थाइल्यान्डकी पूर्वमहारानी तथा वर्तमान राजा महा वजिरालङ्कोर्नकी आमा, मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ।
थाइल्यान्डकी पूर्वमहारानी तथा वर्तमान राजा महा वजिरालङ्कोर्नकी आमा, मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ। थाइल्यान्डको सरकारी जनसम्पर्क विभाग (पीआरडी)ले शनिबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो।
विज्ञप्तिअनुसार, मुमा महारानी सिरिकितको केही समयदेखि रक्त संकमणका कारण अस्पतालमा उपचार भइरहेको थियो। मेडिकल टोलीको निरन्तर प्रयासका बाबजुद उनको स्वास्थ्य अवस्था क्रमशः बिग्रँदै गएको र अन्ततः अक्टोबर २४ को राति ९ः२१ बजे बैंककस्थित थाई रेड क्रस सोसाइटीअन्तर्गतको चुलालङ्कोर्न अस्पतालमा शान्तिपूर्वक देहावसान भएको उल्लेख गरिएको छ।
मुमा महारानी सिरिकित कितियाकाराको सन् १९३२ अगस्ट १२ मा जन्म भएको थियो। उनको जन्मदिन थाइल्यान्डमा मातृ दिवसका रूपमा राष्ट्रिय बिदाका साथ मनाइन्छ।
१८ वर्षको उमेरमा उनले तत्कालीन राजा भूमिबोल अदुल्यादेजसँग विवाह गरेकी थिइन्। चकरी वंशका नवौँ सम्राट् (राम नवौँ) राजा भूमिबोलको शासनकाल विश्वकै सबैभन्दा दीर्घकालीन राजामध्ये एक रह्यो। यसैगरी मुमा महारानी सिरिकित पनि विश्वकी सबैभन्दा लामो समयसम्म सेवा गर्ने महारानीका रूपमा सम्मानित रहेकी छन्।
राजा भूमिबोलको सन् २०१६ मा निधन भएपछि उनका पुत्र महा वजिरालङ्कोर्नले सिंहासन सम्हालेका थिए। मुमा महारानी सिरिकित सन् २०१२ मा आएको स्ट्रोकपछि स्वास्थ्य समस्याका कारण सार्वजनिक रूपमा विरलै देखा परेकी थिइन्।
उनले जीवनकालभर थाइल्यान्डका सामाजिक, सांस्कृतिक र मानवीय विकासका क्षेत्रमा उल्लेखनीय योगदान दिएका थिइन्। विशेष गरी दक्षिणी थाइल्यान्डमा बौद्ध समुदाय र विभिन्न संस्थाहरूलाई सहयोग पुर्याइन्। साथै, उनले थाई हस्तशिल्प र ग्रामीण महिलाहरूको आर्थिक सशक्तीकरणका लागि ‘सपोर्ट फाउन्डेसन’ स्थापना गरी उनीहरूलाई उत्पादन र बजार पहुँचमा सशक्त बनाउन सहयोग गरेकी थिइन्।
सिरिकितले आफ्ना स्वर्गीय पतिले प्रारम्भ गरेका सयौँ विकास परियोजनाको नियमित निरीक्षण गर्थिन्। उनको भव्यता, आकर्षक व्यक्तित्व र उत्कृष्ट फेसन–बोधका कारण उनी १९६० को दशकमा अन्तर्राष्ट्रिय ‘बेस्ट–ड्रेस्ड’ सूचीमा चार पटकसम्म चयन भएकी थिइन्। यसलाई न्युयोर्क टाइम्सले ‘विश्वकी सबैभन्दा स्टाइलिस व्यक्तित्वहरूमध्ये एक’ भनेर चित्रण गरेको थियो।
थाइल्यान्ड संवैधानिक राजतन्त्र भएकोले उनीसँग प्रत्यक्ष राजनीतिक शक्ति नभए पनि उनको उपस्थितिले देशको सामाजिक र सांस्कृतिक जीवनमा गहिरो प्रभाव पारेको व्यापक रूपमा स्वीकार गरिन्छ।
सिरिकितका एक छोरा — राजा महा वजिरालङ्कोर्न, तीन छोरीहरू — राजकुमारी ऊबोलरताना, राजकुमारी महा चक्री सिरिन्धोर्न र राजकुमारी चुलाभोर्नका साथै एक बहिनी — बुस्बा कितियाकारा सथानपोङ रहेका छन्। थाइल्यान्ड दरबारले उनको निधनप्रति शोक व्यक्त गर्दै राष्ट्रव्यापी श्रद्धाञ्जली कार्यक्रमको तयारी गरिरहेको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
