गरेर म्यान्युले लिभरपुलको घरेलु मैदानमा अग्रता लिएको थियो। म्यान्युका लागि ब्रियान बेउमोले गोल गरेका थिए। ७८औँ मनेटमा कोडी ग्याक्पोले गोल गरेर लिभरपुललाई खेलमा फर्काएका थिए। तर ह्यारी म्यागुरेले ८४औँ मिनेटमा गोल गरेर म्यान्युलाई जित दिलाए। 

जितसँगै आठ खेलबाट १३ अंक जोडेको म्यान्यु नवौँ स्थानमा उक्लिएको छ।  उति नै खेल खेलेको लिभरपुल १५ अंकसहित चौँथो स्थानमा झरेको छ। १९ अंकसहित आर्सनल अंक तालिकाको शीर्ष स्थानमा छ।

हिजोकै खेलमा टोटेनहम हस्परलाई एस्टन भिल्लाले २-१ गोलले नै पराजित गरेको छ। अंक तालिकामा टोटेनहम छैटौँ स्थानमा र एस्टन भिल्ला ११औँ स्थानमा छन्।