पौने दुईसय वर्षअघि सरकारकै जोडबलमा नेपाल आएका मारवाडी समुदायप्रति सामाजिक सञ्जालमा फैलाइएका अफवाह र उनीहरूका व्यवसायबारे गरिएका नकारात्मक व्याख्या–प्रचारको दुष्परिणाम देखिन थालेको छ।
काठमाडौँ– घटना-१
मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले देशको पुँजी जति मारवाडीहरूले कब्जा गरेको र युवाहरू विदेश पलायन हुनपरेको चर्चा बारम्बार गर्छन्। करिब दुई वर्षअघि बैंक तथा वित्तीय संस्थाहरूविरुद्ध शुरू गरेको अभियानका क्रममा उनले हिटलरले यहुदीविरुद्ध छेडेको अभियान सम्झाउनेगरी मारवाडी समुदायविरुद्ध ‘विषवमन’ गरिरहे। “इन्डियाबाट आएका मारवाडीहरू बारेमा इन्डियामै एउटा भनाइ छ,” उनी एउटा भिडियो सामग्रीमा भन्छन्, “मारवाडीका कोई देश नही होता है।”
घटना-२
उकालोले विस्तृत रिपोर्टमार्फत उजार गरेको बाल संगठनको जग्गाबारे कयौँले सामग्री बनाए। त्यसैमध्येको प्राइम टेलिभिजनले बनाएको भिडियो सामग्रीको शीर्षक, ‘मारवाडीको कब्जामा बाल संगठनको जग्गा’ थियो।
त्यस्तै, अमेरिकावासी युट्युबर टंक दाहालले उकालोकै सामग्री उपयोग गर्दै बनाएको भिडियोमा बाल संगठनको जग्गामा बिल्डिङ बनाई स्कुल सञ्चालन गरिरहेको वृहस्पति स्कुलमा ‘मारवाडी व्यापारिक घराना’को शेयर धेरै रहेको जिकिर गर्दै, समुदायविरुद्ध घृणा फैलाउन योगदान गरे। जबकि, स्कुलमा शेयर रहेका अरू समुदायका साथै बाल संगठनको जग्गा भाडामा दिन सम्झौता गर्ने समुदायको नाम उनी लिँदैनन्। त्यस्तै, जग्गा भाडामा लिने अर्का व्यक्तिको समुदायबारे पनि उनी मौन छन्।
घटना-३
राणा प्रधानमन्त्री जुद्धशमशेरबाट १९९७ सालमा जग्गा प्राप्त गरेपछि मारवाडी समुदायले सञ्चालन गरिरहेको छ गौशाला, यही गौशालाकै कारण ठाउँकै नाम रहनपुग्यो गौशाला। यो समुदायले पछि त्यहीँ धर्मशाला पनि बनायो।
पशुपति क्षेत्र विकास कोषको जग्गामा मोही रहेको गौशालाका सञ्चालक मारवाडी सेवा समिति हो। समिति र कोषबीच २०६० जेठ १२ मा भएको एउटा पूरक प्रकृतिको सम्झौतालाई कोषको तर्फबाट खारेज गरेको भन्दै २०८१ असोजमा गौशाला/धर्मशाला काठमाडौँ महानगरलाई दिन खोजिएको थियो। महानगरले गौशाला/धर्मशाला नियन्त्रणमा लिन खोजेपछि मारवाडी समुदायले सुरक्षा निकायका साथै न्यायालय गुहारेको थियो।
यो विवादले सामाजिक सञ्जालमा महानगरका मेयर बालेन्द्र शाह समर्थकहरूको रिस मारवाडी समुदायविरुद्ध पोखियो। सामाजिक सञ्जालदेखि गौशालासम्मै समुदायविरुद्ध ‘हेट स्पिच’को बाढी आयो। पछिल्लो समय जारी मारवाडीविरुद्धको अभियान भदौ २४ को जेन–जी आन्दोलनमा भौतिक आक्रमण र लुटपाट तथा आगजनीमै प्रकट भयो।
यो पनि: ८ दशक पुरानो गौशाला धर्मशालाबारे २ दशकदेखि जारी विवादको चुरो
