कुकुरले नटोकेरै पनि लाग्नसक्छ रेबिज, नेपालमा बर्सेनि १०० हाराहारीमा मृत्यु

रेबिजबाट मृत्यु हुनेको संख्या ग्रामीण क्षेत्रमा धेरै छ। जनचेतनाको कमीले गर्दा कुकुरले टोकिसकेपछि वा भाइरसको संसर्गमा आएपछि उपचारमा नजानु नै मृत्युको कारण बन्ने गरेको छ।

काठमाडौँ– संघीय राजधानी काठमाडौँ नजिकै धादिङको बेनीघाट रोराङ गाँउपालिकामा तीन महिनाभित्र रेबिज लागेर तीन जनाको मृत्यु भयो। तीमध्ये बेनीघाट रोराङ–६ बुङपुङका ५२ वर्षीय लालबहादुर प्रजा चेपाङ र ७२ वर्षीय कान्छीमाया चेपाङको एक महिनाको अन्तरालमा मृत्यु भएको हो।

रेबिजको लक्षण देखा परेपछि उपचारका लागि काठमाडौँ ल्याउने क्रममा कान्छीमायाको जेठ २७ गते मृत्यु भएको थियो। साउन ७ गते बेनीघाट आधारभूत अस्पताल लगिएका लालबहादुरको पनि थप उपचारको लागि काठमाडौँ ल्याउने क्रममै भोलिपल्ट बाटोमै मृत्यु भएको वडा अध्यक्ष टेकनाथ सिलवालले बताए।

सिलवालका अनुसार, लालबहादुर र कान्छीमाया छिमेकी हुन्। रेबिजको लक्षण देखा परेको भए पनि उनीहरूलाई कुकुरले टोकेको थिएन। “उहाँहरूको घर एकअर्काबाट २०० मिटरको मात्रै दूरीमा छ। उहाँहरूको उठबस नै कुकुरसँग हुन्छ। कुकुर या अन्य जनावरले टोकेको इतिहास भेटिएन। त्यसैले कुकुरको र्‍यालबाट सरेको हुनसक्ने हाम्रो आशंका हो,” उनले भने।

उक्त घटनापछि शंकास्पद कुकुरलाई गाँउपालिकाले उपचारका लागि लगेको छ। कुकुरको संसर्गमा रहेका समुदायका बालबालिकालगायत अन्य व्यक्ति र पशुलाई समेत रेबिजविरुद्धको खोप लगाइएको छ। विगत दुई वर्षयता वडाका कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको भए पनि छुटेको हुनसक्ने सिलवालको भनाइ छ।

रोराङ गाँउपालिकाकै वडा नं २ चोतेशका २२ वर्षीय शीतल चेपाङको पनि गत असार ३१ गते मृत्यु भयो। रेबिजको लक्षण देखा परेपछि आधारभूत अस्पताल लगिएको थियो। अस्पतालले नै उनलाई रेबिज भएको पुष्टि गरेको थियो।

त्यसपछि थप उपचारको लागि काठमाडौँ लाने तयारी गर्दै गर्दा बाटोमै उनको मृत्यु भएको वडासचिव सरस्वती विकले बताइन्। उनका अनुसार शीतललाई पनि कुनै जनावरले टोकेको इतिहास छैन। यद्यपि, उनी कुकुरको बढी संसर्गमा आउने गर्थे।

उनको मृत्यु भएको करिब २० दिनअघि मात्रै शीतलसँग नजिकिने कुकुरको मृत्यु भएको थियो। त्यसैले पनि कुकुरबाटै रेबिज सरेको आशंका गरिएको विक बताउँछिन्। “एक्कासि लक्षणहरू देखिए, उपचार गर्ने मौका नै भएन,” उनले भनिन् “टोकेको भए खोप लगाउन सकिन्थ्यो। न त टोकेको छ, न चिथोरेको छ।”

उक्त घटनापछि यो वडाले पनि आशंका लागेका मानिसहरूलाई रेबिज विरुद्धको खोप दिएको उनले बताइन्।

यस्तै, गएको वैशाख अन्तिममा चितवनको इच्छाकामना गाउँपालिका वडा नं २ का मीनबहादुर प्रजालाई कुकुरले टोकेपछि रेबिज लागेर मृत्यु भएको थियो। वडाध्यक्ष पञ्चबहादुर प्रजाका अनुसार, कुकुरले टोकेको करिब एक महिनापछि मीनबहादुरमा लक्षण देखिएको  थियो। गाँउकै पाल्तु कुकुरले उनलाई टोकेको थियो।

