संसदीय व्यवस्थाका लाजहरू

रवि लामिछाने नै देशका सबै दुःखको रामवाण-ओखती हो कि भन्ने पनि कैयनलाई पर्‍यो। तिनै रवि फेरि 'नट अगेन' अनुहारमध्ये नै एक प्रचण्डकै नेतृत्वमा उपप्रधानमन्त्री तथा गृहमन्त्री खान आइपुगेका छन्।

नेपालमा संसदीय व्यवस्था चरम संकटको चरणबाट गुज्रिरहेको छ। संकटका लक्षणहरू जनसाधारणले समेत महसुस हुने गरी प्रकट भइरहेका छन्। भर्खरै सरकार बन्ने क्रममा भएका अनौठा गतिविधिबारे सार्वजनिक यातायात, चिया पसल, भट्टी एवम् राजनीतिमा खासै वास्ता नराख्ने मानिसबीच समेत हाँसीमजाकको विषय बन्यो।

निर्वाचनको समयमा बनेका घोषित/अघोषित गठबन्धन, विभिन्न दलका घोषणापत्र, प्रतिगमन र अग्रगमनका गन्थन, २०औँ वर्ष गठबन्धन कायम राख्ने वाचा एक–दुई घण्टामै कसरी सिसाको घरझैँ झर्‍यामझुरुम फुट्यो भनेर नागरिकले आश्चर्यचकित भएर हेरिरहे। नेता भनेका इमान/जमान सकिएका र कूल जनसंख्याभित्रका सबभन्दा भरोसा गर्न नमिल्ने 'जिनिस' हुन् भन्नेमा सर्वसाधारण झनै प्रष्ट भए।

पत्रिकाका प्रथम पृष्ठमा ठूला फोटा छापिने नेताहरूले नै व्यक्तिगत स्वार्थका लागि जे पनि हुन्छ भन्ने अनि स्वार्थ पूरा हुनासाथ त्यसलाई कुल्चने कर्म फेरि दोहोर्‍याए। आलोपालो सत्ता-भोग गर्नेबारे यस प्रकारका सहमति सबैले लत्त्याएको देखियो। त्यसरी लत्त्याउँदा कुनै पनि पार्टीको कुनै पनि स्तरको नेता या कार्यकर्ताले आफ्नो नेताको त्यस खाले बेइमानीको विरोध गरेन। अलिकति पनि लाज मानेनन्, बरु आफ्नो नेता धेरै चलाख भएर अर्कोलाई थाङ्नामा सुताउन सफल भएको भन्दै मख्ख परे। 

अघिल्लोपल्ट माओवादी केन्द्र र एमालेले पार्टी एकता नै गरे। केपी ओलीले बकाइदा लिखितम् नै गरेर प्रचण्डलाई आधा अवधि पछि प्रधानमन्त्री खान दिने सहमति गरे। समय आएपछि प्रचण्डले स्वाभाविक रूपमा 'मैले प्रधानमन्त्री पाउनु पर्‍यो' भनेर माग गरे। तर, केपी ओलीले सुन्दै सुनेनन्। उनले इमान, जमान र लाज केही पनि सम्झेनन्। ओलीपछि लाइनमा उभिएका एमालेका 'हार्डकोर'ले पनि लाज मानेनन्। त्यसपछि पार्टीभित्र अन्तर्विरोध चर्कियो।

त्यही सनकमा केपी ओलीलाई संसद् घाँडो लाग्यो। राष्ट्रपति निवासमा केपी ओलीको छाया थियो। उनले छायाको भ्याएसम्म उपयोग गरे। राष्ट्रपति भनिने संस्थाले पनि लाज मान्ने कुरै भएन, मानेन। संसद् विघटन गरियो। अदालतले ब्युँतायो। अनि अग्रगमन र प्रतिगमनको कुरा उठ्यो। केपी ओलीको कदम प्रतिगमनतिरकै यात्रा थियो। तर, प्रचण्डलाई प्रतिगमनले पोलेको थिएन, प्रधानमन्त्रीको पदले थियो। आफूले प्रधानमन्त्री नपाउने भएपछि केपी ओलीलाई देखाइदिन प्रचण्डलाई मन लाग्यो। 

यहीबीचमा अदालतले एमाले र माओवादी एक भएकै थाहा नभएको फैसला सुनायो। अदालतको आदेशले नेकपा भनिएको पार्टी फुट्यो। पेरिसडाँडामै फालेर हिँडेको माओवाद प्रचण्डले फेरि टपक्क टिपे। धूलो टकटक्याए अनि 'मार्क्सवादी-लेनिनवादी'बाट एकाएक फेरि पहिलेकै माओवादी बनिहाले। यसो गर्दा न प्रचण्डलाई लाज लाग्यो न त उनको पार्टीका युवा या प्रौढ कुनै नेतालाई लाज लाग्यो। लाज लजाएर हेरेको हेरै भयो। प्रचण्डहरूले लुगा फेरे र पुनः आफूहरू माओवादी भएको गफ छाँटे। सोझासाझाले पत्याइहाले! एउटै कम्युनिस्ट केन्द्र बनाउने गफ सिरानी हालेर भुसुक्क निदायो।

त्यसपछि माओवादी र कांग्रेसको 'इल्लुइल्लु' चल्यो। उनीहरूको गठबन्धनलाई संसारकै अप्रतिम बनाउने कसमहरू खाइए। एमालेले प्रदेश सरकारहरूबाट पनि हात धोयो। बालुवाटारमा सरकारी हिटर तापेर बसेका केपी ओली बालकोटको बार्दलीमा ओइलाउँदो घाम ताप्न पुगे। बार्दलीमा बसेर फेरि पनि उनी राजनीतिको जोखना हेर्न थाले। फेरि चुनाव आयो। आफ्नो गृहक्षेत्रबाट पनि डराएर प्रचण्ड गोरखा पुगे। बाबुरामले महान् त्यागको घोषणा गरे। 

पुराना सबै नेताहरूलाई निमिट्यान्न पार्ने 'नो नट अगेन'को उद्घोषसहित युट्युब र टेलिभिजनका भाइरल दाइ, रवि लामिछाने घण्टी हल्लाउँदै चितवन झरे। रवि लामिछाने नै देशका सबै दुःखहरूको रामवाण-ओखती हो कि भन्ने पनि कैयनलाई पर्‍यो। अहिले आएर तिनै रवि फेरि 'नट अगेन' अनुहारमध्ये नै एक प्रचण्डकै नेतृत्वमा उपप्रधानमन्त्री तथा गृहमन्त्री खान आइपुगेका छन्। उनलाई पनि हाताहाती सत्ता चाहिएको रहेछ। अझ गृह नै। खुब अर्थ राख्छ यो गृहले। सबैलाई थाहा छ तर कोही बोल्दैन। 

उता शेरबहादुरले निर्वाचनपछि पहिलो चरण प्रचण्डलाई प्रधानमन्त्री दिने बाचा गरेका रहेछन्। लिखितमा थियो कि थिएन, प्रचण्ड र शेरबहादुरहरू जानून। कांग्रेसभित्र कम्युनिस्टको 'क' पनि गन्हाउने समूह छँदै छ।  कम्युनिस्ट भनेपछि अमेरिकाले जुन तरिकाले सोच्छ, ठ्याक्कै हुबहु त्यसैगरी सोच्ने समूह हो त्यो। उक्त समूहले आफूलाई सगौरव 'काला कांग्रेस' भनेर भन्छ। हो, त्यो समूह चुनावमा पनि माओवादीसँग मिल्नु हुँदैन भन्नेमा थियो। त्यसको जोडबल नलागेर मात्र कांग्रेस र माओवादीको गठबन्धन बनेको थियो। धेरैलाई के थाहा छ भने गत निर्वाचनमा त्यस समूहले अधिकांश स्थानमा माओवादी समूहलाई भोट हालेन। अझ त्यसले धेरैजसो स्थानमा कतै राप्रपा र कतै रवि लामिछानेको दललाई भोट हाल्यो।

सरकार गठनको हिसाब-किताब शुरू भएपछि प्रचण्डले स्वाभाविक रूपमा पूर्वसहमतिअनुसार कांग्रेससँग प्रधानमन्त्री मागे। जम्मा ३२ सिटमा खुम्चिएको पार्टीले प्रधानमन्त्री माग्नु लाज लाग्ने कुरा त थियो नै। तर, लोकतन्त्रको सुन्दर पक्ष के थियो भने त्यहाँ लाज मान्न पाइन्नथ्यो। जसअनुसार लाजलाई अन्यत्रै 'दफन' गरेर माओवादीले प्रधानमन्त्री माग्यो। उता पूर्वसहमतिअनुसार कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री दिनुपर्ने हुन्थ्यो। तर, दिएन। किन दिएन भने लोकतन्त्रको सौन्दर्य तथा सोमतभित्र इमान-जमान भन्ने शब्दै हुँदैनथ्यो। त्यो कुरा कांग्रेसको एक्लो लाज थिएन किनभने कांग्रेस भन्नु नै लोकतन्त्रको जन्मजात अधिकारी थियो र ऊभित्र ती विशेषता हुनु अनिवार्य थियो।

