जमिन भास्सिन थालेपछि सयौँले छोडे मन्दिरको शहर जोशीमठ

सरकारले जोशीमठमा घरबारविहीन भएका व्यक्तिलाई छ महिनाका लागि प्रतिमहिना ४ हजार भारुका दरले राहत दिने घोषणा गरेको छ।

तस्वीर : एपी

भारतको एक हिमाली शहरमा जमिन भास्सिएर मन्दिर भत्किएपछि र घरहरूका भित्ता चर्किन थालेपछि निर्माण गतिविधि रोकिएको छ भने ६०० सयभन्दा बढीलाई अस्थायी आश्रय स्थलमा लगिएको छ।

उत्तराखण्ड राज्यको जोशीमठ शहरबासीहरूले घरका भित्ता चर्किन थालेको बताएका छन्। उनीहरूका अनुसार सन् २०२१ मा आएको भीषण बाढीपछि जमिन भास्सिन र घरका भित्ता चर्किन थालेका हुन्।

शुक्रबार मध्यराततिर यहाँको एउटा मन्दिर भत्किएको थियो। एक दिन पहिला नै उक्त क्षेत्रका बासिन्दालाई अन्यत्र सारिएकाले मानवीय क्षति हुन नपाएको स्थानीय अधिकारीहरूले बताएका छन्।

जिल्ला प्रशासक हिमांशु खुरानाले ६० भन्दा बढी परिवारलाई सरकारी राहत शिविरमा लगिएको बताए। तर, स्थानीय सञ्चारमाध्यमले ६०० परिवारलाई स्थानान्तरण गरिरहेको उल्लेख गरेको एपी न्यूजले जनाएको छ।

टेलिभिजनमा प्रसारित तस्वीरहरूमा सडकमा धाँजा फाटेको देखिएको छ, जसका कारण यातायात अवरुद्ध भएको छ।

राज्यका प्रकोप व्यवस्थापनका एक शीर्ष अधिकारी रञ्जित सिन्हाले दरारको कारण जल निकास प्रणालीमा भएको अवरोध ठान्छन्। "यसको कारण निकास प्रणालीजस्तो देखिन्छ, जसले गर्दा घरहरूमुनि पानी जम्मा भएको छ, त्यसले गर्दा जमिन भासिँदै छ", उनी भन्छन्।

खुरानका अनुसार सरकारले जोशीमठमा घरबारविहीन भएका व्यक्तिलाई छ महिनाका लागि प्रतिमहिना ४ हजार भारुका दरले राहत दिने घोषणा गरेको छ। उक्त शहरमा २५ हजार बासिन्दा रहेको बताइएको छ। ६ हजार २०० फिट उचाइमा रहेको यो शहर तीर्थयात्री र ट्रेकिङमा निर्भर छ।

हिन्दू र सिख धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल बद्रीनाथ र हिम कुण्ड साहिब जान हजारौँ तीर्थयात्री जोशीमठ हुँदै यात्रा गर्छन्, जुन नयाँ दिल्लीबाट ४९० किलोमिटर उत्तर-पूर्वमा पर्छ। तीर्थयात्री र पर्यटकको आगमन तीव्र बनेपछि यहाँ भवन तथा सडक निर्माणले तीव्रता पाएको थियो। जसका कारण यहाँ जमिनको कमी भएको कतिपयको भनाइ छ।

यसअघि अस्थायी रूपमा निर्माण गतिविधिमा रोक लगाइएको थियो, जसमा चारधाम अल-वेदर रोड पनि पर्छ। विभिन्न हिन्दु तीर्थस्थल जोड्ने गरी यो सडकको निर्माण थालिएको थियो।

यो क्षेत्रमा आरीघोप्टे वर्षाका कारण सन् २०१३ मा सयौँ मानिसको मृत्यु भएको थियो। त्यस्तै, सन् २०२१ मा भीषण बाढी आएको थियो। विज्ञहरूले जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने क्रम वृद्धि हुँदा पटक पटक यो क्षेत्र विपद्को चपेटामा पर्ने गरेको बताउँछन्।

"सन् २०१३ र मध्य २०२१ मा उत्तराखण्डमा कम्तिमा पनि ७ हजार ७५० भन्दा धेरै भीषण वर्षा लगायतका घटना भएका छन्। यस्ता घटना जोशीमठका लागि हानिकारक छन्, किनकि निर्माण गरिएका भवनका क्षति पुग्न सक्छ। जसका कारण स्थानीयमाथि खतरा बढ्न जान्छ", जल-नीति विज्ञ कविता उपाध्यायले भनिन्।

उपाध्याय जो उत्तराखण्डकी स्थानीय हुन्, उनले ठूलो संख्यामा भौतिक संरचना निर्माण र पर्यटकको आगमनमा बढोत्तरी यो क्षेत्र डुबानमा पर्नुको कारण ठान्छिन्।