बालगोपालेश्वर मन्दिरमा आज दिदीबहिनी नहुनेहरूले लगाए भाइटीका (तस्वीरसहित)

दिदीबहिनी वा दाजुभाइ नहुनेले यस मन्दिरमा गएर भगवान् बालगोपालेश्वरको दर्शन गरी टीका लगाउने चलन निकै पुरानो र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ।

काठमाडौँ– तिहारको प्रमुख भाइटीकाका दिन आज काठमाडौँको ऐतिहासिक रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइले टीका लगाउँदै आपसी माया, स्नेह र आस्थाको पर्व मनाएका छन्।

null

भाइटीकाको शुभसाइत बिहान ११ बजेर ३९ मिनेटमा जुरे पनि बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि नै सर्वसाधारणका लागि खोलिएको थियो। मन्दिरमा रहेका पुजारी भेमब कोइरालाले दिउँसोसम्म करिब १५ सय जनाले टीका लगाइसकेको बताए।

null

परम्पराअनुसार यो मन्दिर वर्षमा एक दिन भाइटीकाको अवसरमा मात्र खोलिने गरिन्छ। बिहान सबेरैदेखि दर्शनार्थीहरूको घुइँचो लागेपछि बालगोपालेश्वर मन्दिरमा आज विशेष चहलपहल देखिएको थियो।

null

दिदीबहिनी वा दाजुभाइ नहुनेले यस मन्दिरमा गएर भगवान् बालगोपालेश्वरको दर्शन गरी टीका लगाउने चलन निकै पुरानो र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ। यो परम्परा आफ्ना नजिकका दाजुभाइ वा दिदीबहिनी नभएकाले पनि तिहारको मुख्य पर्वको मर्म अनुभव गर्न सकून् भन्ने मान्यताका साथ प्रारम्भ भएको हो।

null

मन्दिरमा पुगेका भक्तजनहरूले फूल, माला, अक्षता, रङ र मिठाई चढाई भगवान् बालगोपालेश्वरको आराधना गरेका थिए। परम्परागत विधिअनुसार पञ्चरंगी र सप्तरंगी टीका लगाएका थिए। टीका लगाइसकेपछि श्रद्धालुहरूले एकअर्कालाई शुभकामना साटासाट गर्दै दीर्घायु, आरोग्य र समृद्धिको कामना गरेका थिए।

null

भाइटीकाको दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु र कल्याणको कामना गर्दै टीका लगाउने चलन छ। दाजुभाइले पनि दिदीबहिनीलाई उपहार र आशीर्वाद दिने परम्परा रहिआएको छ।

nullnullतस्वीरहरू: नेपाल फोटो लाइब्रेरी