मुलुकी अपराध संहिता, २०६४ को दफा ६५ मा भनिएको छ, “कुनै किसिमबाट धर्म, वर्ण, जात, जाति, सम्प्रदाय वा भाषाको आधारमा नेपालका विभिन्न वर्ग, क्षेत्र वा समुदायका व्यक्तिहरूका बीचको सुसम्बन्धमा खलल पार्ने काम गर्न हुँदैन।” यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना हुने कानूनी व्यवस्था छ।
यसै संहिताको दफा ३०६ मा ‘बेइज्जती गर्न नहुने’ व्यवस्था छ। यस दफाले अरूको इज्जतमा धक्का पुर्याउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानीजानी वा विश्वास गर्ने मनासिब कारण भई लेखेर, आचरण वा आकार वा चिह्न वा प्रचार प्रसारद्वारा चरित्र हत्या गरेमा वा त्यस्तो दोष लगाएर प्रचार वा प्रकाशन गरेमा कसुर मानेको छ।
यस्तो कसुरमा दुई वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ। विद्युतीय वा आमसञ्चारका माध्यमले यस्तो कुसुर गरेमा थप एक वर्ष कैद र १० हजारसम्म जरिबाना तोकिएको छ।
समाज सेवामा सक्रिय संस्थामाथि आक्रमण
नकारात्मक भाष्यका आधारमा जेन–जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते परोपकारी संस्थाहरूमाथि नै आक्रमण भएको मारवाडी समुदायका अगुवाहरू बताउँछन्। त्यो दिन मारवाडी समुदायको नाम जोडिएका व्यापारिक प्रतिष्ठानका साथै समाज सेवामा सक्रिय संस्थामाथि पनि आक्रमण भयो।
नेपाल राष्ट्रिय मारवाडी परिषद्को बत्तीसपुतलीस्थित निर्माण सम्पन्न भइनसकेको भवनमा तोडफोड र आगजनी हुँदा पहिलो तल्लामा रहेको हिमालयन बैंकका साथै भुईंतल्लामा रहेको हिमालयन जाभा र स्वस्तिक स्विट्स ध्वस्त भए। तेस्रो तल्लास्थित परिषद्को कार्यालय तोडफोड गरी लुटपाट भयो। त्यस्तै, गौशालास्थित धर्मशालामा रहेका पसलहरूमा तोडफोड, लुटपाट र आगजनी गरिएको थियो।
पाँच दशकभन्दा लामो व्यवसायिक जीवनमा बिताएका ७६ वर्षीय चतुर्भुज सरिया अग्रवाल मारवाडी समुदायप्रति नकारात्मक दृष्टिकोणको सिर्र्जना रातारात नबनेको बताउँछन्। बरु, लामो समयदेखि यो समुदायविरुद्ध निर्माण गरिएको भाष्यले अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ छ।
अग्रवाल त्रिचन्द्र कलेज पढ्न २०२४ सालमा झापाबाट पहिलोचोटि काठमाडौँ आएका थिए। उनले झापाको गल्ला किरानाको व्यापार छोडेर २०४७ सालमा काठमाडौँमै व्यवसाय थाले। उनी अहिले पेट्रोल पम्प सञ्चालन गर्छन्।
देशभरिका मारवाडी संघ–संस्थाहरूको छाता संगठन नेपाल राष्ट्रिय मारवाडी परिषद्का महासचिवसमेत रहेका उनै अग्रवाल अहिले आफ्नो समुदायप्रति असहिष्णु भावना बढेको बताउँछन्। “कमाएको पैसा सामाजिक काममा खर्च गर्ने कुरामा पनि मारवाडी समुदाय अग्रपंक्तिमै हुनेगर्छ। तर पनि किन हो, हामीविरुद्ध जनमत भड्काउने काम भइरहेको छ,” उनी भन्छन्।

