छठ पर्वले जनकपुरका बजारमा केराको माग र मूल्य दुवै बढ्यो

अहिले स्थानीय महेन्द्रनगर, ढल्केवर, वीरेन्द्रबजार, गोदार, सबैला, बटेश्वर, लक्ष्मीनियाँका बजारमा केराको कारोबार बढेको छ। हाल जनकपुरधामलगायत मुख्य बजारदेखि ग्रामीण हाटबजारसम्म केरा किन्ने ग्राहकको भीड लागेको छ।

धनुषा– छठ पर्व शुरू भएसँगै जनकपुरधामसहित धनुषा जिल्लाका स्थानीय बजारमा केराको माग अत्यधिक वृद्धि भएको छ। फलस्वरूप केराको कारोबार निकै बढेको छ।

छठमा केराको अनिवार्य माग रहने भएकाले बिक्री उल्लेखनीय रूपमा बढेको फलफूल व्यवसायीले बताएका छन्। छठ पर्वमा भगवान् सूर्यलाई अर्घ्य अर्पण गर्न प्रयोग हुने मुख्य प्रसाद ‘केरा’को घरीको माग जनकपुरधामसहित स्थानीय बजारमा अत्यधिक बढेको केरा व्यापारीले बताएका छन्।

अहिले स्थानीय महेन्द्रनगर, ढल्केवर, वीरेन्द्रबजार, गोदार, सबैला, बटेश्वर, लक्ष्मीनियाँका बजारमा केराको कारोबार बढेको छ। हाल जनकपुरधामलगायत मुख्य बजारदेखि ग्रामीण हाटबजारसम्म केरा किन्ने ग्राहकको भीड लागेको छ।

छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयातमा वृद्धि गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए। उनका अनुसार यस वर्ष व्यापारीले भारत र अन्य जिल्लाबाट ठूलो परिमाणमा केरा खरिद गरी गोदाममा भण्डारण गरेको पनि उनले बताए।

गोदाममा पर्याप्त मात्रामा केरा उपलब्ध भएकाले यसपटक व्रतालुलाई केराको अभाव नहुने अध्यक्ष यादवले बताए। यद्यपि, केराको माग बढेसँगै मूल्यमा भने वृद्धि भएको छ। क्षीरेश्वरनाथ नगरपालिका–५ का रमेश गुप्ताका अनुसार अहिले स्थानीय बजारमा केराको प्रतिघरी मूल्य ६०० देखि एक हजार रुपैयाँ सम्म पुगेको छ, जुन गत वर्षको तुलनामा उल्लेखनीय रूपमा बढी हो।

मागअनुसार स्थानीय उत्पादन नभएपछि बाहिरबाट आयात गर्नुपरेको फलफूल व्यवसायीको भनाइ छ। महेन्द्रनगरका जीवन फ्रुट सेन्टरका सञ्चालक जीवन साहले भने, “यस वर्ष झण्डै ७२ ट्रक केरा भित्र्याइएको छ।”

जनकपुरमा गोपाल र वंशीभोग जातका केरा सप्तरीको भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ। त्यसैगरी, मालभोग, मरिचमान, चिनी चम्पा जातका केरा भारतको आसाम, गोहाटी, बंगाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए।

छठ पर्वसँगै गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएको उनले बताए। “छठ मनाउने सङ्ख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो, बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष १५/२० ट्रक बढी केरा मगाइएको छ,” उनले भने।

समितिका अध्यक्ष यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार २०० घरी आउँछन्। प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च ६ लाख रुपैयाँ पर्ने उनले जानकारी दिए। बजारमा प्रत्येक केराको घरीलाई ५०० देखि एक हजार रुपैयाँसम्ममा बिक्री गरिन्छ।

नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छन्। नेपालमा मालभोग, झापाली मालभोग, बिलियम हाइब्रिड रोवस्टा, बिलियम हाइब्रिडलगायत जातका केराको उत्पादन हुँदै आएको छ। सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ।