काभा कप: अफगानिस्तानसँग नेपाल पराजित

ढाकामा आइतबार भएको खेलमा अफगानिस्तानले नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

काठमाडौँ– बांग्लादेशमा जारी सेन्ट्रल एशिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित भएको छ।

ढाकामा आइतबार भएको खेलमा अफगानिस्तानले नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

पहिलो सेटमा अफगानिस्तानले नेपाललाई २५–१८ ले हरायो।

त्यसैगरी, नेपाल दोस्रो सेटमा २५–१७ र तेस्रो सेटमा २५–२१ ले पराजित भयो।

प्रतियोगितामा नेपालको यो चौथो खेल हो। चार खेलमध्ये नेपाल एक विजयी र तीनमा पराजय व्यहोरेको छ।

यसअघि नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै पहिलो जित निकालेको थियो।

त्यसअघिका खेलहरूमा नेपाल ताजिकिस्तान र बांग्लादेशसँग पराजित भएको थियो।