सामाजिक कार्यमा पनि संलग्न छन्। गौशाला/धर्मशाला सञ्चालन गर्ने मारवाडी सेवा समितले चलाइरहेको डाइलाइसिस सेवाबाट दैनिक ८० देखि ९० जनासम्मले निःशुल्क सेवा लिने गर्छन्। २०५५ सालदेखि कृत्रिम खुट्टा तयार गरी खुट्टा गुमाएकाहरूलाई संस्थाले निःशुल्क वितरण पनि गरिरहेको छ।
मारवाडी सेवा समिति अध्यक्ष प्रमोद चौधरीका अनुसार ४० देखि ५० हजार रूपैयाँ लागत पर्ने कृत्रिम खुट्टा अहिलेसम्म ६ हजारभन्दा बढी वितरण गरिसकिएको छ। वितरण गरिएको खुट्टाको मर्मत पनि निःशुल्क हुन्छ। गौशालामा हरेक शनिबार ५०० देखि ६०० जनालाई निःशुल्क भोजन खुवाउँछ। धर्मशालामा १०० देखि २०० रूपैयाँ तिरेर बास बस्न पाइन्छ। यहाँ करिब २५० वटा गाई पालन गरिएको छ, जसमध्ये दुध नदिने अवस्था भइसकेका २०० भन्दा बढीलाई सेवा भावले राखिएको उनी बताउँछन्।
अध्यक्ष चौधरीका अनुसार यसपटक भएको आन्दोलनमा मात्र उद्यमी व्यवसायीप्रति आक्रमण भएको होइन। सरकारमा बसेका मान्छेको धारणा नै व्यापारी समुदायप्रति सकारात्मक नभएको उनी बताउँछन्।
“पुँजीलाई चलायमान बनाउने नै व्यवसायीले हो। जति चलायमान भयो, त्यति रेभिन्यु जेनरेट हुन्छ, त्यति रोजगारी हुन्छ। जहाँसम्म मारवाडी समुदायप्रतिको दुर्भावना छ, यो कुनै न कुनै रूपमा व्यक्त गरिएको थियो, निशाना बनाइएकै थियो,” चौधरी भन्छन्, “केही समययता दुर्गा प्रसाईंले मारवाडी समुदायप्रति सार्वजनिक रूपमै नकारात्मक अभिव्यक्ति पटकपटक दिनुभएको छ, पछि उहाँले गल्ती सच्याउँदै सबैलाई भनेको होइन भन्नुभयो।”
नेपाल सरकारले नै ल्याएको थियो मारवाडीलाई
काठमाडौँमा पहिला भित्रिएको भनेर चिनिने मारवाडी परिवारको सातौँ पुस्ता हुन् नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तल। उनका अनुसार, नेपालमा मारवाडी समुदायको आगमनको इतिहास जंगबहादुर कुँवर (पछि राणा) को बेतिया यात्रासँग जोडिन्छ।
सन् १७६५ देखि बेलायती शासनको अधीन स्विकारेका र मुगल शासकबाट ‘राजा’ उपाधि पाएका ‘रियासतदार’ (जमिन्दार) हरूको बसोबास बेतियामा थियो। (२) उत्तर भारतको ठूलो र प्रभावशाली रियासतको रूपमा रहेको बेतियाका राजेन्द्रकिशोर सिंहको पालामा काठमाडौँमा राणा शासनको उदय भएको थियो।
जंगबहादुर प्रधानमन्त्री नहुँदै बहिनीलाई भेट्न गएका बेला बेतियाका राजाले राजस्थानी मारवाडीहरूले त्यहाँ व्यापार व्यवसाय सम्हालेको उनलाई सुनाएका थिए। बेतियाका तिनै राजासँग जंगबहादुरले केही मारवाडी व्यापारी नेपाल पठाउन आग्रह गरी ल्याएको मित्तलले अग्रज पुस्ताहरूबाट सुनेका थिए।
उति बेला काठमाडौँलाई नै नेपाल भनिन्थ्यो। चलिरहेको व्यवसाय छोडेर आउन कोही पनि तयार नभएपछि बेतियाका राजाको आदेशमा बाध्य भएर केही मारवाडी काठमाडौँ आए। “एक त, त्यहाँबाट हिँडेर आउनुपर्ने, अर्को मारवाडीहरू आफ्नो भान्छामा पाकेको मात्र खान्थे,” मित्तल भन्छन्, “राजाकै आदेश भएपछि तीन परिवार नेपाल आउन तयार भए।”
