आजबाट नेवार समुदायले मनाउने नेपाल सम्वतको नयाँ वर्ष शुरू भएको छ। त्यसैगरी, आजै गोरु तिहार र म्ह: पूजा पनि परेका छन्।
काठमाडौँ- नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने नेपाल सम्वत ११४६ आज बुधबारबाट शरू भएको छ।
राष्ट्रिय विभूति शंखधर साःख्वाले विक्रम सम्बत ९३७ (सन् ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वतको शुरूआत गरेका थिए। नेपाल सम्बतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति पनि रहेका इतिहासकार डा. त्रिरत्न मानन्धरको भनाइ छ।
"लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरू भएको नेपाल सम्वत पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्वतका रुपमा चलेको थियो, लिच्छविकालअघि शक सम्वत प्रचलनमा थियो। नेपाल देशको नामबाट राखिएकाले यो मौलिक सम्वत हो," उनले भने।
२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि नै नेपाल सम्वतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो। नेपाल सम्वतलाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले विशेष रूपमा मनाउने गर्छन्।
गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वतसमेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साःख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए।
२०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए। कार्तिक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरूआत गर्ने परम्परा समेत काठमाडौंमा अझै छ।
आजै गोरु तिहार
कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चकको चौँथो दिन आज गोरु तिहार मनाइँदैछ। वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई आज पूजाआजा गरी मीठा खानेकुरा खान दिने प्रचलन छ। गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ।
आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ। द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो। गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
नेवार समुदायले म्ह:पूजा गर्दै
कात्तिक शुक्ल प्रतिपदाका दिन आजै नेवार समुदायले म्हः (आफूले आफैलाई) पूजा गरेर मनाउँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन आत्म (म्हः) पूजा गर्ने चलन छ।
मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्। आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ।
यही शास्त्रीय मान्यता र विश्वासका आधारमा आत्म (म्हः) पूजा गर्ने परम्परा बसेको हो। यो पर्व नेवारी समुदायको बाहुल्यता रहेको काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, चौतारा, धनकुटालगायत स्थानमा मनाउने गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
