चक्रवात ‘मोन्था’: भारतका तटीय क्षेत्रमा ‘रेड अलर्ट’, हजारौँ बासिन्दा सुरक्षित स्थानमा सारिए

भारतको पूर्वी तटतर्फ बढिरहेको शक्तिशाली चक्रवात ‘मोन्था’को सम्भावित प्रभावलाई मध्यनजर गर्दै विद्यालयहरू बन्द गरिएका छन् भने तटीय क्षेत्रका हजारौँ बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।

भारतको पूर्वी तटतर्फ बढिरहेको शक्तिशाली चक्रवात ‘मोन्था’को सम्भावित प्रभावलाई मध्यनजर गर्दै विद्यालयहरू बन्द गरिएका छन् भने तटीय क्षेत्रका हजारौँ बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।

बंगालको खाडीमा विकसित यो चक्रवात अहिले ‘शक्तिशाली चक्रवाती आँधी’मा परिणत भएको छ। भारतीय मौसम विभाग (आईएमडी)ले दक्षिणी आन्ध्र प्रदेशको बन्दरगाह शहर काकीनाडानजिकै मंगलबार राति यो अवतरण हुने अनुमान गरेको छ। हाल यो आँधी आन्ध्र प्रदेशको मचिलीपट्टनमबाट करिब १६० किलोमिटर दक्षिणपूर्वमा घुमिरहेको छ।

मौसमविद्हरूका अनुसार, चक्रवातको तीव्रता अझ बढ्दै जाने र यसले ९० देखि ११० किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावा ल्याउने सम्भावना छ। आन्ध्र प्रदेशका १९ जिल्लामा अत्यधिक वर्षाको चेतावनी दिँदै ‘रेड अलर्ट’ जारी गरिएको छ भने छिमेकी तमिलनाडु, तेलंगाना, केरला र कर्नाटकमा पनि मध्यम वा भारी वर्षाको सम्भावना छ।

राज्य विपद् व्यवस्थापन प्राधिकरणका अनुसार, तटीय क्षेत्रका करिब ३८ हजार मानिसलाई सुरक्षित राहत शिविर‍मा सारिएको छ। आन्ध्र प्रदेश सरकारले करिब ४० लाख मानिस जोखिम क्षेत्रमा रहेको र चक्रवातबाट प्रत्यक्ष रूपमा प्रभावित हुने अनुमान गरेको छ। राज्य सञ्चारमन्त्री नारा लोकेशका अनुसार, एक हजार ९०६ राहत शिविर र ३६४ विद्यालय आश्रयका रूपमा तयारी गरिएको छ भने एक हजार २३८ कमजोर गाउँमा निकासी अभियान जारी छ।

अधिकारीहरूले बुधबारसम्म विद्यालय र कलेज बन्द गर्न आदेश दिएका छन्। माछा मार्नेहरूलाई समुद्रमा नजान चेतावनी दिइएको छ भने मंगलबार रेल र उडान सेवामा पनि आंशिक अवरोध भएको छ। छिमेकी उडिसा राज्यमा पनि प्राधिकरणले करिब ३२ हजार मानिसलाई जोखिम क्षेत्रबाट सुरक्षित शिविरमा सार्न शुरू गरेको बताइएको छ।

भारतको पूर्वी तट क्षेत्र चक्रवातप्रति संवेदनशील मानिन्छ। सन् २०२३ मा भारतले हालसालैको इतिहासकै सबैभन्दा विनाशकारी चक्रवातको सामना गरेको थियो, जसमा ५२३ जनाको ज्यान गएको र करिब दुई अर्ब ५० करोड अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरिएको थियो।

यसैबीच, जलवायु विज्ञहरूका अनुसार, दक्षिण एशियामा यस्ता गम्भीर आँधीबेहरीहरू पछिल्ला वर्षहरूमा बढी तीव्र र अनियमित हुँदै गइरहेका छन्। तापक्रम वृद्धि र हरितगृह ग्यासले उत्पन्न गरेको ग्लोबल वार्मिङले यस्ता चक्रवातलाई अझ चरम बनाइरहेको वैज्ञानिकहरूले बताएका छन्।