अस्पतालमा आन्दोलनका घाइते छट्पटाइरहँदा थिएनन् सर्जन

सीटीभीएस तथा न्युरो सर्जनको अभाव जेन–जी आन्दोलनले फेरि उजार गरेको छ। विशेषज्ञ सर्जन नहुँदा देशकै ठूला अस्पताल पुगेपछि पनि समयमै उपचार नपाएर कतिपय घाइतेको ज्यान गयो।

काठमाडौँ– जेन–जी आन्दोलन भएको भदौ २३ गते साँझ वीर अस्पतालका डा. दिनेश चापागाईंले आफ्नो काखमा एक घाइतेको अन्तिम सास महसुस गरे।

“करिब तीन घण्टासम्म बचाउने प्रयास गर्‍यौँ, तर त्यो भाइले मेरो काखमै अन्तिम सास फेर्‍यो,” यति बोलेपछि एकछिन रोकिएर डा. चापागाईंले थपे, “देशमा हामीजस्ता सर्जनको अभाव नभइदिएको भए केही घाइते जोगाउन सकिन्थ्यो।”

डा. चापागाई वीर अस्पतालको कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जरी (सीटीभीएस) विभाग प्रमुख हुन्। ‘जेन–जी’ आन्दोलनका घाइतेहरूलाई ट्रमा सेन्टर लगिएपछि उनी दिनरात उपचारमा खटिए। धेरै घाइतेको छाती, टाउको र घाँटीमा गोली लागेको थियो। समयमा शल्यक्रिया नहुँदा कतिपयको मृत्यु नै भयो। सीटीभीएस सर्जनको अभाव नभएको भए, आफ्नो काखमा मृत्यु भएका करिब २०–२२ वर्षका ती युवालाई बचाउन सकिन्थ्यो भन्ने उनलाई लाग्छ। 

भदौ २३ गते बानेश्वरस्थित संसद् भवनअगाडि छातीमा गोली लागेका ती युवालाई पहिला अचेत अवस्थामा नजिकैको सिभिल अस्पताल पुर्‍याइएको थियो। सिभिलबाट रेफर भएपछि ट्रमा सेन्टरको आकस्मिक कक्षमा डा. चापागाईंको टिमले उपचार शुरू गर्‍यो।

उनको श्वासप्रश्वास बन्द भइसकेको थियो। फोक्सोमा पाइप हालेर रगत निकालियो, तर मस्तिष्कसम्म रक्तसञ्चार पुगिरहेको थिएन। पटकपटक होसमा आउने र बेहोस हुने हुँदै अन्ततः उनको मत्यु भयो।

त्यो दिन उपचारकै क्रममा छातीमा गोली लागेका अन्य तीन युवाको पनि ज्यान गयो। ती युवालाई पनि सिभिल अस्पतालबाटै रेफर गरिएको थियो। “सिभिल अस्पतालमै सीटीभीएस सर्जनको टिम भइदिएको भए उनीहरूमध्ये केहीलाई बचाउन सकिन्थ्यो,” डा. चापागाईं भन्छन्।

‘घाइतेको रगत बगिरहँदा सर्जन थिएनन्’
अधिका‌ंश आन्दोलन माइतीघर मण्डलबाट बानेश्वरतर्फ हुने हुँदा, बानेश्वर क्षेत्रमा घाइते भएकालाई लैजान सिभिल अस्पताल नजिक पर्छ। २०८१ फागुनयता त्यहाँ शिक्षक, किसान, राजावादी र जेन–जी आन्दोलन भए।

गत चैत १५ मा भएको राजावादीको आन्दोलनमा गोली लागेका अधिकांश घाइतेलाई सिभिल अस्पताल नै लगिएको थियो। काठमाडौँबाट पूर्व जाने राजमार्ग नजिक रहेको यो अस्पताल संसद् भवन, सिंहदरबार र अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि नजिक पर्छ। जुनसुकै बेला ठूला दुर्घटना तथा आन्दोलनका गम्भीर घाइते आउन सक्ने अस्पतालमा विशेषज्ञ सर्जन पर्याप्त छैनन्।

जेनजी आन्दोलनका घाइते नेत्रबहादुर थापा।

जेन–जी आन्दोलनका घाइते लैजान थालेपछि सिभिलको आकस्मिक कक्षमा खटिएका चिकित्सकले जटिलताअनुसार वर्गीकरण गर्दै उपचार थालेका थिए। तर सिभिलमा सीटीभीएस सर्जरी गर्ने करारमा राखिएका एक जना सर्जनबाहेक विभाग र टिम छैन।