रामरतन दासजीको परिवार पहिला नै वीरगन्ज आएर बसेको थियो। त्यस बेला काठमाडौँ आउन राहदानी चाहिन्थ्यो। वीरगन्जका तत्कालीन बडाहाकिमले बेतियाबाट वीरगन्ज आएका तीन परिवार र वीरगन्ज बसिरहेका रामरतन गरी चार मारवाडीलाई राहदानी दिएको मित्तल बताउँछन्।
सुरजमल तुल्स्यान (सुरज आर्केड), निरन्जन टिवडेवाला, हजारीमल घिराइया र पवन मित्तलका पूर्वज पहिलो पटक काठमाडौँ प्रवेश गर्ने मारवाडी हुन्। उनीहरू वीरगन्जबाट पाँच दिन पैदल हिँडेर काठमाडौँ आई इन्द्रचोकमा डेरामा बसे। त्यहीँ कपडाको व्यापार शुरू गरे।
ग्राहक रिझाउने कौशलका कारण कपडा व्यापारमा मारवाडी व्यवसायीहरूले सफलता हासिल गरेपछि राणा शासकको कान भर्न शुरू भयो। त्यस बेला कतिपयले देश निकाला गर्नुपर्छ भनेर लबिइङ शुरू गरेको टिवडेवाला बताउँछन्। १९९० माघ २ गतेको भूकम्पमा पीडितहरूको सहयोग र राहतमा मारवाडी समुदाय अघि सरेपछि चाहिँ शासक र स्थानीय दुवैमा सकारात्मक छाप पर्यो।
मारवाडी समुदायले पीडितहरूका लागि टुँडिखेलमा निःशुल्क भोजनको व्यवस्था गरेको थियो। टुँडिखेल रानीपोखरीदेखि त्रिपुरेश्वरसम्मै फैलिएको थियो। मारवाडी सेवा समितिले स्थापनाको ७० वर्षको अवसरमा निकालेको स्मारिकामा छापिएको तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामनामा पनि १९९० सालको भूकम्पमा राहत तथा पुनस्र्थापनाका लागि मारवाडी समुदायले गरेको योगदान औँल्याइएको छ।
त्यस बेलासम्म मारवाडीहरूले खाद्यान्न, गल्ला (किराना) र अरू वस्तुहरूको कारोबार पनि थालिसकेका थिए। उद्योगपति विनोद चौधरीले आफ्नो आत्मकथामा १९९० सालको भूकम्पअघि नै ‘रैथाने’ र ‘बाहिरिया’ व्यापारीको कित्ताकाट शुरू भएको उल्लेख गरेका छन्। भूकम्पपछि टँुडिखेलमा शिविर खडा गरी उद्धार र राहतको कामबाट जुद्धशमशेर प्रभावित भई तारिफ गर्नुका साथै, मारवाडी विरोधीहरूसँग रिसाएको चर्चा उनले गरेका छन्।
शिवरात्रीमा तीर्थालुलाई पानी र खाना वितरण जस्ता परोपकारी कार्य पनि यो समुदायले गरिरहेको थियो। यसै सिलसिलामा १९९७ सालदेखि पशुपतिनाथको त्रिशूल गुठीअन्तर्गतको गौशाला सञ्चालन गर्ने जिम्मेवारी पाएको आमालकोट कचहरीको प्रमाण पनि भेटिन्छ। गौशालाको संस्थापक अध्यक्ष रामकुमार केडिया थिए।
राजनीतिक ओतको खोजी
द्वन्द्वकालमा मारवाडी समुदायलाई माओवादीको नाममा दुःख दिने सिलसिला शुरू भयो। “पैसा कमाएकै कारण कतिपयमा इर्स्या पैदा हुँदोरहेछ,” परिषद् अध्यक्ष मित्तल भन्छन्, “भारतसँगको असन्तोष वा कुण्ठा पनि हामीलाई गाली गरेर निकाल्ने प्रवृत्ति देखियो।”
