पेस्तोलसहित एकजना पक्राउ

मादक पदार्थ सेवन गरी होहल्ला गरेको भनी स्थानीयले खबर गरेपछि पुगेको प्रहरी टोलीले ती व्यक्तिको साथबाट नगद चार लाखसहित पेस्तोल बरामद गरेको हो।

काठमाडाैँ– ललितपुर प्रहरीले धापाखेलबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक चक्र जोशीले गए राति २ः५० बजे खोटाङ, साकेला गाउँपालिका-१ का शिवकुमार विकलाई पेस्तोल र चार लाख अठहत्तर हजार रुपैयाँसहित पक्राउ गरिएको जानकारी दिए।

खोटाङ, साकेला स्थानीय ठेगाना भएका विक हाल ललितपुर महानगरपालिका-२३ धापाखेलमा बस्दै आएका थिए। “विकले मादक पदार्थ सेवन गरी होहल्ला गरेको भनी स्थानीयले खबर गर्नुभएपछि प्रहरी प्रभाग धापाखेलबाट खटिएको टोलीले शंकाका आधारमा जाँच गर्दा ५००००४९१ नम्बरको म्याग्जिनसहितको गोली नभएको चाइनिज पेस्तोल थान-१, नगद र मोबाइल फोन पनि बरामद भएको छ।”

 विकलाई हाल नियन्त्रणमा लिई अनुसन्धान शुरू भएको उनले बताए।