स्थानीयले अस्पताल जान र खोप लगाउन सुझाएका थिए। तर उनले समस्या नहुने भन्दै बेवास्ता गरेका थिए। “पछि कुकुरले टोकेको भाग सुन्निन, दुख्न थाल्यो। श्वास प्रश्वासमा समस्या हुन थाल्यो। उपचारका लागि भरतपुर अस्पताल लगेको भोलिपल्ट नै मृत्यु भयो,” वडाध्यक्ष पञ्चबहादुरले भने। त्यसयता वडामा रेबिजविरुद्ध तीव्ररुपमा जनचेतना फैलाइएको उनले बताए।

यी ठाउँमा मात्र होइन, नेपालभर रेबिज नियन्त्रण चुनौतीपूर्ण बनिरहेको छ। विभिन्न अध्ययन प्रतिवेदनअनुसार, नेपालमा हरेक वर्ष जनावरको टोकाइका लाखौँ घटना हुन्छ, जसमा १०० भन्दा बढी मानिसको मृत्यु हुने सरकारी तथ्यांकले देखाउँछ।

नेपालमा हरेक वर्ष एक लाखभन्दा बढी मानिस जनावरको टोकाइको शिकार बन्छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार, आर्थिक वर्ष २०७९/८० मा एक लाख १९ हजार ३९२ जनालाई जनावरले टोकेको थियो। यस्तै, २०८०/८१ मा दुई लाख १० हजार ३०१ र २०८१/८२ मा एक लाख ८६ हजार ७५२ जनालाई जनावरले टोकेको थियो। यीमध्ये, ९६ प्रतिशतलाई कुकुरले टोकेको हो।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दैनिक २०० को हाराहारीमा रेबिजविरुद्धको खोप लगाउन आउने गरेको ओपीडी इन्चार्ज शंकर पाण्डे बताउँछन्। पाण्डेका अनुसार, अस्पताल आउनेहरूमा अधिकांश काठमाडौँ उपत्यकाका छन्।

त्यससँगै छिमेकी जिल्लाका थोरै संख्यामा आउने गरेको उनले बताए। “काठमाडौँ उपत्यकाभित्र यति धेरै सचेत भएका छन् कि खोप नलगाउनु पर्नेहरू पनि आउँछन्। कुकुरलाई रेबिज खोप लगाएको, स्वस्थ कुकुरले चिथोर्यो वा टोक्यो भने पनि अस्पताल आइहाल्छन्,” उनले भने।

अस्पतालमा रेबिज लागेर मर्नेको संख्या पनि ठूलै छ। अस्पतालको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा अस्पतालभित्र सात जना, २०७९/८० मा पाँच जना, २०८०/८१ मा १७ जना, २०८१/८२ मा ११ र चालु आवको पहिलो दुई महिनामा चार जनाको मृत्यु भएको छ।

ग्रामीण क्षेत्रमा रेबिजको कहर
काठमाडौँ उपत्यकामा यतिधेरै सचेत भएको बताइरहँदा वार्षिक रूपमा देशभर करिब १०० जनाले रेबिजका कारण ज्यान गुमाउने मन्त्रालय नै बताउँछ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको संक्रामक तथा रोग नियन्त्रण विभागका पशु चिकित्सक अधिकृत विहारी महतोका अनुसार अस्पतालसम्म नआएका वा पहिचान नै नभएकाहरूको संख्या ठूलो हुनसक्‍छ।

“शहरी क्षेत्रमा भन्दा पनि ग्रामीण क्षेत्रमा रेबिजको प्रभाव रहेकोले धेरै मान्छेको मृत्यु हुन्छ, जुन सबै रिपोर्ट हुँदैनन्। त्यसैले तथ्यांकभन्दा धेरैको मृत्यु भएको हुन सक्छ, ” उनले भने।

दुर्गम क्षेत्रमा जनचेतनाको कमी प्रमुख चुनौती रहेको उनले बताए। कतिपयले भने जानाजान बेवास्ता गर्ने गरेको पनि उनको भनाइ छ। यस्तै, कुकुरले टोकेमा परम्परागत उपचार गर्ने कारणसमेत रेबिज लागिरहेको छ। यसलाई कम गर्न स्थानीय तहहरूले जनचेतना फैलाउन पहल गर्नुपर्ने उनले बताए।