पछिल्लो समय व्यापारीहरू राजनीतिक शक्तिकेन्द्रसँग नजिकिने र विभिन्न प्रकरणमा जोडिने सिलसिलामा मारवाडीहरूको नाम पनि आउने गरेको छ। लेखक तथा उद्यमी गणेश लाठ यसलाई बाध्यता र महत्त्वकांक्षा दुवैसित जोडेर हेर्छन्। “थप शक्ति आर्जन गर्न समानुपातिकमा सांसद बन्ने, अझ चुनावै लड्न हौसिने गरेको देखियो,” लाठ भन्छन्, “वडा कार्यालयमा सिफारिसका लागि समेत पहुँच चाहिने भएको अवस्थामा कोही कतै गएर टाँसिए वा आफै हैसियत बनाउनतिर लागे।”
उद्योग व्यापारमा हुँदै गर्दा राजनीतिमा लाग्नुमा स्वार्थको द्वन्द्व देखिने लाठ बताउँछन्। यस कारणले मात्र मारवाडीप्रति नकारात्मक दृष्टिकोण नबनेको, बरु ‘गोर्खाली नेपाली’ भन्ने मान्यता प्रमुख रहेको उनको ठम्याइ छ। “हामीलाई आज पनि घुसपैठिया नै मानिन्छ,” उनी भन्छन्, “पहाडियाहरूले आफूलाई मात्रै २४ क्यारेट शुद्ध नेपाली ठान्छन्।”
लाठका अनुसार, पृथ्वीनारायण शाहको उपदेशमै रैथाने र बाहिरियाको लागि फरक नीति देखिन्छ। त्यही भावना कुनै न कुनै स्वरूपमा उजागर हुँदै आएको उनी बताउँछन्।
पृथ्वीनारायणले आफ्नो दिव्य उपदेशमा ‘आफ्ना देश’ वा ‘आफ्ना मुलुक’ भनेर स्वदेशको अर्थमा लेखेका छन् भने, विदेश अर्थ दिने शब्दको ठाउँमा देश उल्लेख गरेका छन्। जसमा उनले ‘देशका महाजन’लाई आउन नदिन भनेका छन्। उनले विदेशी कपडा लगाउन पनि रोकेको देखिन्छ।
त्यस्तै, सिल्भाँ लेभीको पुस्तकमा पनि पृथ्वीनारायण शाहको पालामा रैथाने र बाहिरयाको भेद उल्लेख छ। फ्रान्सेली भाषाका लेखक लेभी सन् १८९८ मा (करिब १२७ वर्षअघि) नेपाल आएका थिए। उनले यहाँ बसेर गरेको अध्ययनका आधारमा लेखिएको पुस्तक ‘नेपालः हिन्दू अधिराज्यको इतिहास’ दुई भागमा प्रकाशित छन्।
त्यसको पहिलो भागको पृष्ठ ११० मा व्यपारीसँग अधिक कर असुलेको, सानो निहुँमा जरीबाना तिराएको र बाहिरका व्यापारीलाई निषेध गरिएको अवस्थालाई प्रत्यक्षदर्शीको रूपमा वर्णन गरेका छन्। पाटनका धर्मात्मा राजा सिद्धिनरसिंह मल्लको पालादेखि व्यापार फस्टाउँदै गएर नेपाल तिब्बतका लागि पैसा छापिदिने राज्य भएको र राजा महेन्द्र मल्लले दिल्लीका मुगलहरूबाट (सन् १५५०–१५६०) चाँदीको पैसा नेपालमा छाप्ने अनुमति लिएको उल्लेख छ।
“...चलिरहेको सजिलो व्यापार नेपालमाथि गोरखाद्वारा भएको विजय (सन् १७६५–१७६८) ले रोकिदियो। नयाँ मालिक आफ्ना प्रजालगायत विदेशीहरूसँग पनि सतर्क थिए। ...पृथ्वीनारायणले व्यापारमा धेरै कर वृद्धि गरे। उनले व्यापारीहरूलाई सानो निहुँ पायो कि धेरै जरीबाना तिराउँथे,” लेभीले लेखेका छन्, “हिन्दूस्तान र तिब्बतबीच माल यताउति गर्ने घुमन्ते व्यापारीहरू नेपालबाट धपाइए। ठूला व्यापारीहरू पनि व्यापार गर्ने अर्को राम्रो स्थान वा देश खोज्न लागे। सन् १७७४ मा नेपालमा तिब्बतसँग कारोबार गर्ने दुईवटा कश्मीरी पसल मात्र बाँकी थिए।”
१०५ वर्षअघिको अमेरिकी ‘डाइरेक्टरी’
