६२ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकममा पनि वृद्धि

मंगलबार नेप्से परिसूचक ६२.२९ अंक अर्थात् २.४८ प्रतिशतले बढेर २५७१.३४ को विन्दुमा पुगेको छ।

काठमाडौँ– साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजारमा उच्च अंकको वृद्धि देखिएको छ। मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६२.२९ अंक अर्थात् २.४८ प्रतिशतले बढेको हो। यो वृद्धिसँगै नेप्से परिसूचक २५७१.३४ विन्दुमा पुगेको छ।

यस दिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ। मंगलबार कुल ३१४ कम्पनीका ९२ लाख ४३ हजार कित्ता शेयर ४७ हजार ९४ पटक खरिदबिक्री हुँदा चार अर्ब ५७ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। यसअघि आइतबार कुल दुई अर्ब ६६ करोड १३ लाख बराबरको ५५ लाख ९६ हजार ७७ कित्ता शेयर किनबेच भएको थियो।

यस दिन सेन्सेटिभ इन्डेक्स ११.९७, फ्लोट इन्डेक्स ४.८६ र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.३४ अंकले वृद्धि भएको छ। नेप्सेका १३ उपसमूहमध्ये १२ वटाको वृद्धि हुँदा एउटाको उपसूचक घटेको छ। सर्वाधिक विकास बैंक उपसमूहको उपसूचक ४.४७ प्रतिशतले बढेको छ।

त्यसैगरी, वित्त, जलविद्युत्, लगानी र जीवन बीमा उपसमूहको उपसूचक ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। त्यस्तै, होटल तथा पर्यटन, लघुवित्त र निर्जीवन बीमा समूहको उपसूचक भने साढे २ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। बैंकिङ र अन्य समूहको उपसूचक १.९० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। उत्पादन तथा प्रशोधन ०.३७ र म्युचुअल फन्ड ०४६ प्रतिशतले बढ्दा व्यापार उपसमूहको उपसूचक भने ०.७६ प्रतिशतले घटेको छ।

मंगलबार न्यादी हाइड्रो पवार, बुटवल पावर कम्पनी र एक्सेल डेभलप्मेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। हिमालयन पावर पार्टनरको शेयर मूल्य भने सबैभन्दा धेरै ६.३६ प्रतिशतले घटेको छ।

कारोबार रकम र शेयर संख्याका आधारमा सबैभन्दा धेरै हिमालयन पावर पार्टनरको २४ करोड ९४ लाख ६० हजार रुपैयाँ कारोबारको चार लाख ८५ हजार १०९ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।