जेनेरिक नाममा औषधिः गुणस्तर चाहिँ कसले हेर्ने?

त्रिवि शिक्षण अस्पतालले जेनेरिक नाममै औषधि सिफारिस गर्न चिकित्सकहरूलाई निर्देशन दिएसँगै औषधिको गुणस्तरको प्रश्नसमेत पेचिलो बनेको छ।

काठमाडौँ– देशभरमै सम्भवतः सबैभन्दा धेरै बिरामीको चाप हुने महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले गत असोज २१ गते एउटा सूचना जारी गर्‍यो, जसमा अबदेखि बिरामीलाई औषधि सिफारिस गर्दा जेनेरिक नाममै गर्न चिकित्सकहरूलाई निर्देशन दिइएको थियो।

अस्पतालभित्रका बिरामीलाई औषधि सिफारिस गर्दा जेनेरिक नाम लेख्न र अक्षर पनि क्यापिटल लेटरमा लेख्न निर्देशन दिइएको सूचनामा उल्लेख छ, “अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक शिक्षकहरूलाई नेपाल सरकार र डीन कार्यालयबाट निर्देशित नियमअनुसार बिरामीलाई औषधी प्रेस्क्राइब जेनेरिक नाममा क्यापिटल लेटरमा गर्न जानकारी गराइन्छ।”

जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा २९, उपदफा १ ले चिकित्सक र स्वास्थ्यकर्मीले औषधि सिफारिस गर्दा जेनेरिक नाम लेख्नुपर्ने व्यवस्था गरेको छ। सँगै ऐनले जुनसुकै ब्राण्ड नामका औषधि विक्री गर्न पाइने व्यवस्था पनि गरेको छ। यहीकारण हुनसक्छ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो ५–६ वर्षयता पटक–पटक जेनेरिक नाम लेख्न आग्रह गरे पनि  कार्यान्वयन हुनसकेको छैन।

त्रिवि शिक्षण अस्पतालले जेनेरिक नाममा औषधि प्रेस्क्राइब गर्न सूचना जारी गरेपछि पनि मतभेद र विवाद भइरहेको छ। यसका पछाडि केही कारण छन्। नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीका अनुसार लामो समय अनुसन्धान गरेर उत्पादन गरिएका औषधिहरूमा गुणस्तरीय कच्चापदार्थ प्रयोग गरिएको हुन्छ। त्यस्ता औषधिको प्रभावकारितालाई ध्यान दिइने हुँदा मूल्य पनि स्वतः बढी हुने डा. तिवारी बताउँछन्।

“चिकित्सकले पनि औषधिको प्रभावकारितालाई हेरेर ब्रान्डेड औषधि सुझाउने हो। तर नेपालमा जेनेरिक औषधि उत्पादन नै नभएको अवस्थामा जेनेरिक औषधि प्रेस्क्राइब गर्न भनिएको छ,” उनले भने, “नेपालमै बनेका वा आयात गरिएका औषधि जेनेरिक नाममा आउनुपर्यो। सरकारले नै ल्याउने वा बनाउने गर्नुपर्यो। त्यो अवस्थामा मात्र जेनेरिक नाम लेख्दा प्रभावकारी हुन्छ।”

उनले नेपालमा जेनेरिक नामको औषधि पाउने ठेगान नहुने हुँदा प्रेस्क्राइब गर्नेले कुन सिफारिस गर्ने भनेर थाहै नहुने बताए।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा सुवास आचार्य भने जेनेरिक मलिक्युल नभई जेनेरिक नाममा औषधि प्रेस्क्राइब गर्न भनिएको बताउँछन्। “जेनेरिक प्रेस्क्रिप्सन र जेनेरिक मलिक्युल फरक कुरा हो। प्रेस्क्रिप्सनमा चिकित्सकले जुन नाम लेख्छन्, बिरामीले त्यही खोज्छन्। त्यो अस्पतालको फार्मेसीमा उपलब्ध नहुन सक्छ। त्यस्तोमा बाहिरको फार्मेसीमा किन्नुपर्ने हुन्छ,” उनले भने, “तर चिकित्सकले ब्राण्डको नभई जेनेरिक नाम लेख्यो भने अस्पतालभित्रकै फार्मेसीमा सरल र सुलभ मूल्यमा पाइने छ।”

औषधिको गुणस्तरका लागि मापदण्ड पूरा गरेको वा नगरेकोबारे अस्पतालको प्राविधिक र मूल्याङ्कन समितिले जाँच गरेर मात्र औषधि आयात हुनेगरेको प्राडा आचार्य बताउँछन्। “अस्पतालभित्र त यसको अनुगमन गर्न सकिन्छ। तर बिरामीले बाहिर गएर औषधि किनेमा गुणस्तर सुनिश्चित गर्न सकिँदैन,” उनले भने, “निजी फार्मेसीले जे पनि दिने हुँदा नियन्त्रण गर्न कठिन छ। कम्ती अस्पतालभित्र भए पनि यसको जिम्मेवारी लिन सकिन्छ।” 