अमेरिकाको सिकागोबाट प्रकाशित सन् १९२० को एउटा डाइरेक्टरीमा काठमाडौँमा व्यापार गर्नेहरूको विवरण छ। काठमाडौँका जम्मा नौ जना व्यापारीको नाम त्यस डाइरेक्टरीमा भेटिन्छ। त्यसमा ढुण्डीराज राजभण्डारी, जोगवीर सिंह, धर्मवीर सिंह, लालबहादुर रतनलाल, मन्नालाल अग्रवाल, मायाराम भोलाराम, रामजस जवाहरमल मारवाडी, रमकरनदास देदारनाथ र रामराय महावीर छन्।
१०५ वर्षअगाडिको त्यो डाइरेक्टरीको नेपाल खण्डमा काठमाडौँको जनसंख्या ४५ हजार उल्लेख छ। जंगबहादुरको पालामा काठमाडौँ बोलाइएका परिवारमध्येका एक निरन्जन टिवडेवाला त्यस बेला जर्मनी र जापानबाट सामान आयात हुने बताउँछन्। उनी भन्छन्, “मारवाडीहरू प्रतिस्पर्धामा दुई किसिमले अगाडि थिए, एक– देशबाहिर उनीहरूको व्यापारिक नेटवर्क बलियो थियो, दोस्र्रो– उनीहरूले कम नाफा कमाएर पनि आफ्नो सामान बेच्थे।”
नेपालमा मालवस्तु पुर्याउन केही विदेशी कम्पनी सक्रिय थिए। त्यसमध्ये जर्मनीको ‘ओस्टासाइन सर्भिसेज जीएमबीएच’ थियो। त्यस्तै, बेलायतको ‘किमर सन एन्ड कम्पनी लिमिटेड’ र ‘क्लेनियल मर्चेन्ट एन्ड सिपिङ लाइन’ पनि थिए। ती कम्पनीबाट आफ्नो पूर्वजलगायत मारवाडीहरूले सेवा लिएको कागजात टिबडेवालले देखाए।
पाका मारवाडीहरूका अनुसार, एक समय इन्द्रचोकका ९० प्रतिशत पसल मारवाडीका थिए। इन्द्रचोकका ती पसलमा जागिर गरेकाहरू आफै पनि व्यवसायीको रूपमा स्थापित भए। त्यहाँका कतिपय मारवाडीले भने फरक वा नयाँ व्यवसाय थाले। कसैले व्यापारलाई बढाएर इन्द्रचोकबाट अन्यत्र सरे। अहिले त्यहाँ थोरै मात्र पसल मारवाडीका छन्।
टिवडेवालाका अनुसार, पछि मारवाडीमै एउटा यस्तो वर्ग पनि आयो जो नेता र सरकारी संयन्त्रलाई मिलाएर काम गर्ने राणनीतिमा लाग्यो। उनीहरूले करको दर आफू अनुकूल घटबढ गर्ने, नीतिगत निर्णयहरू गराउने र खास व्यपारमा एकछत्र वर्चश्व स्थापित गरिहाल्ने काम गरे। दुई दशकयता यस्तो प्रवृति बढेको र व्यावसायिक क्षेत्रमा आन्तरिक उथलपुथलहरू पनि देखा परेको टिवडेवालाको भनाइ छ।
कतिपय बहुराष्ट्रिय कम्पनीहरूको नेपालका लागि अधिकृत बिक्रेताहरू नयाँ आए। कतिपय व्यपारीले मार्केटिङ र सेल्समा राम्रो नतिजा दिन नसकेर उनीहरूको हातबाट कारोबार खोसियो। “यस सबका बीच वातावरण नकारात्मक भयो, सोसल मिडियाको जमाना आएपछि नकारात्मक टिप्पणीहरू त्यसमार्फत उजागर हुन थाल्यो,” उनी भन्छन्।
‘सेटिङ’मा अभ्यस्त मारवाडीहरूको बोलवाला २०४६ सालको परिवर्तनपछि देखिन थालको पुराना मारवाडी बताउँछन्। “विसंं २०२० को दशकमा बर्माबाट मारवाडी र नेपाली भाषीहरू पलायन भएर नेपाल आए। उनीहरूको दुनियाँभरमा राम्रो पुहँच थियो। त्यसमध्ये धेरैजना आयात निर्यातको काममा लागे,” नेपालको पुरानो व्यपारिक घारानाका एक मारवाडी भन्छन्, “तेस्रो मुलुकबाट आयात हुने केही बस्तुमा नेपालमा भन्सार शुल्क कम र भारतमा बढी भएकोमा उनीमध्ये कतिपयले अवसर देखे। नेपालमा आयात गरेर त्यसयता बस्तुहरू भारततिर चोरी निकासी गर्ने धन्दा पनि शुरू भयो।”
