विपिन जोशीको आज अन्त्येष्टि गरिँदै, शोकमा मालिकार्जुन टोल

नेपाली सेनाको सहयोगमा सोमबार साँझ कञ्चनपुर पुर्‍याएर परिवारलाई विपिन जोशीको शव जिम्मा लगाइएको थियो। शव जिम्मा लगाउन इजरायली दूतावासका अधिकारी पनि कञ्चनपुर पुगेका थिए।

तस्वीर: रासस

काठमाडौँ- इजरायलमा हत्या गरिएका विपिन जोशीको मंगलबार कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिँदै छ। उनको शव काठमाडौँबाट सोमबार नै नेपाली सेनाको स्काइ ट्रकमार्फत धनगढी र त्यहाँबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्‍याइएको थियो।

सोमबार इजरायलबाट काठमाडौँ ल्याइएको शव त्यही दिन कञ्चनपुर पुर्याइएको हो। मंगलबार अन्त्येष्टिअघि बिहान ८ बजे शवयात्रा शुरू हुनेछ। त्यसपछि महाकाली नदीको भुजेला घाटमा पुर्‍याएर अन्त्येष्टि गरिनेछ।

विपिनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारी विपिनको घरसम्म पुगेका थिए। सोमबार बेलुकी तिहारको रौनक चलिरहँदा कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित मालिकार्जुन टोल पुर्‍याइएको थियो। त्यसपछि पूरै टोल शोकमा डुबेको थियो।

दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायल गएका विपिन हमासले इजरायलमा आक्रमण गरेपछि अपहरणमा परेका थिए। उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० विद्यार्थीको मृत्यु भएको थियो।

हमासको नियन्त्रणमा रहेका कतिपय बन्धक सकुशल रिहा भए पनि उनी फिर्ता हुन सकेनन्। इजरायल र हामासबीच युद्धबिराम भएपछि विपिनको मृत्यु भएको पुष्टि भएको थियो। अपरहणको करिब दुई वर्षपछि उनको शव नेपाल आइपुगेको हो।

विपिनकी आमा पद्मा र बहिनी पुष्पा उनको सकुशल रिहाइका लागि  इजरायल, अमेरिकासम्म पुगे, तर विपिनको परिवारसँगै सबैतिरबाट रिहाइका लागि भएको प्रयास सार्थक हुन सकेन। केही दिनअघि मात्रै हमासले विपिन जीवित नरहेको सार्वजनिक गरे पनि सोमबार बिहानसम्म आमा पद्मालाई विपिनको अवस्थाबारे जानकारी दिइएको थिएन। बहिनी पुष्पाले दाइको निधनको खबरले आधिकारिता पाएपछि घरमा तिहारका लागि तयार पारिएका सयपत्री फूल उखेलेकी जोशी परिवारको भनाइ छ।

"बहिनी पुष्पा यसपाली भाइटीकामा दाजुसित भेट हुनेछ भन्ने आशामा थिइन्," परिवारका सदस्य किशोर जोशीले भने, "लक्ष्मीपूजाका दिन विपिनको शव आँगनमा आइपुग्दा परिवार शोकमा डुबेको छ।" दुई वर्षदेखि विपिन आउने प्रतिक्षामा रहेको जोशी परिवार सम्हालिन सकेका छैनन्।

रासससमेतको सहयोगमा