दल दर्ता गर्ने तयारीमा कुलमान

ओली नेतृत्वको तत्कालीन सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेसँगै कुलमान राजनीतिमा छिर्न सक्रिय थिए। देश दौडाहा मात्र नगरी उनी नेपाली बाक्लै रहेका खाडीसहितका देश पनि पुगेका थिए।

काठमाडौँ– पार्टी दर्ताको अन्तिम चरणमा पुगेसँगै कुलमान घिसिङ सरकारबाट बाहिरिने सम्भावना बढेको छ।

महत्त्वपूर्ण मानिने तीन मन्त्रालय (भौतिक पूर्वाधार, ऊर्जा तथा सिँचाइ र शहरी विकास मन्त्रालय)को जिम्मा पाएका घिसिङ हप्ता–दश दिनमै पार्टी दर्ता प्रक्रिया शुरू गर्ने तयारीमा छन्।

घिसिङले चाहिँ पार्टी गठनबारे छलफलकै चरणमा रहेको बताएका छन्। “दर्तै गर्ने चरणमा पुगेको त छैन, छलफल भइरहेको छ,” शनिबार उकालोसँग उनले भने। पार्टीको दस्ताबेज लेखनमा उनलाई सघाइरहेका एक जनाका अनुसारचाहिँ सबै काम अन्तिम चरणमा छ। कुलमानको रोजेको ‘उज्यालो नेपाल’ अरूले नै दर्ता गरिदिएका कारण त्यही नाम प्राप्त गर्ने प्रयासका साथै अर्को नाम फाइनल गर्ने काम भइरहेको छ। 

केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले चैत ११ गते विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेसँगै घिसिङ राजनीतिमा छिर्ने मन बनाएर सक्रिय थिए। देश दौडाहा गरी नेपालीहरू बाक्लै रहेका खाडी देशहरू तथा अमेरिका र युरोप भ्रमण गरिसकेका थिए।

२०८४ सालको चुनावमा प्रतिस्पर्धा गर्ने गरी तयारीमा जुटेका उनले आफ्नै नेतृत्वमा पार्टी गठन गर्ने वा कुनै पार्टीमा प्रवेश गर्ने भन्नेचाहिँ निधो गरिसकेका थिएनन्। भदौ २३ र २४ गतेको आन्दोलनले उथलपुथल गराइदिएपछि उनी पार्टी गठन गर्ने टुंगोमा पुगेका हुन्। भदौ २४ गते उनी सडकमै उत्रिएका थिए।

“पार्टी दर्ता गरेपछि उहाँले के गर्ने भन्नेबारे छलफल भएको छैन,” प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल भन्छन्। 

उज्यालो नेपाल अभियानको नाममा सक्रिय रहेका घिसिङको उज्यालो नेपाल नामकै पार्टी गठन गर्ने योजना थियो। तर ज्ञानेन्द्रकुमार तामाङले आफ्नै अध्यक्षतामा उज्यालो नेपाल पार्टी दर्ता गरी कुलमानलाई पार्टीमा आउन प्रस्ताव गरेका थिए। उज्यालो नेपाल कुलमानकै पार्टी भएको हल्ला भएपछि उनले हालै त्यसमा आफ्नो संलग्नता नरहेको भनी खण्डन गरेका थिए।    

“समाचारमा उल्लेख गरिएजस्तो उज्यालो नेपाल पार्टीमा मेरो आबद्धता छैन, कुनै छलफल पनि भएको छैन, प्रचार गरिएजस्तो केही होइन,” उनले लेखेका छन्, “मसँग कुनै छलफल र सल्लाह नै नगरी दूषित मनसायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु। सबैलाई त्यस्ता भ्रममा नपर्न पनि अनुरोध गर्दछु।”

कुलमानसँग भेट भए पनि पार्टीमा ल्याउने प्रस्ताव नगरेको तामाङले जिकिर गरे। “उहाँ मन्त्री बनेपछि भेटेर बधाई दिनुबाहेक खासै कुरा भएन,” तामाङले उकालोसँग भने, “आफ्नै हिसाबले जान खोजिरहनुभएको छ, त्यो अब उहाँकै कुरा भयो।” 

दीपक बोहराको निधन भई खाली भएको रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने (फागुन २१ गते आमचुनाव घोषणा भएपछि रद्द भएको) भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले टिकट अफर गर्दा कुलमानले अस्वीकार गरेका थिए। 

अन्तरिम सरकार गठनका बेला नै कुलमानको नाम ‘डिस्कर्ड’मा भएको छलफलमा जेनजीको प्रधानमन्त्री सूचीमा थियो। छलफलमा बहुमत सहभागीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको समर्थन गरेका थिए। मन्त्रिपरिषद्कै एक जना सदस्यका अनुसार मन्त्री अफर गर्दा कुलमानले शुरूमा उपप्रधानमन्त्री पाउनुपर्ने शर्त राखेका थिए।

उपप्रधानमन्त्री कसैलाई पनि नदिइने भनेपछि आफू चुनाव लडेर प्रधानमन्त्री बन्ने लक्ष्य रहेको भन्दै मन्त्री बन्न इच्छुक कुलमान चुनावको एक महिनाअघि मन्त्रिपरिषद् छाड्ने सहमतिमा शपथग्रहण गर्न तयार भएका थिए। “पार्टी गठन गरे पनि अहिलेलाई सदस्य मात्र रहेर पदमा निरन्तर रहँदा समस्या नहोला,” ती मन्त्रीले भने, “अध्यक्ष नै बन्ने हो भने त गैरदलीय सरकारउपर प्रश्न उठ्छ नै।”