नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो

आइतबार नेप्से परिसूचक ५.१९ अंकले बढेर २५०९.०४ बिन्दुमा कायम भएको छ।

काठमाडौँ– तिहारको बिदापछि खुलेको शेयर बजारमा सामान्य वृद्धि भएको छ। आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.१९ अंकले बढेर २५०९.०४ बिन्दुमा कायम भएको छ। नेप्से बढे पनि कारोबार रकममा भने गिरावट आएको छ।

यस दिन ३१३ कम्पनीका ५५ लाख ९६ हजार ७७ कित्ता सेयर २७ हजार ८९९ पटक कारोबार हुँदा कुल कारोबार रकम दुई अर्ब ६६ करोड १३ लाख दुई हजार २८४ रुपैयाँमा सीमित भएको नेप्सेले जनाएको छ। तिहारअघिको अन्तिम कारोबार दिन दुई अर्ब ७९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो।

यस दिन सेन्सेटिभ इन्डेक्स ०.६० अंकले घटेको छ। यस्तै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१५ अंकले घटेको छ भने फ्लोट इन्डेक्स भने स्थिर रह्यो।

आइतबार नेप्सेका १३ उपसमूहमध्ये ५ को परिसूचकमा वृद्धि भयो भने ८ उपसमूह घटेका छन्। यस दिन व्यापार उपसमूहको परिसूचक ३.०५ प्रतिशतले बढ्दै अग्रस्थानमा रह्यो। जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहका परिसूचकहरूमा पनि सामान्य वृद्धि देखियो।

यस दिन एसबिएल डिबेन्चर २०८९ को शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। सर्वाधिक गुमाउनेमा भने तारागाउँ रिजेन्सी होटल लिमिटेडको सेयर मूल्य ७.१६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ।