नेताहरूका प्रिय लेखक

गिरिजाप्रसादको अगाथा क्रिष्टी, मनमोहनको टल्सटाय, कृष्णप्रसादको दोस्तोएब्स्की, गणशेमानको बीपी (भिडियोसहित)

संग्रौला र माथेमाले ध्रुवचन्द्र गौतमको नयाँ कृतिको समीक्षामा ‘हाम्रा राजनेताहरू सधैँ शुष्क, अपठित र लठ्ठक होलान् भनेको, हामी गलत रहेछौँ’ भन्दै गौतमले अर्को ‘आविष्कारी’ काम गरेको अनुभव सुनाए।

काठमाडौँ— ‘जहाँ प्रयोग छैन, त्यहाँ ध्रुवचन्द्र छैन’ भनेर स्वघोषणा गरिसकेका लेखक ध्रुवचन्द्र गौतमले योपटक लेखनमा नौलो इतिहास उधिनेका छन्, जहाँ नेपालको राजनीतिमा ऐतिहासिक योगदान भएका नेताहरूले रोजेका पुस्तक र लेखकको झलक पाउन सकिन्छ।

आफू २७ वर्षको छँदा २०२७ सालदेखि लेखिएका छिटफुट रचना र त्यस बेलाका सक्रिय राजनीतिक नेताहरू, गायक, साहित्यकार, कलाकार, चिकित्सक, समाजसेवीसहितको अन्तर्वार्ता संकलित ‘यी फूलहरू म कहाँ राखूँ’ कृतिमार्फत गौतमले ल्याएको सोधखोजमा निकै रोचक लाग्ने पठन सामग्री छन्। लेखक खगेन्द्र संग्रौला र शिक्षाविद् केदारभक्त माथेमाले यस कृतिको समीक्षामा ‘हाम्रा राजनेताहरू सधैँ शुष्क, अपठित र लठ्ठक होलान् भनेको, त्यसो होइन रहेछ। हामी गलत रहेछौँ’ भन्दै गौतमले अर्को ‘आविष्कारी’ काम गरेको अनुभव सुनाए।

nullडा. खुमनारायण पौडेल र इशान गौतमले सम्पादन गरेको कृतिलाई स्वयं लेखक  ध्रुवचन्द्रले भने ‘नाख्यान विधा’ नामकरण गरेका छन्। “नन–फिक्सन र आख्यानको संयोजन भएकाले यो कृतिलाई नाख्यान भनेको छु। विगतमा अनुभवन्यास र सूत्र–कथाको विधागत प्रयोग गरेझैँ अहिले नाख्यान आएको हो,” गौतम भन्छन्।

नेता गिरिजाप्रसाद कोइरालाले रोमारोँला, एमिल जोला, पर्ल एस. बक, सिग्मन्ड फ्राइड, अगाधा क्रिष्टी, बीपी कोइराला आदि पढ्ने गरेको विवरण गौतमले २०४४ सालमा कोइरालासँग लिइएको अन्र्तवार्तामा उल्लेख गरेका छन्। गिरिजालाई अन्तर्वार्ताकार गौतमले ‘साहित्यकारको मूल्यांकन तपाईं कसरी गर्नुहुन्छ?’ भनी राखेको जिज्ञासामा आफूले साहित्यकारलाई असाध्य आदर गर्ने भन्दै एउटा घटना सुनाएका छन्। 

“बीपी प्रधानमन्त्री हुँदा देवकोटा क्यान्सरग्रस्त हुनुभयो। उहाँ (बीपी)ले मलाई पठाउनुभयो, म गएँ। पछि उहाँ पनि जानुभयो। देवकोटालाई एउटै मात्र चिन्ता थियो— मपछि मेरो परिवारको के होला? बीपीले आश्वासन दिनुभयो— म गर्छु। पछि गर्नु पनि भयो। तर यहाँ यस्तो पनि भएको छ कि, लेखनाथको रथ तान्ने त्यत्रो भव्य समारोह भएपछि उहाँ लुरुलुरु हिँडेर घर फर्किनुभयो। त्यस्तै अवस्थामा मैले उहाँलाई भेटेको थिएँ, त्यस्तो हुनुहुँदैन,” गिरिजाले भनेका छन्।

केदारभक्त माथेमानेता गणेशमान सिंहसँग २०४३ सालमा गरिएको कुराकानीमा उनले सिद्धिचरण श्रेष्ठ, बीपी कोइरालाका रचना आफूलाई मन परेको बताएका छन्। आफूले कुनैबेला ‘युगवाणी’ पत्रिकामा व्यंग्य (स्तम्भ) लेख्ने गरेको पनि गणेशमानले खुलाएका छन्। उनले भनेका छन्, “सिद्धिचरणको मेरो प्यारो ओखलढुंगा टाइपको कविता म बुझ्छु, तर मोहन कोइराला आदिको कविता म बुझ्दिनँ।”

