चक्रवात ‘मोन्था’ : ५ प्रदेशमा हल्कादेखि भारी वर्षा र हिमपातको सम्भावना, अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको मौसम प्रभावित हुने भएपछि, प्राधिकरणले तीन दिन उच्च सतर्कता अपनाउन र आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ।
काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ले नेपालका पाँच वटा प्रदेशको मौसम प्रभावित हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले चक्रवात मोन्थाका कारण कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम प्रभावित हुने जनाएको हो। प्रभावित अवधि बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म रहनेछ।
विभागका अनुसार, मधेश र कोशी प्रदेशमा भारी वर्षा, बागमतीमा मध्यम वर्षा र गण्डकी तथा लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा हल्का वर्षा हुने सम्भावना छ। विभागको सूचनापछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिनसम्म सतर्कता अपनाउन र आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ।
प्राधिकरणका प्रवक्ता/उपसचिव शान्ति महतका अनुसार, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्ला प्रभावित हुनेछन्। त्यस्तै, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरी जिल्लामा पनि यसको प्रभाव देखिनेछ। बागमती प्रदेशका काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली जिल्लामा पनि मोन्थाका कारण मौसममा प्रभाव पर्ने प्राधिकरणले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम हिमपात र एक-दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ। उक्त अवधिमा बागमती, कमला, कोशी र कन्काई नदी तथा तिनका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ। साथै, कोशी, बागमती र मधेश प्रदेशका महाभारत तथा चुरे भई बहने स-साना नदीनालाहरूमा समेत आकस्मिक बहाव आउन सक्ने भन्दै प्राधिकरणले सचेत रहन भनेको छ। सम्भावित वर्षा र हिमपातले आकस्मिक बहाव, पहिरो लगायतका जोखिमका साथै सडक, हवाई यातायात, कृषि र पर्यटन क्षेत्रमा समेत प्रभाव पार्न सक्ने प्राधिकरणले चेतावनी दिएको छ।
जोखिमबाट बच्न प्राधिकरणले अत्यन्त जरुरी नभई सकेसम्म यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। डुबान हुनसक्ने बस्तीका बासिन्दालाई अग्लो र सुरक्षित स्थानबारे जानकारी लिन र जोखिम देखिए तत्काल सुरक्षित स्थानमा सर्न भनिएको छ।
साथै, धान तथा अन्य बाली नकाट्न र काटेको भए तत्काल भित्र्याउन पनि प्राधिकरणले अनुरोध गरेको छ। प्रभावित हुनसक्ने नदी किनाराका बासिन्दालाई सतर्क भइरहन आग्रह गरिएको छ।
प्राधिकरणले तीनवटै सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवक लगायत सरोकारवाला निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ। प्रभावित हुनसक्ने जिल्लाका विपद् व्यवस्थापन समिति एवं सुरक्षा समितिले आवश्यकताअनुसार सवारी आवागमनबारे निर्णय गर्न र त्यसको पालना गर्न/गराउन पनि जोड दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
