कर्णाली प्रदेशका विमानस्थलमा अलपत्र परेका नागरिकलाई उद्धार एवं यात्रा सहजताका लागि हवाई उडान थपिने भएको छ। बाढी-पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका थिए।
काठमाडौँ- वायुसेवा सञ्चालक संघ नेपालले कर्णाली प्रदेशका विमानस्थलमा अलपत्र परेका नागरिकलाई उद्धार एवं यात्रा सहजताका लागि हवाई उडान थप गर्ने बताएको छ।
मंगलबार कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीसँग भएको छलफलमा वायुसेवा सञ्चालक संघले वायुसेवा कम्पनीसँग भएका हवाई उडान थप गरेर अलपत्र नागरिकलाई नजिकको विमानस्थलमा उद्धार गर्ने प्रतिबद्धता जनाएको हो।
छलफलमा बोल्दै वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले कर्णाली प्रदेशमा हवाई उडान थप गर्ने प्रतिबद्धता जनाए। "कर्णालीको मानवीय संकट समाधानका लागि सरकार र निजी क्षेत्रको सहकार्यमा गर्ने सहमति भयो। तत्काल बढीभन्दा बढी जहाजले उडान गरेर डोल्पा, हुम्ला र जुम्लाबाट नेपालगञ्ज वा नजिकको विमानस्थलमा ल्याउने तयारी गरेका छौँ," उनले भने।
उनले कर्णालीको हवाई उडान समस्या समाधान गर्न सरकार र निजी क्षेत्र दुवैले सहकार्य गर्नुपर्ने बताए। बिचौलियालाई रोक्न अनलाइन टिकटको व्यवस्था गर्ने सहमति भएको पनि उनको भनाइ छ।
बाढी-पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध हुँदा हवाई जहाजमार्फत यात्रा गर्नेको विमानस्थलमा भीडभाड बढेको छ। जहाजको उडान संख्या कम हुँदा यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन्। पूर्वमन्त्री भण्डारीले उडान प्रभावित भएर यात्रुहरू अलपत्र हुँदा मानवीय संकट आउने अवस्था सिर्जना भएको बताए।
यात्रुको चाप अत्यधिक भएको अवस्थामा समेत विमान कम्पनीले उडान कटौती गरेको उनको आरोप छ। उनले कर्णालीका विमानस्थलमा अलपत्र परेका हवाई यात्रुहरूलाई तत्काल उद्धार गर्नको लागि नेपाल वायुसेवा सञ्चालक संघसँग माग गरिएको बताए।
भण्डारी नेतृत्वको टोलीले मंगलबार नै पर्यटन मन्त्रीलाई भेटेर कर्णाली प्रदेशमा विद्यमान हवाई उडानसम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको थियो। केही दिनअघिको वर्षाका कारण सडक सञ्जाल, विद्युत् र टेलिफोन सेवासमेत अवरुद्ध भएपछि अहिले कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्ला र कालीकोटलगायतका जिल्ला सम्पर्कविच्छेद छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