सहमति उल्लंघनले उखरमाउलोमा परेका प्रचण्डलाई त्यति बेला दिल खुस भयो, जब बालकोटबाट 'आइ लभ यु'को फोन आयो। बालकोटको फोनले वायुको गतिमा बालकोट पुगिसकेका प्रचण्डलाई शेरबहादुरले आफ्नो वरिपरिको घेराबन्दी तोडेर, आरजुको आतंकबाट समेत मुक्त बनेर जब फेरि प्रचण्डलाई नै प्रधानमन्त्री दिन्छु भन्दै फोन गरे , त्यतिबेला लगन घर्किसकेको थियो, बालकोटको बार्दलीबाट प्रचण्ड र केपी ओलीले लैला मजनू बनेर हात हल्लाइसकेका थिए। तब प्रचण्डले शेरबहादुरलाई जवाफ दिए, "अब तपाईं एक्स बेस्टफ्रेन्ड भइसक्नु भयो यार!"

एकाध घण्टामा कुरा कताबाट कता पुग्यो। कताको पिरती कता जोडियो। कता हिँड्न खोजेको, बाटै मोडियो। देश-दुनियाँले जिब्रो टोके। तर देउवा-दाहालको दैनिकी भाँड्न सफल भइसकेपछि विजयी कांग्रेसहरू विजयी मुडमा देखिए। लिटरेचर फेस्टिभलमा पुगेर तिनले लुँडो खेलमा ९९ पुगेपछि सर्पले निलेर एकमा झरेको कुरा सुनाउँदै मखलेल परे। हल बाँधेर पुगेका कांग्रेसभित्रका उदयमानहरूलाई यसो गर्न कुनै लाज लागेन। किनभने उनीहरूले पनि लाज मान्न वर्जित थियो। परिस्थिति कस्तो बन्यो भने लाज पचाउन बानी परेकाहरूका चर्तिकला हेर्दा हेर्दा दर्शकहरूको लाज मान्ने ग्रन्थि पनि ड्यामेज् भयो र लाज मान्न छोड्यो। लाज घिनमा पनि आनन्द मान्ने लोकतन्त्रको सोमत सत्ताबाट सल्केर जनस्तरसम्मै पुग्यो।

पार्टी एकताकै कुरा गरिरहेका प्रचण्ड माधव नेपाललाई भुसुक्कै भुलेर बालकोटमा पुग्दा फिटिक्कै लाज लागेन। एक वर्षभन्दा बढी समयदेखि भोका कुकुरझैँ जुधिरहेका एमाले र माओवादीहरूलाई अब कसरी हात मिलाउने होला भन्ने सम्झँदा कुनै लाज लागेन। चाटाचाट गर्दागर्दै काटाकाट गर्न र काटाकाट गर्दागर्दै फेरि चाटाचाट गर्ने बानी पारिसकेकाहरू थिए यी। मान्छेभन्दा बाहेक कुनै अन्य जीवजन्तुलाई नाङ्गै हुँदा लाज लाग्दैन। नेपाली संसद्वादीहरू पनि जनसामान्यहरू भन्दा माथि उठेर लाज नलाग्ने स्तरमा विकसित भइसकेका छन्।

जनतालाई भने संसदीय व्यवस्थाका लाजहरूले हैरान र परेसान बनाएको छ। बिहान-बिहानै लाजमर्दा दृश्यहरू हेर्नुपर्छ। निर्लज्जहरूका अश्लील गफहरू सुन्नुपर्छ। लाज पचेकाहरू सडकमा साइरन बजाउँदै दौडेको सहनुपर्छ। बिहान उठेदेखि राति नसुतुन्जेल अश्लीलता नै अश्लीलता बेहोर्नु परेर हामीहरू पनि लोकतन्त्रको सौन्दर्यका पारखी हुने हौँ कि भन्ने डरै डर छ। यो व्यवस्था रहुन्जेल यो लाजको राज रहिरहने हुनाले हामीसँग एउटै उपाय छ- कि त लाज पचाउन तयार हुने कि त लाज पचेको व्यवस्थासहित लाज परेकाहरूलाई राजनीतिबाट अवकाश दिने तयारी गर्ने।

लाजै लजाएर कुना पस्यो लाज मान्ने कसले हो !
लाजलाई नै गौरव मान्छन् लाज मान्ने जसले हो !!


तिमल्सिना वामपन्थी कवि हुन्।