कम्युनिष्ट नेता मनमोहन अधिकारीसँग विराटनगर पुगेर २०४२ सालमा लिइएको अन्तर्वार्तामा अधिकारीले आफूले हिन्दी अनुवादमा गोर्की, टल्सटाय, मोपाँसा, प्रेमचन्द, बङकिमचन्द्र, मिखाइल सोलोकोभ आदि पढ्ने गरेको बताएका छन्। उनले आफूलाई शरतचन्द्रको ‘शेष प्रश्न’, नेहरूको ‘माई स्टोरी’, राधाकृष्णननको भारतीय दर्शनको इतिहास आदि कृतिले निकै प्रभाव पारेको बताएका छन्। 

आफूले एकदुई कहानी मात्रै लेख्न सकेको (रिक्सावाला टाइटल) सन्दर्भसहित ‘मलाई कुनै कुराको अपसोच छैन, एक्सेप्ट साहित्यको रसस्वादन गर्न पाइनँ भन्ने। म साहित्यमा लागेको भए क्रिटिक हुन्थेँ होला, क्रिएटिभ होइन’ भनेर नेता अधिकारीले सुनाएका छन्। आधुनिक नेपाली साहित्यको सन्दर्भमा राखिएको जिज्ञासामा उनी भन्छन्, “मलाई यही गुनासो छ कि ध्रुवजी, एक मोहोर पैसो र एक माना चामल (जेल)ले बुद्धि कुण्ठित पार्न खोज्छ। पुराना लेखक बल्लबल्ल पढ्न पाएँ। आधुनिक त हेर्न पाएकै छैन। आइ एम इन्ट्रेस्टेड!”

ध्रुवचन्द्र गौतमगौतमले नेता बीपी कोइरालासँग बनारसको मामुरगन्जमा भएको भेटवार्ता र बालकृष्ण सम, पारिजात, प्रेमा शाह, भूपी शेरचन, द्वारिका श्रेष्ठ, कृष्णचन्द्रसिंह प्रधान, ईश्वरबल्लभ, फणिन्द्रराज खेताला, सिद्धिचरण श्रेष्ठ, सुनिल गङ्गोपाध्याय, निर्मल वर्मा, कमलमणि दीक्षित, मनु ब्राजाकी, माइकल हटलगायतका लेखकहरूसँगको संवाद, उठबस र अन्तरंग भोगाइलाई लेखनमा उतारेका छन्।

२०३५ सालमा गौतमले कलाकार–साहित्यकार बालकृष्ण समसँग लिएको अन्तर्वार्तामा समले ‘आफू कला विधामा अधुरै रहेको’ स्वीकार गरेका छन्। “साहित्यमा कहिले लेखनाथ मनपर्छ भने, कहिले वाल्ट ह्वीटमेन। साँच्चै भन्ने हो भने मेरो स्टाइल राफेलजस्तो छ। हाल कार्यरत जेनेरेसनसँग म सन्तुष्ट छैन। पेन्टिङ गर्न खास अगाडि आएका छैनन्। माइकल एन्जेलोको आर्थिक अवस्था कुनै खास राम्रो थिएन, तर उनले गरे। मोजेजको चित्र बनाउँदा स्पिक मोजेज भनेर भन्दा चित्र नबोल्दा छिनोले चित्रलाई हिर्काइ ढाले र तीन महिनासम्म बिरामी परे। मलाई लाग्छ, हाम्रो पनि कुनै त्यस्तो मानिस होस्। लेखनमा सिथिलता भएको जस्तो लाग्छ। होला–होलाजस्तो लाग्छ, तर पछि सेलाएर जान्छ,” समको जवाफ छ।

खगेन्द्र संग्रौलागौतमको कृति ‘यी फूलहरू म कहाँ राखूँ’ पढेर लेखक संग्रौला र माथेमाले पाएको तत्वज्ञान भने समान देखिन्छ। उकालो संवादमा आएका यी पाठकद्वयले ‘गिरिजाप्रसाद कोइरालासँगको संवाद पढेपछि गिरिजाको नयाँ अवतार फेला पारेको’ बताएका छन्।

“गिरिजाप्रसादलाई आफ्नै पार्टी–पंक्तिभित्र हवल्दार भनिन्थ्यो। लठ्ठक र निरस भनिन्थ्यो। अझ बीपीले नै आफ्नै भाइलाई हवल्दार र मुर्ख भनेका छन्। हामीले चिनिरहेको, सुनिरहेको त्यो गिरिजा चाहीँ अध्यनशील, ज्ञानसम्पन्न र रसिकजस्तो कहिल्यै लागेको थिएन। किनभने त्यस्तै बिम्ब निर्माण गरिएको थियो,” समीक्षक अवतारमा संग्रौला भन्छन्, “तर यतिका पछि गिरिजा, मनमोहनहरूले पढ्ने किताबको सूची देखेर उल्का लागेको छ।”

भिडियो

नमन् सतत साहित्यकार!

Amod Mani Dixit

4 weeks ago