नेपाल टी२० लिग : काठमाडौँलाई हराउँदै विराटनगर प्लेअफमा

१० खेलमा ५ जित निकाल्दै विराटनगर १० अंकका साथ नेपाल टी२० लिगको प्लेअफ पुगेको छ। समान खेलमा ४ जित निकालेको काठमाडौँको ८ अंक छ।

काठमाडौँ– काठमाडौँ नाइट्सलाई ७ विकेटले पराजित गर्दै विराटनगर सुपर किंग्स नेपाल टी२० लिगको प्लेअफमा पुगेको छ।

त्रिवि क्रिकेट मैदानमा शनिबार टस जितेर ब्याटिङ थालेको काठमाडौँले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएकाे थियाे। १५५ रनको विजयी लक्ष्य विराटनगरले १८.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो। विराटनगरलाई जित दिलाउन कप्तान रोहित पौडेलले सर्वाधिक ६६ रन बनाए। उनले ४२ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका थिए। 

यस्तै गौरान्सु शर्मा ५१ रनमा अविजित रहे। उनले ४९ बलमा चार चौका प्रहार गरे। हुसेन टलत २१ रनमा पभेलियन फर्कँदा विवेक यादव १० रनमा अविजित रहे।ओपनर अर्जुन साउद १० रनमा आउट भए।  काठमाडौँका अविनाश बोहराले २ विकेट लिए। यसअघि, काठमाडौँका ओपनर सन्तोष कार्की र एलेक्स ब्लेकले समान ३४ रन बनाएका थिए।

कप्तान ज्ञानेन्द्र मल्ल २२ र वसिर अहमद १७ रनमा अविजित रहे। सन्दीप रजाली ३० रनमा आउट भए। विराटनगरका राज ननन्ले सर्वाधिक ४ विकेट लिए। नन्दन यादव र कप्तान रोहित पौडेलले १/१ विकेट लिए।

विराटनगर १० खेलमा ५ जित निकाल्दै १० अंकका साथ प्लेअफ पुगेको हो। समान खेलमा ४ जित निकालेको काठमाडौँको ८ अंक छ।