२०४६ सालको आन्दोलनको बेला भारतले नेपालमा आपूर्ति अवरुद्ध गर्दा गृह पञ्चायतका अधिकारीहरूले नै व्यापारीलाई बोलाएर आपूर्ति व्यवस्था कायम राख्न तस्करी गराएको प्रसंग पनि उनी स्मरण गर्छन्। “यस्तो बाटोबाट कमाएकाहरूले पैसा चाहिँ यहीँ नै लगानी गरेको अर्थमा अर्थतन्त्रलाई केही फाइदा पनि भएको छ,” उनले भने, “तर राजनीतिक पहुँचको बलमा करको दरमा खेल्नेहरू, भन्सार महसुलमा टेकेर तस्करी गर्नेहरू नै पछि सेटिङको खेलाडी भएर निस्किए। त्यसैले भन्छु, व्यक्ति सुधारभन्दा बढी प्रणालीमा सुधारका लागि राज्यले ध्यान दिनु पर्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

यो लेख पनि एक तर्फी भयो । हावा नचली पात हल्लिंदैन । नेपालको कानुनले घुस लिनु र दिनु दुवैलाई अपराध मान्छ । आफ्नो अनुकुल काम गराउन सबै राजनैतिक कर्मी र कर्मचारी, अदालतलाई किन्नु पनि सरासर अपराध हो । हामी सडकमा गएर होइन टेबलबाटै काम बनाउँछौं भन्नुको अर्थ केहो? गौशाला धर्मशालाले पशुपति विकास कोषलाई कति भाडा तिर्छ? के काठमाडौं नगरपालिकाले गौशाला चलाउन नहुने हो? अदालत ले फैसला भित्र भित्रै के के भएको थियो कि भन्ने पनि खोज्नुस् न । के आजीवन एकै पक्षले भोगचलन गर्नु पाउनु पर्छ भनेर लाल मोहर लागेको थियो? राजसंस्थाको उछित्तो पनि गर्ने र उनीहरुले गरेको निर्णय पनि सही नै थियो भन्ने ? उकालोले पनि ड्याम्मै चन्दा पायो कि कसो?
Sushan Acharya
1 week, 3 days ago
काठमांडू अlयेका प्रथम मारवाड़ी हरु मध्य हरिनारायण मारवाड़ी (जाजोदिया) र माथी उल्लेखित चार मारवाड़ी सहित जम्मा पांच मारवाड़ी हरु अयेको मा राणासाही का वक्त त्रिभुवन राजपथ पनी न बनेको बेला मा मंत्री र राजा हरु को लागी बोके र ल्याये का गाड़ी हरु मा हरिनारायण जाजोदिया ले नै हितौदा बात रोपेवा बाट गैलन मा पेट्रोल ल्यायी सप्लाई गरनू हंटयो वहां को नाम ओझल मा पारना खोजिये को छ l कृपा सच्यै दीनू होला l
एकता जाजोदिया बुधिया
2 weeks, 5 days ago
काठमांडू अlयेका प्रथम मारवाड़ी हरु मध्य हरिनारायण मारवाड़ी (जाजोदिया) र माथी उल्लेखित चार मारवाड़ी सहित जम्मा पांच मारवाड़ी हरु अयेको मा राणासाही का वक्त त्रिभुवन राजपथ पनी न बनेको बेला मा मंत्री र राजा हरु को लागी बोके र ल्याये का गाड़ी हरु मा हरिनारायण जाजोदिया ले नै हितौदा बात रोपेवा बाट गैलन मा पेट्रोल ल्यायी सप्लाई गरनू हंटयो वहां को नाम ओझल मा पारना खोजिये को छ l कृपा सच्यै दीनू होला l
एकता जाजोदिया बुधिया
2 weeks, 5 days ago
अत्यंत सुंदर र आँखा खोल्ने अनुसंधानात्मक आलेख।
P. K. Methi
2 weeks, 6 days ago