चिकित्सकहरूका अनुसार, त्यो दिन सिभिल अस्पतालमा कार्यरत एक जना मात्र सीटीभीएस सर्जन डा. सम्पूर्णमान तुलाधार छाती चिरेर फोक्सोको भाग निकाल्ने शल्यक्रियामा थिए। जटिल किसिमको शल्यक्रिया भएकाले उनी त्यो छाडेर आकस्मिक कक्षमा आउन सम्भव थिएन।

सीटीभीएस सर्जन तुलाधार नियमित शल्यक्रिया सकेपछि भने अन्य घाइतेको उपचारमा जुटेका थिए। तर त्यतिञ्जेल सिभिलको आकस्मिक विभागले छातीमा गोली लागेर तत्काल उपचार गर्नुपर्ने घाइते रेफर गरिसकेको थियो।

यो पनि- ट्रमा सेन्टरका सर्जनको बयान: एकैपटक धेरै घाइते आउँदा आत्तियौँ

न्युरो सर्जरीजस्तो महत्त्वपूर्ण विधाका चिकित्सकसमेत सिभिल अस्पतालमा छैनन्। बानेश्वरमै रहेको एभरेस्ट अस्पताल पनि सीटीभीएस र न्युरो सर्जनबिहीन छ। सोही कारण टाउको, छाती, र रक्तनलीको जटिल सर्जरी गर्नुपर्ने घाइतेलाई अन्यन्त्र रेफर गर्नुपरेको थियो। यस्ता घाइतेलाई राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण, वीर र केएमसी शिक्षण अस्पताल लगिएको थियो।

सीटीभीएस सर्जन डा. चापागाईं रेफरल प्रकिया लामो हुने भएकाले पनि केही घाइतेको मृत्यु भएको बताउँछन्। टाउको, छाती तथा रक्तनलीमा गोली लाग्दा धेरै रगत बग्ने भएकाले तत्काल रक्तश्राव रोक्नुपर्छ। तर रगत रोक्नेजस्तो प्राथमिक उपचार पाउनसमेत घण्टौँ कुर्नु परेको थियो।

घाइतेलाई बानेश्वरबाट रेफर गरी ट्रमा सेन्टर तथा त्रिवि शिक्षण अस्पताल पुर्‍याउँदा रगत धेरै बगिसकेकाले उपचार प्रभावकारी भएन। किनकि, त्यो दिन प्रदर्शनकारीले एम्बुलेन्सलाई समेत अवरोध गर्दा कतिपयलाई ट्रमा सेन्टर पुर्‍याउनै ३० मिनेट र त्रिवि शिक्षण अस्पताल पुर्‍याउन एक घण्टा हाराहारी लागेको थियो।

सिभिल अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मी पनि सीटीभीएस, न्यूरो र प्लाष्टिक सर्जरी विधाका सर्जन नहुँदा आकस्मिक उपचार चाहिने घाइतेलाई रेफर गर्नुपरेको बताउँछन्। तर चोटको जटिलताअनुसार घाइतेको वर्गीकरण र अर्को अस्पताल रेफर प्रकियामा समय लाग्छ। “आकस्मिक उपचार चाहिने घाइतेलाई अस्पताल पुर्‍याउन १–२ मिनेट ढिलो हुँदा धेरै फरक पर्छ। सिभिलमै यस्ता सर्जन भइदिएको भए केही न केही फरक पर्थ्यो,” डा. रेग्मी भन्छन्।

आन्दोलनको पहिलो दिन घाइते अवस्थामा अस्पताल पुर्‍याइएका तीन जनाको सिभिलमा र आठ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको थियो। त्यस्तै, एभरेस्टमा तीन, केएमसीमा दुई र त्रिवि शिक्षण अस्पतालमा एकजनाको मृत्यु भएको थियो। दुईजनाको मृत्यु उपत्यकाबाहिर भएको थियो।

सिभिल अस्पतालमा मृत्यु भएका तीन जनाबाहेक अन्य घाइते सबैलाई सिभिलबाटै रेफर गरिएकाले आकस्मिक उपचारका लागि ढिलो भइसकेको थियो। सीटीभीएस सर्जन डा. चापागाईंका अनुसार, घटना भएको दिन राष्ट्रिय ट्रमा सेन्टरमा छातीमा गोली लागेका मात्रै १० जना घाइते ल्याइएका थिए।

उनको टोलीले पहिलो दिनमै तीन जनाको जटिल शल्यक्रिया गरेको थियो। सीटीभीएस सर्जरीको पाँच जनाको टिमले सोमबारदेखि मंगलबार बिहानसम्म लगातार शल्यक्रिया गरेको उनी बताउँछन्। उनीहरूलाई पालो दिन टिममा अन्य सर्जन थिएनन्।

वीर अस्पतालमा न्युरो सर्जरी विभागमा सातजना सर्जन मात्र छन्। न्युरो सर्जन डा. समीर अर्याल सामान्य अवस्थामा पनि यो जनशक्ति कम हुने बताउँछन्। उनका अनुसार, त्यो दिन वीर अस्पतालको न्युरो सर्जरी विभाग प्रमुख डा. राजीव झा नेतृत्वको पूरै टिम पनि ट्रमा सेन्टरमा खटिएको थियो। 

किन चाहिन्छ सीटीभीएस तथा न्यूरो सर्जन?
कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जन भनेका मुटु, फोक्सो र रगतका नलीका बिरामीको उपचार गर्ने विशेषज्ञ चिकित्सक हुन्। यो विधाका विशेषज्ञ चिकित्सकले मुटुका भल्भको उपचारदेखि मुटुको धमनी बन्द भएर रक्तसञ्चार रोकिएको अवस्थामा कोरोनरी आर्टरी बाइपास सर्जरी गरेर नयाँ बाटो बनाइदिन्छन्। शरीरभरिका धमनी र रक्तनलीमा रक्तसञ्चार रोकियो वा धमनी फुट्यो भने शल्यक्रिया गरिदिन्छन्।

दुर्घटनामा परेर रक्तनली छिन्नभिन्न भएका वा  छातीमा गोली लागेर फोक्सो, मुटु वा धमनीमा चोट लागेका घाइतेको शल्यक्रिया गर्न सीटीभीएस सर्जन नभई हुँदैन। धमनी फुटेको वा थुनिएको अवस्थामा पनि नयाँ बाटो बनाएर रगतको प्रवाह पुनः शुरू गरिदिन्छन्। त्यसैगरी, फोक्सोभित्र रगत वा हावा जम्मा भएको अवस्थामा बिरामीलाई सास फेर्न सहज बनाइदिन्छन्।

null

डा. चापागाईं छातीमा गोली, छुरा वा गम्भीर चोट लागेका घाइते बचाउन सीटीभीएस सर्जन नै चाहिने बताउँछन्। यस्तो अवस्थामा मुटु वा धमनी केही मिनेटमै बन्द हुनसक्ने भएकाले तुरुन्त शल्यक्रिया गर्नुपर्छ। “यो घटना (सिभिलमा यस्ता सर्जन नभएको अवस्था)बाट पाठ सिकेर हरेक अस्पतालमा यस्ता विषयको विशेषज्ञ सर्जन राख्न सकियो भने भविष्यमा सहज हुन्छ,” उनी भन्छन्।

दुर्घटना तथा आन्दोलनका घाइतेको उपचारमा न्युरो सर्जनको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। किनकि, टाउकोमा चोट लागेका घाइतेको स्नायु प्रणालीमा क्षति पुग्नसक्छ। न्युरो सर्जन डा. अर्याल टाउकोमा गोली लागेपछि मस्तिष्कभित्र रगत थुप्रिन सक्ने वा मस्तिष्क सुन्निन सक्ने बताउँछन्।

घाइतेलाई अस्पताल पुर्‍याउन ढिलो भएमा पनि मस्तिष्कमा लगातार रगत थुप्रिँदै गएर स्नायु प्रणाली बन्द हुन थाल्छ। यस्तो अवस्थामा स्थायी पक्षघात वा तुरुन्त मृत्यु हुने जोखिम बढ्छ।

न्युरो सर्जनले मेरुदण्डमा गोली वा चोटपटक लागेमा पनि शल्यक्रिया गर्छन्, जसले घाइतेलाई पक्षघात हुनबाट बचाउँछ। तर देशमा अत्यन्तै कम विशेषज्ञ जनशक्ति हुँदा जटिल खालका घाइतेको समयमै उपचार हुन सकेको छैन।

जागिर छाड्दै पलायन
आन्दोलन तथा दुर्घटनाका घाइते भएको बेला मात्र होइन, अन्य सामान्य अवस्थामा पनि यस्ता विशेषज्ञ सर्जनको अभाव छ। ‘नेपाल स्वास्थ्य जनशक्ति प्रक्षेपण २०७९–८७’ ले पनि देशमा सर्जनको अभाव देखाएको छ। जनसंख्याको अनुपातमा मुटु शल्यचिकित्सक १०६ जना चाहिनेमा २४ जना मात्र छन्। प्लास्टिक सर्जन ६८ जना चाहिनेमा १९ जना मात्र छन्।

देशभर मुटु, फोक्सो र रक्तनली सर्जन ५० जना मात्र छन्। त्यस्तै, न्युरो सर्जन देशभर ११५ जना छन्। बिरामीको चाप र रोगभारको अनुपातमा चिकित्सकको यो संख्या निकै कम हो।