मन्त्रालयको खोप व्यवस्थापन शाखाले खोपहरू खपत भइरहेको र अभाव नरहेको जनाएको छ। आर्थिक वर्ष २०८०/८१ मा  ०.५ एमएलको खोप एक लाख ३० हजार र १ एमएलको एक लाख ७० हजार भायल खरिद गरिएको छ। जसमा ०.५ एमएल १० हजार ७ सय २० भायल र १ एमएल २३ हजार २३८ भायल बाँकी छ। यस्तै, २०८१/८२ मा १७ हजार ४०९ र १ एमएलको ९० हजार भायल खरिद भएको छ। ती सबै प्रदेशगत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई पठाइसकिएको छ।

रेबिजबाटको मृत्यु शून्यमा झार्ने तयारी
नेपालले विश्व स्वास्थ्य संगठनको विश्व लक्ष्यसँग मिलेर सन् २०३० सम्म कुकुरबाट सर्ने मानव रेबिजका मृत्युदरलाई शून्यमा झार्ने लक्ष्य लिएको छ। राष्ट्रिय रेबिज निर्मूल रणनीतिअनुसार, एक स्वास्थ्य (वान हेल्थ) दृष्टिकोणबाट काम भएको महाशाखा प्रमुख चन्द्रभाल झा बताउँछन्। यसमा मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणीय स्वास्थ्यलाई मिलाएर काम गरिने उनको भनाइ छ।

यस कार्यक्रमअन्तर्गत सरकारले प्रभावित क्षेत्रहरूमा खोप अभियान, जनचेतना र पशु रोगमा निगरानीहरूको काम गरिरहेको छ। “सरकारले रणनीतिअनुसार रेबिज नियन्त्रणका लागि काम शुरू गरेको छ। हाम्रो लक्ष्यअनुरूप काम हुनेमा विश्वस्त छौँ,” झाले भने।

के हो रेबिज, कसरी सर्छ?
रेबिज संक्रामक रोग हो, जुन प्राय: कुकुर, बाँदर, भालु र अन्य जनावरबाट मानिसमा सर्न सक्छ। यो रोगले मस्तिष्कमा असर गर्छ। विश्व स्वास्थ्य संगठनका अनुसार यो रोग १५० भन्दा बढी देश र क्षेत्रहरूमा रहे पनि एशिया र अफ्रिकामा यसको दर धेरै छ। विश्वव्यापी रूपमा हरेक वर्ष यसका कारण लाखौँ मानिसको मृत्यु हुन्छ, जसमा करिब ४० प्रतिशत १५ वर्षमुनिका बालबालिका रहने आँकडा छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार, कुनै पनि जनावरमा रेबिज रोग लागेपछि त्यसको टोकाइ वा चिथोराइबाट रेबिजका जिवाणुहरू मानिसको शरीरमा सजिलै प्रवेश गर्छन्।

रेबिज सर्नका लागि जनावरले टोक्नैपर्छ भन्ने छैन। जनावरको र्‍यालबाट पनि सर्न सक्छ। “भाइरस हाम्रो शरीरभित्र पसेपछि यो रोग सर्छ। त्यो रगत या अन्य कुनै पनि माध्यमबाट हुनसक्छ,” डा. शर्मा भन्छन्, “भाइरसले केन्द्रीय स्नायु प्रणालीमा प्रवेश गर्यो र लक्षण देखा पर्यो भने रेबिजबाट बच्ने सम्भावना रहँदैन।”

कोही पनि जनावरको टोकाइ वा भाइरसको संसर्गमा आएको एकदेखि तीन महिनासम्ममा लक्षणहरू देखा पर्न थाल्छ। यो रोग लागेमा पानी र हावासँग पनि डराउने लक्षण देखिन्छ। कसैलाई एक हप्तादेखि एक वर्षपछि पनि लक्षण देखिन्छ।

“शुरूमा ज्वरो, घाउमा चिलाउने वा झमझमाउने र दुख्ने जस्ता सामान्य लक्षण देखिन्छ। त्यसपछि भने उत्तेजित हुने, सन्तुलन बिग्रने, पानी र हावाबाट डर लाग्ने लक्षण देखिने गर्छ,” डा. शर्मा भन्छन्।

रेबिज हुन नदिन सकेसम्म कुकुरको टोकाइबाट बच्न र त्यस्ता जनावरसँगको प्रत्यक्ष सम्पर्कमा आएपछि राम्रोसँग साबुनपानीले हात धुन उनी सुझाउँछन्। टोकीहालेमा घाउ राम्ररी पानीले सफा गर्न र नजिकको अस्पताल गएर रेबिजविरुद्धको खोप लगाउन डा. शर्माको सुझाव छ।