मिर्गौला तस्करीका ६ अभियुक्त पुर्पक्षका लागि कारागार चलान

संगठित रूपमा मानव बेचबिखन तथा ओसारपसार गरी भारत पुर्‍याएर अवैध रूपमा मिर्गौला झिक्ने कसुरमा संलग्न ६ जना अभियुक्तलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ।

काठमाडौँ– संगठित रूपमा मानव बेचबिखन तथा ओसारपसार गरी भारत पुर्‍याएर अवैध रूपमा मिर्गौला झिक्ने कसुरमा संलग्न ६ जना अभियुक्तलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ। अदालतले आइतबार प्रतिवादीहरूलाई थुनामा राख्न आदेश दिएको हो।

थुनामा पठाइएकाहरूमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ का ३८ वर्षीय श्यामकृष्ण भण्डारी, ईन्द्रावती गाउँपालिका–२ का २९ वर्षीय सुजन भारती (सुजन गिरी) र काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–१० का ३५ वर्षीय कुमार भन्ने राजकुमार परियार रहेका छन्।

त्यस्तै, नुवाकोटको बेलकोटगढी नगरपालिका–९ का २४ वर्षीय समिर नेपाली, वडा नं. ४ का ४७ वर्षीय राकेश नेपाली र रौतहटको चन्द्रपुर नगरपालिका–३ का ४३ वर्षीय राजु तामाङ (राजु घलान) रहेका छन्। उनीहरूलाई जगन्नाथदेवल कारागारमा पठाइएको मानव बेचबिखन अनुसन्धान ब्युरोका सूचना अधिकारी, प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए।

यो पनि– पहिले आफ्नो मिर्गौला बेचे, पछि आफू नै त्यो गिरोहमा जोडिए

प्रहरीका अनुसार जाहेरवाला (परिवर्तित नामहरू: २६, ४५४, ४५६, ४६२, ४६३, ४६६, ४८५) लगायतलाई उनीहरूले आकर्षक रोजगारीको प्रलोभन देखाएर नेपालबाट भारतका विभिन्न शहरमा पुऱ्याएका थिए। त्यहाँका विभिन्न क्लिनिकमा मेडिकल चेकजाँच गराएर अवैध रूपमा मानव अंग (मिर्गौला) झिकी नेपाल ल्याई छाडिदिएको भन्दै ब्युरोमा जाहेरी परेको थियो।

जाहेरी परेपछि ब्युरोले संगठित रूपमा मानव बेचबिखनको कसुरमा संलग्नहरूको खोजी थालेको थियो। उनीहरू क्रमशः साउन २१ गतेदेखि भदौ १५ गतेसम्म काठमाडौँका विभिन्न स्थान र सीमा नाकाबाट पक्राउ परेका थिए।

यो पनि – मानव अंग बेचबिखनको ‘र्‍याकेट’ चलाइरहेका भण्डारीः जसले १०० भन्दा धेरै व्यक्तिको मिर्गौला बेचे

पक्राउ परेका प्रतिवादीहरूलाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँको थुनामा राखिएकोमा भदौ २४ गतेको आन्दोलनको क्रममा उनीहरू हिरासत कक्षबाट भागेका थिए।

ब्युरोको टोलीले उनीहरूलाई पुनः खोजी गरी पक्राउ गरेपश्चात् ६ जना प्रतिवादीउपर नै अनुसन्धान सम्पन्न गरिएको थियो। मानव बेचबिखन तथा ओसारपसार र संगठित अपराध कसुरमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँमार्फत जिल्ला अदालतमा मुद्दा पेश भएको थियो। अदालतले पुर्पक्षका लागि उनीहरूलाई थुनामा राख्ने आदेश दिएसँगै यो मुद्दाको कानूनी प्रक्रिया अगाडि बढेको छ।