नवनियुक्त २ मन्त्रीले लिए शपथ, १० सदस्यीय बन्यो मन्त्रिपरिषद्

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

तस्वीर: नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– नवनियुक्त दुई मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले शपथ लिएका हुन्।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले गौतम र गुप्तालाई मन्त्री नियुक्त गरेका थिए। डा. गौतम स्वास्थ्य मन्त्रालयका पूर्वसचिव हुन् भने गुप्ता जेनजी आन्दोलनका अगुवा हुन्। यस नियुक्तिसँगै मन्त्रिपरिषद् सदस्यको संख्या १० पुगेको छ।

यद्यपि, मन्त्रीमा नियुक्तिका लागि सिफारिस भएका थप दुई जनाको शपथ भने रोकिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनारको शपथ स्थगित भएको हो। श्रेष्ठले अस्वीकार गरेको र सुनारको नाम विवादित बनेपछि अन्तिम समयमा उनीहरूको शपथग्रहण स्थगित गरिएको हो।

श्रेष्ठले शुरूमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका रूपमा सिफारिस गरिए पनि पछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बन्न प्रस्ताव गरिएकाले आफूले अस्वीकार गरेको बताएका छन्। सुनारविरुद्ध भने सर्वोच्च अदालतसहित सुर्खेत र काभ्रे जिल्ला अदालतमा विभिन्न अभियोगमा मुद्दा चलिरहेको भेटिएपछि उनको नाम हटाइएको थियो।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी र सुरक्षा निकायका प्रमुखहरूलगायतको उपस्थिति रहेको थियो।

भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ पछि भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश कार्कीले भदौ ३० गते तीन जना मन्त्री नियुक्त गरेकी थिइन्। उनले रामेश्वर खनाललाई अर्थ मन्त्रालय, ओमप्रकाश अर्याललाई गृह मन्त्रालय र कुलमान घिसिङलाई ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी थिइन्।

असोज ६ गते प्रधानमन्त्री कार्कीले थप चार जनालाई मन्त्री नियुक्त गरेकी थिइन्। उनले अनिलकुमार सिन्हालाई कानून, न्याय तथा संसदीय मामिला, महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि, मदनप्रसाद परियारलाई कृषि र जगदीश खरेललाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिएकी थिइन्।