नेपाली महिला फुटबल टोली भारतमा, तीन वटा अन्तर्राष्ट्रिय खेल खेल्ने

नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता र भारतसँगको एउटा मैत्रीपूर्ण खेल गरी भोलिदेखि एक सातामा तीनवटा अन्तर्राष्ट्रिय खेल खेल्दैछ।

फाइल तस्वीर

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टोली अहिले भारतको सिलोङ पुगेको छ। त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता र भारतसँगको मैत्रीपूर्ण खेलका लागी महिला टोली सिलोङ पुगेको हो।

नेपालले यी दुवै प्रतियोगिता गरी एक सातामा तीन वटा अन्तर्राष्ट्रिय फुटबल खेल खेल्ने छ। त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालसहित इरान र आयोजक भारतले प्रतिस्पर्धा गर्ने छन्।

नेपालले पहिलो खेल कात्तिक ७ गते (शुक्रबार) इरानसँग पहिलो खेल खेल्नेछ। कात्तिक १० गते दोस्रो खेलमा भारतसँग सिलोङमै प्रतिस्पर्धा गर्नेछ। 

त्यसपछि नेपाली टोलीले भारतसँग एउटा मैत्रीपूर्ण खेल खेल्ने छ। कात्तिक १३ हुने उक्त मैत्रीपूर्ण खेल फिफा विन्डोअन्तर्गतको नभएको हुँदा यसले अन्तर्राष्ट्रिय मान्यता भने नपाउने एन्फाको भनाइ छ।

नेपाली राष्ट्रिय टोलीबाट खेल्न विदेशमा व्यवासायिक फुटबल खेलिरहेका चार खेलाडी नेपाल आएर टिमसँगै सिलोङ पुगेका छन्। विदेशी लिग खेलिरहेका खेलाडीमा कप्तान सावित्रा भण्डारी साम्बासहित प्रिति राई, पूजा राना र एन्जिला तुम्बापो सुब्बा छन्।

टिमका अन्य खेलाडीमा अनिता बस्नेत, अन्जना राना मगर, बिमला विक, दीपा शाही, हिराकुमारी भुजेल, मनमाया दमाई, मिना देउवा, निशा ठोकर र प्रतीक्षा चौधरी छन्। त्यस्तै, पुर्णिमा राई, रश्मिकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटी, साबित्रा राना, सजनी ठ्ठोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बू र उषा नाथ पनि टोलीमा छन्।

नेपाली टोलीको मुख्य प्रशिक्षक नवीन न्यौपाने छन्।