आचार्यले चिकित्सकहरूमाथि निजी फार्मेसीबाट कमिसन लिने गरेको आरोप लाग्दै आएको उल्लेख गर्दै सबै चिकित्सकका हकमा भने त्यो लागू नहुने बताए। बिरामी तथा सेवाग्राहीको सहजता र सुरक्षा सुनिश्चित गर्न यो प्रक्रिया शुरु गरिएकाले अब सरकार र औषधि उत्पादकहरूले जेनेरिक मलिक्युल उत्पादनमा ध्यानु दिनुपर्ने उनको भनाइ छ। 

“फार्मेसीलाई यसका लागि निर्देशन दिइसकिएको छ,” उनले भने, “यससँग सम्बन्धित हाम्रा समितिहरूले पनि नियमित जाँच गर्छन्। हाम्रो लक्ष्य भनेको बिरामीले सुझाएकोे औषधि बाहिर गएर किन्नुपर्ने दुःख नपाउन् भन्ने हो।” 

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका क्लिनिकल फार्माकोलोजी विभागका उपप्राध्यापक डा. प्रविन प्रसाद अस्पतालले जेनेरिक औषधि प्रेस्क्राइब गर्न गरेको निर्णय राम्रो भए पनि त्यसको कार्यान्वयनमा चुनौती देख्छन्। बजारमा प्रतिस्पर्धा बढेपछि केही कम्पनीहरूले औषधिको गुणस्तरमा लापरबाही गर्न सक्ने भएकाले नियमनमा पनि कडाइ गर्नुपर्ने उनले बताए।

“जेनेरिक औषधिको गुणस्तर परीक्षण गर्न आवश्यक पूर्वाधार र प्रयोगशाला नहुँदा गुणस्तरबारे शंका उठ्ने र कमजोर वा नक्कली औषधि बजारमा पस्ने जोखिम रहन्छ,” उनले भने, “सम्बन्धित निकायहरूले नियमित रूपमा औषधिको गुणस्तर जाँच नगरेमा कम गुणस्तरका औषधिले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्छन्। यसमा ध्यान दिनुपर्छ।” 

डा. प्रसादका अनुसार विश्वभर प्रमुख तीन प्रकारका औषधि उपलब्ध हुन्छन्– ब्रान्डेड मेडिसिन, ब्रान्डेड जेनेरिक र जेनेरिक मेडिसिन। कुनै औषधि बजारमा आउनुअघि कम्पनीले १०–१२ वर्षसम्म अनुसन्धान र उत्पादनका चरण पार गरेका हुन्छन्। त्यो अवधिमा कम्पनीको एकाधिकार हुँदा उसले आफ्नै ब्रान्डमा बजारमा ल्याउने उनी बताउँछन्।

“पेटेन्ट राइट्स सकिएपछि अन्य कम्पनीले उत्पादन गर्न सक्छन् जुन ब्रान्डेड जेनेरिक हो। यसलाई अरु कम्पनीले विशेष नामबिना उत्पादन गर्न पाउँदा जेनेरिक मेडिसिन बन्छ,” डा. प्रसाद भन्छन्, “औषधि हेर्ने निकायले स्वीकृति दिएको जेनेरिक औषधि र ब्रान्डेड औषधि दुवैको असर उस्तै हुनुपर्छ। मात्रा, गुणस्तर, असर, सुरक्षा र प्रयोग गर्ने तरिका पनि मिल्नैपर्छ। तर मूल्य चाहिँ फरक पर्न सक्छ।” 

तर जेनेरिक नामको प्रेस्क्रिप्सनले बिरामीको आर्थिक बोझ कम गर्ने डा. प्रसाद बताउँछन्। अध्ययनले पनि जेनेरिक औषधि प्रायः ब्रान्डेडभन्दा ३०–८० प्रतिशत सस्तो पर्ने देखाएको उनले बताए।

“दुई फरक औषधि एउटै नाममा आउँदा बिरामी झुक्किने सम्भावना हुन्छ, जेनेरिक नाम लेख्दा समस्या हुँदैन र औषधि सजिलै उपलब्ध हुन्छ। यसले चिकित्सकलाई सुरक्षित प्रेस्क्राइब गर्न पनि सहज हुन्छ,” उनले भने, “यसका लागि औषधि परीक्षण प्रयोगशालालाई सुदृढ बनाउने, नियमित गुणस्तर प्रतिवेदन सार्वजनिक गर्ने र जेनेरिक औषधिको उपलब्धता पनि सहज बनाउन ध्यान दिनुपर्छ।”