आज भाइटीका, मिथिला क्षेत्रमा पनि भैयादुज मनाइँदै

यस वर्ष तिथि वृद्धि भई छैटौं दिनमा भाइटीका परेको छ। भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा रहे पनि आज दिनभर टीका लगाउन कुनै बाधा नपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।

फाइल तस्वीर

काठमाडौँ- हिन्दू धर्मावली नेपालीले मनाउने दोस्रो मुख्य पर्व तिहारको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यो दिन दिदीबहिनीले दाजुभाइलाई निधारमा पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिई दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्छन्।

दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा, उपहार आदि दिने चलन छ। नेपाल पञ्चांग निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३९ मिनेटमा रहेको जनाएको छ। तर आज आज दिनभर टीका लगाउन कुनै बाधा नपर्ने समितिले जनाएको छ।

यमपञ्चकसमेत भनिने तिहार सामान्यत: पाँच दिन मनाइन्छ र अन्तिम दिन भाइटीका पर्छ। तर यस वर्ष तिथि वृद्धि भई छैटौं दिनमा भाइटीका परेको पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।

आज लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी नवग्रहको समेत पूजाआराधना गर्नुपर्छ। त्यसपछि दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ। यसले दिदीबहिनी र दाजुभाइबीच प्रेम तथा सद्‍भाव बढाउने विश्वास छ।

आजै तराई-मधेशका कतिपय क्षेत्र (खासगरी मिथिलाञ्चल) मा भैयादुज पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा छ।

मिथिलामा भरद्वितीया र भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई सामान्यत: आफ्नै घरमा आउन निम्ता गर्छन् । यद्यपि, दिदीबहिनी माइतीमा आएर पनि पर्व मनाउने प्रचलन छ। अविवाहित दिदीबहिनी र दाजुभाइको एउटै घर हुने हुँदा स्वनिवासमै यो पर्व मनाउने परम्परा छ।

विवाहित दिदीबहिनीको निम्ता मान्न जाने दाजुभाइले नयाँ वस्त्र, आभूषण कोसेली लिएर जाने गर्छन्। पर्वमा दिदीबहिनीले घरमा पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो) ले अरिपन (चतुष्कोण घेरा) बनाएर त्यो सीमाभित्र काठको पिरामा दाजुभाइ बसाउँछन्। टाढाबाट थाकेर आएका दाजुभाइको गोडा कोपरामा राखेर तातोपानीले धुइन्छ। त्यसपछि अञ्जुली फैलाएका दाजुभाइलाई पिठार, पानको पात र सुपारी राखी दिएर दिदीबहिनीले सप्तरङ्गी टीका लगाइ दिने गर्छन्।

मैथिल परम्परामा यो विधि सम्पन्न गरिएसँगै दिदीबहिनीले दाजुभाइको गङ्गा, यमुनाको जस्तै वेग र कीर्ति होस् भन्दै गीतबाट भाव व्यक्त गर्दछन्। यसै क्रममा सुकेको केराउको दाना दाजुभाइलाई चबाउन दिइन्छ। ‘बजरी’ ख्वाइने विधिको भाव भने दाजुभाइको शरीर बज्रसमान कठोर होस् भन्ने मान्यता छ।