बिडम्बना के छ भने, देशमा भएका यति थोरै जनशक्तिले समेत आफ्नो सीप र क्षमताअनुसार काम पाइरहेका छैनन्। सोही कारण, गएको १० वर्षमा १२ जना सीटीभीएस सर्जन बिदेसिएका छन्। सरकारी सेवामै भएका धेरै सर्जन जागिर छाडेर पलायन भएको रिपोर्ट गत भदौमा उकालोमा प्रकाशित छ।

नेपाल प्रहरीका अनुसार, हरेक वर्ष सवारी दुर्घटनामा झन्डै २५ सयको मृत्यु हुन्छ। दुर्घटनामा विशेषगरी टाउको, मेरुदण्ड र रक्तनलीमा गम्भिर चोट लाग्छ। त्यस्तै, नेपालमा मुटु तथा रक्तनलीको रोग, श्वासप्रश्वास सम्बन्धी रोग, ट्युमर तथा क्यान्सर र फोक्सोको संक्रमणजस्ता रोग मुख्य छन्।

यस्ता रोगको उपचारका लागि सीटीभीएस तथा न्युरो सर्जन नभई हुँदैन। तर देशमा भएका सीमित जनशक्ति काठमाडौँजस्ता ठूला शहरका अस्पतालमा मात्रै उपलब्ध छन्। मुटु, फोक्सो, रक्तनलीका जटिल शल्यक्रिया हुने सरकारी अस्पताल गंगालाल र त्रिवि शिक्षण अस्पतालभित्रको मनमोहन सेन्टर मात्रै हुन्। त्यस्तै, त्रिवि शिक्षण, वीर र पाटन अस्पतालमा मात्रै न्युरो सर्जरी विभाग छ। सरकारले न्युरोसम्बन्धी छुट्टै अस्पताल बनाइसकेको छैन।

देशभरका मुटु, फोक्सो, रक्तनली तथा न्युरो सर्जरीका बिरामी यिनै अस्पतालमा थुप्रिन्छन्। यी अस्पतालमा आकस्मिकबाहेकका अन्य सर्जरी (इलेक्टिभ) गर्न एक सातादेखि दुई महिनासम्म कुर्नपर्छ।

मनमोहनमा मुटु, छाती र रक्तनलीसमेत गरेर जम्मा ११ जना र गंगालालमा १५ जना सर्जन छन्। वीरको न्युरो सर्जरी विभागमा न्युरो सर्जन सात र सीटीभीएस सर्जन तीनजना छन्। त्रिवि शिक्षण अस्पतालको न्युरो सर्जरी विभागमा पनि सातैजना सर्जन छन्। क्यान्सर उपचार गर्ने सरकारी अस्पतालमा नभई नहुने यस्ता सर्जन नै छैनन्।

गंगालाल, मनमोहन, त्रिवि शिक्षण, वीर र पाटनमा बिरामीको चाप धान्न अहिलेभन्दा कम्तीमा दुई गुणा बढी सर्जन चाहिन्छन्। तर सर्जन मात्र थपेर हुँदैन, पर्याप्त अपरेसन थिएटर पनि चाहिन्छ। न्युरो सर्जरीका लागि गंगालालमा तीन र मनमोहनमा दुई वटा मात्रै थिएटर छन्। वीरमा दुई र शिक्षण अस्पतालमा एउटा थिएटर छन्।

यो अवस्थामा देशमा भएका जनशक्ति बिदेसिनु राम्रो संकेत नभएको मनमोहन सेन्टरका सीटीभीएस सर्जन डा. रञ्जन सापकोटा बताउँछन्। यस्ता जनशक्ति कति उत्पादन गर्ने र उत्पादन भएकालाई कहाँ काम लगाउने भन्ने दीर्घकालीन योजना नभएकै कारण जनशक्ति अभाव भएको उनको भनाइ छ। “एकातिर अस्पतालमा सर्जन अभाव भएर बिरामी मरिरहेका छन्, अर्कातिर हामीले तयार गरेका अनुभवी जनशक्ति विदेशीले सस्तोमा उपयोग गरिरहेका छन्,” उनी भन्छन्।

यसरी देशमा विशेषज्ञ सर्जन अभाव हुनु कुनै एउटा घटना मात्रै नभएर वर्षौंदेखि राज्यको बेवास्ताले सिर्जित संकट हो। जबसम्म देशले आकस्मिक सेवामा विशेषज्ञ सर्जन सुनिश्चित गर्दैन, आन्दोलन वा दुर्घटनामा मर्नेको संख्या घट्दैन।