पूर्वी पहाडमा तिहार सम्झाउने देउसी गीत– सिमल बारुलै

‘सिमल बारूलै’ पूर्वेली देउसी लोकनाचमा प्रयोग हुने एक थेगो भएको र यसले एक प्रजातिको बारुला सम्झाउने गायक नवीनकुमार खड्का बताउँछन्। यो बारुलालाई स्थानीयले सुन बारुला भनेर पनि चिन्छन्।

काठमाडौँ— तिहारले छपक्कै छोप्दा कसैको घरमा भैलो गुञ्जिन्छ, कसैको घरमा देउसी। पूर्वी नेपालका केही जिल्लामा भने तब तिहार आउँछ, जब गाउँमा सिमल बारुलै गीत गुञ्जिन्छ।

ढकमा र मक फुलैमा र फुल्यो सिमल बारूलै
फूलबारी हजुर बगानमा सिमल बारुलै
नाचने र आयौँ खेलने र आयौँ सिमल बारुलै
लक्ष्मी हजुर आँगनमा सिमल बारूलै

पूर्वी नेपालका खोटाङ, संखुवासभा, भोजपुर, धनकुटालगायत जिल्लामा गायक नवीनकुमार खड्काको सिमल बारुलै गीतले तिहार आएको अनुभूति दिन्छ। उक्त गीतको संयोजन पनि नवीनले नै गरेका हुन् भने स्वर नवीनसहित पुस्तका खड्का, बलराम समालले दिएका छन्।

सिमल बारुलै गीत फरक फरक शैलीमा पनि छन्। कतिपय गायकले फरक तरिकाले गाएका छन्। तर यो भाकालाई उजागर गरेर लोकप्रिय बनाउने श्रेय अरूण उपत्यका सांस्कृतिक अनुसन्धान केन्द्र र गायक नवीनकुमार खड्काको समूहलाई जान्छ।

nullखड्काले २०४० सालमा अरुण उपत्यकाबाट संकलन गरेको यो भाका २०६० सालमा म्युजिक नेपालमा रेकर्ड गराएका थिए। पछिल्ला हरेक वर्ष तिहारमा यो भाका नेपालसहित दार्जीलिङ पहाड, सिक्किम, भुटान, आसामसहित नेपाली भाषी बसोबास गर्ने क्षेत्रमा गुञ्जन्छ।

यद्यपि, खड्का देउसीलाई गाउने र नाच्ने नभएर खेल्ने उत्सव भन्छन्। यो खेल वर्षैंदेखि पूर्वी नेपालका गाउँहरूमा खेलिँदै आएको उनको भनाइ छ।

खड्काको भनाइमा, देउसी प्रचलन मगर समुदायबाट आएको हो। पछि किरात, खम्बु र अन्य जातिहरूले पनि यसलाई अपनाउँदै गए। “जे राम्रो हुन्छ, त्यो फैलिन्छ,” उनी भन्छन्, “मगरले शुरू गरेको यो परम्परा पछि अरू समुदायमा पनि फैलियो।”

सिमल बारुलै भने मौलिक लोकभाका हो, जुन विषेश क्षेत्रमा मात्रै पाइन्छ। भोजपुर जिल्लाको उत्तरपूर्वी र पूर्वदक्षिण पाटो याङपाङ, दिङ्ला, चरम्बी, पौवा दुङ्मा, प्याउली, खेसाङ र संखुवासभाका विभिन्न ठाउँमा यो भाका प्रचलित रहेको खड्का बताउँछन्।

यसको शुरूआत मगर जातिबाट भएर किरात खम्बु जाति हुँदै अन्य समुदायमा गएको उनले बताए। “यो मेरो सिर्जना होइन। म लोक अनुसन्धानकर्ता हुँ। लय नेपाली लोक जीवनको हो,” खड्काले भने, “बरु केही शब्द ल्याएर अरू चाहीँ धार्मिक सम्प्रदायका मापदण्ड पुर्‍याएर समायोजन गरेँ।”

पूर्वकालमा, त्यहाँका मगर पुर्खाहरूले वनमा पाइने खमारी, छतिवन, लाम्पाते, कटहर र कोइरालो प्रजातिका काठहरू खोपेर मादलको ढुंग्रो बनाएर क्यामु, ध्यानुजस्ता गाईका छालाको तना लगाएको गायक खड्काको अनुमान छ। त्यसै क्रममा श्रीगाईका छालाको मुहथुरी बनाए। अनदी धानको चामल पकाएर माड बनाए।

“त्यही भातको माडमा कुश, काँशको खरानी, किट र ढलौटको धुलोसहित २७ थरिका सामग्री मिसाएर सात तहको खरी लगाए,” खड्का भन्छन् “यसरी तयार भएको गुरू मादलले सात ठकन हान्दै सरस्वती जगाए। दाहिने सात तालले आकाश गर्जाए। बायाँ सात तालले धरती थर्काए। सरस्वती जगाई चारसुर, दश दिशा बाँधे।”

अनि झ्याली, झ्याम्टा, मुजुरा, मुरली, बाँसुरी र सनाईका ताल र सुरमा सिमल बारुलै भाकाका देउसी नाचले गाउँघर गुन्जायमान पारेको खड्काले किंवदन्ती सुनाए।

सनाई त बज्यो, लैबरी भाका, सिमल बारुलै
दमाहा बज्यो गजैले सिमल बारुलै
मौकैले गर्दा भेटघाटै भयो, सिमल बारुलै
नाची जाऊँ बरी मजैले, सिमल बारुलै

यो भाका अरुणपारिको हो, जसलाई उनले परिमार्जन गरेर अलि छिटोमा लय दिएका हुन्। तर अरुणवारि र पारि दुवैतर्फ प्रचलनमा छ। स्थानअनुसार अरुणवारिका स्थानीय ‘सिमालबारुलै’ भन्दै उठाउँछन्, पारिका ‘सिमल बारुलै’ भन्दै बिसाउँछन्।

‘सिमल बारूलै’ पूर्वेली देउसी लोकनाचमा प्रयोग हुने एक थेगो भएको खड्का बताउँछन्। नेपाली लोकजीवनमा नाचिने प्रायः लोकनृत्यहरूमा अनेक जीवजन्तु र कीटपतंगको चालचलनलाई अनुकरण हुन्छ। यस भाकामा प्रयोग गरिएको सिमल बारूलै शब्द बारूला प्रजातिको नाम हो।

यस प्रजातिका बारुलालाई सुन बारूला, सिमल बारूला आदि नामले चिनिन्छ। “मौलिक नेपाली लोकगीतहरूमा आफ्नी मायालुलाई सम्बोधन गर्न लालुमाया, सीताराम साइली, निरफूल, कदमफूल, सानुमाया, सालैज्यू, सोल्टी चरणजस्ता अनेक थेगोहरू प्रयोग गरेको पाइन्छ। सिमल बारुलै पनि त्यसरी नै प्रयोग हुने थेगो हो,” उनले भने।

यी थेगोहरूलाई अपार माया, प्रेम, सद्‍भाव र भावनात्मक सम्बन्धको प्रतीक मानिने उनी बताउँछन्।