विश्वकप लिग–२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएई शृंखलाको पहिलो खेलमा आज नेपालले बलियो टोली अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ।

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएई शृंखलाको पहिलो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ। यो लिगको ८६औँ खेल हो।

आइतबार नेपाल बलियो टोली संयुक्त राज्य अमेरिकासँग भिड्न लागेको हो। खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समयानुसार बिहान ११: १५ बजे शुरू हुनेछ।

नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गरेर यूएई शृंखलाको शुरूआत गर्न लागेको हो। केही दिनअघि यूएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिम अंकतालिकाको ७औँ स्थानमा छ। २० खेल खेलिसकेको अमेरिका भने २८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

लिग–२ अन्तर्गत यूएई र अमेरिकासँगको शृंखलाका खेल आइतबारदेखि कात्तिक १९ गते बुधबारसम्म हुँदैछन्।

नेपालले आफ्नो दोस्रो खेल कात्तिक १३ गते (बिहीबार) यूएईसँग खेल्ने तालिका छ। यस्तै, शृंखलाको तेस्रो खेलमा कात्तिक १५ गते (शनिबार) अमेरिकासँग खेल्ने छ भने शृंखलाको अन्तिम खेलमा नेपालले कात्तिक १९ गते (बुधबार) यूएईसँग प्रतिस्पर्धा गर्नेछ।